चितवनमा भैरहेको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहँदा अध्यक्षका दावेदार भीम रावलले प्रचार सुरु गरेका छन् । वर्तमान अध्यक्ष केपी ओली आइतबार पनि सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग छलफलमा व्यस्त छन् । तर, यसैबेला वर्तमान उपाध्यक्ष रावलले अध्यक्ष पदका लागि मत माग्न थालेका छन् ।आइतबार भीम रावलले आफ्नो प्रचारमा पर्चा वितरण सुरु गरेका हुन् ।
ओलीले नेतृत्व चयनका लागि प्रयास जारी राखेकै बेला केही प्रतिनिधिले भीम रावलको पर्चा वितरण थालेका हुन् ।सहमति खोज्दै ओलीले केही नेताहरुसँग छलफलमा व्यस्त हुँदा १० बजे सुरु बस्ने भनिएको बन्दसत्र समेत सुरु भएको छैन । यसैबेला भीम रावलको पक्षधर प्रतिनिधिहरुले पर्चा वितरण गरेका हुन् ।
कोमल वलीलगायतका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गर्दै मूल गेटसम्मै पुगेपछि स्वयंसेवकहरुले उनीहरुलाई ‘पर्चा बाँड्न पाइँदैन’ भन्दै बाहिर पठाइदिएका छन् ।बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई उनीहरुले पर्चा वितरण गरेका थिए ।
पार्टीका उपाध्यक्ष डा भीम रावलले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवादको सिद्धान्तको पालना गर्दै आफू अध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् । एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सबै पदमा सहमतिका लागि विभिन्न रुपमा कोसिस भइरहेको जानकारी दिए । शनिबार बन्दसत्र सुरु नहुँदै प्रतिनिधि र कार्यकर्ताले सो स्थलमा सहमतिमा नेतृत्व चयन हुनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए ।
केन्द्रीय कमिटी सदस्यका लागि निर्वाचन नभएमा पनि खुला र समावेशी क्षेत्रबाट प्रतिनिधित्व गराइने भएको छ । यसरी क्षेत्र निर्धारण गर्दा संवैधानिक र पार्टी विधानको व्यवस्थाबमोजिम ३३ प्रतिशत महिला र अन्य क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ । सहमति वा निर्वाचन जे भए पनि बन्दसत्र आज सकाउने तयारी छ ।
पारित विधानअनुसार १९ पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने छन् । पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने छन् । पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोे गठन गर्ने छ । विधानमा पोलिटब्यूरोको काम, कर्तव्य र अधिकार पनि तोकिएको छ ।
केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिवसहित २५ सदस्यीय हुने छन् । निर्वाचन आयोगमा अध्यक्ष डा विजय सुब्बासहित १० सदस्य गत विधान महाधिवेशनले चयन गरिसकेको छ भने बाँकी सदस्य यो महाधिवेशनले छान्नेछ ।
एमालेका सचिव योगेश भट्टराईका अनुसार स्थायी कमिटीले आफ्नो कमिटीको कूल सदस्य सङ्ख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद् गठन गर्न सक्ने छ । प्रदेश र जिल्ला कमिटीमा पनि सोहीअनुरुप हुनेछन् । प्रदेश कमिटी र जिल्ला कमिटीको आधार सङ्ख्या ७५ सदस्यीय हुनेछ ।
बन्दसत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी विभाजन गरेको सङ्ख्यामा प्रत्येक प्रदेशबाट छ खुला तीन महिला गरी नौ जनासहित सात प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने तय गरिएको छ । उपत्यका विशेष समन्वयबाट एक खुला, एक महिला गरी दुई सदस्य, सम्पर्क समन्वयबाट एक खुला, एक महिला गरी दुई सदस्य, आदिवासी जनजातिबाट १७ खुला र आठ महिला गरी २५ सदस्य, तराई मधेशबाट १३ खुला र छ महिलासहित १९ सदस्य, दलित समुदायबाट आठ खुला, चार महिलासहित १२ सदस्य, थारू समुदायबाट पाँच खुला, दुई महिलासहित सात सदस्य, मुस्लिम समुदायबाट चार खुला, एक महिलासहित पाँच सदस्य, श्रमिक क्षेत्रबाट चार खुला, दुई महिलासहित छ सदस्य, पिछडिएको क्षेत्रबाट तीन खुला, एक महिलासहित चार सदस्य, खुला क्षेत्रबाट ८४ खुला ५३ महिलासहित १३७ सदस्य, केन्द्रीय आयोगहरूमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १३ खुला र नौ महिलासहित २५ सदस्य निर्वाचित हुनेछन् ।