शुक्रबार २२ साउन २०७८

मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बाँस्तोलको गत पुस ५ गते भएको मृत्यु प्रकरणमा मृत्यु वा हत्याको कारण र संलग्न व्यक्तिसम्म प्रहरी नपुग्दै सामसुम हुनै लागेको थियो ।

तर जब मृतककी बहिनी दूर्गा बाँस्तोला ‘सदीक्षा’ले जनस्तरबाटै घटनाको छानबिन थालिन्, शंकास्पदहरू न्यायको कठघरासम्म पुगेका छन् ।

राज्यबाट अख्तियारप्राप्त प्रहरीले गर्न नसकेको काम पीडित परिवारकी एक युवतीले गर्न कसरी सम्भव भयो ? शंकास्पद आरोपीसम्म पुग्न सदीक्षाले प्रहरीलाई कसरी बाध्य पारिन् ? यसका पछाडि सदीक्षाले धेरै संघर्ष गर्नुपरेको छ ।

मृतककी बहिनी सदीक्षाले दाजुको न्यायका लागि ईलाका प्रहरी कार्यालयमा गरेको संर्घष र देखाएको साहस पछिल्लो समयमा उदाहरणीय बनेको छ ।

२ वर्षदेखि अमेरिकाको टेक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’मा पाइलट पढ्दै गरेकी सदीक्षाले दाजुको मृत्यु भएको खबर परिवारबाट पाइन् ।

दाजुको मृत्युको खबरले निःशब्द बनेकी सदीक्षाले घरमा भनिन् – मैले नआउँदासम्म दाजुको अन्तिम दाहसंकार नगर्नू ।

‘२ वर्षदेखि मेरो दाजुलाई प्रत्यक्ष देखेकी थिइनँ, मलाई अन्तिमपटक दाजुको अनुहार हेर्नु थियो, त्यसैले म नआउञ्जेल दाहसंस्कार गर्न पाइँदैन भनेकी थिएँ,’ सदीक्षाले लोकान्तरसँग भनिन्, ‘घटनाको दिन (पुस ५ गते) थाहा पाएँ तर टिकट भनेको समयमा नपाएकाले ८ गते राति साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा ल्याण्ड भएकी थिएँ ।’

रातिको समयमा आन्तरिक उडान नभएका कारणले उनी गाडी रिजर्भ गरेर पुस ९ गते बिहान ११ बजे उर्लाबारी घरमा पुगिन् । उनले दाजु प्रविणको अनुहार हेरेपछि दाहसंस्कार गरियो । १३ दिनको काजक्रिया भयो । यतिबेलासम्म उनलाई लागेको थियो, प्रहरीले घटनाको अनुसन्धान गरिरहेको होला ।

‘परिवारले जाहेरी नदिए पनि प्रहरी प्रशासनले आफ्नो दायित्व पूरा गरिरहेको छ जस्तो लागेको थियो । यसैमा १ महिना बित्न लागे पनि घटनाको वास्तविकताबारे केही अत्तोपत्तो नभएपछि उनी प्रहरीमा बुझ्न गइन् ।

प्रहरीले त्यतिबेलासम्म घरधनी, प्रविणका साथीभाइलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरेर ६ दिनमा छाडिसकेको थियो । मृत्यु/हत्या घटनाको अनुसन्धानमा कानूनी रूपमा कोही पनि प्रहरी हिरासतमा थिएन । प्रहरीले घटनालाई सामसुम पारिसकेको थियो ।

प्रहरीको लापरवाही र निष्क्रियता देखेर उनले संघर्ष गर्ने निधो गरिन् । प्रहरी अनुसन्धान र गतिविधिमाथि प्रश्न उठाउँदै जनस्तरबाट छानबिन गर्न थालिन् । दाजुले न्याय पाउनुपर्ने र प्रहरी गल्ती गरेको भन्दै सामाजिक सञ्जाल ‘फेसबूक लाइभ’मार्फत उनले आवाज उठाइन् । लाइभ भिडियो देखेका स्थानीयले अनुसन्धान गर्न प्रहरीमाथि दबाब पर्ने गरी आन्दोलन गरेर सहयोग गरे ।

प्रहरी फेरि अनुसन्धान गर्न राजी भएपछि सदीक्षाले शंकास्पद व्यक्तिका नाममा किटानी जाहेरी दिइन् । पोस्टमार्टम रिपोर्टमा उल्लेख भएको कुरा र प्रहरीले भनेको कुरामा शंका लागेपछि उनले सम्बन्धित डाक्टरलाई रिपोर्ट देखाइन् । त्यसबाट सदीक्षाले नयाँ तथ्य थाहा पाइन्, जुन प्रहरीले लुकाइरहेको थियो । प्रहरीले मदिरा सेवनका कारण मृत्यु भएको बताइरहेको थियो ।

डाक्टरका अनुसार मेडिकल रिपोर्टमा ‘भाइलेन्ट एक्सप्रेसिया’ देखाएको र घाँटीमा २० सेन्टिमिटरको निलडाम भएको उल्लेख छ । रिपोर्टमा मृतकको छातीमा लामो थिचाइले गर्दा मृत्यु भएको भन्ने पनि लेखिएको पाएपछि सदीक्षाले त्यो कुरालाई फेसबूकमार्फत् नै बाहिर ल्याइन् । यसपछि प्रहरी नै शंकाको घेरामा पर्‍यो ।

मृतककी बहिनी सदीक्षाको निरन्तरको खबरदारीपछि प्रहरीले प्रविणको हत्यामा संलग्न भएको आरोपमा मेघर दर्जी, कुमार राई, रमेश गिरी र सुदीप परियारलाई पक्राउ गर्‍यो ।

पक्राउ परेका मेघर दर्जीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ भने उनका साथी कुमार राईलाई ३ लाख र घरधनी समेत रहेका रमेश गिरीलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको छ । सदीक्षाले बल्ल राहतको श्वास फेरेकी छन् ।

‘अनुसन्धानमा कमजोरी गर्ने इन्सपेक्टर कारवाहीको सिफारिसको लागि जिल्लामा तानिएका छन् । अन्यलाई पनि अदालतमा उभ्याइएको छ,’ सदीक्षाले लोकान्तरसँग भनिन्, ‘अब अदालतले न्याय दिलाउला ।’

परिवारमा बुवाआमा, २ दिदी, सदीक्षा र प्रविण थिए । दुवै दिदीको बिहे भइसकेको उनले बताइन् । अहिले बुवाआमाको हेरचाह सदीक्षाले नै गर्छिन् । ‘मेरो दाजु स्वर्गे भएपछि मैले नै बुवाआमाको हेरचाह गर्छु,’ सदीक्षाले लोकान्तरसँग भनिन् ।

अमेरिका जानुअघि उनले काठमाडौंमा एयर होस्टेजको काम गर्थिन् । पहिला सौर्य एयरलाइन्समा काम गरिन्, त्यसपछि श्री एयरलाइन्समा प्रमुख एयर होस्टेजको रूपमा काम गरेकी थिइन् ।

उनले पाइटलको लाइसेन्स पाउनको लागि अमेरिकामा ४–५ महिना पढ्न बाँकी छ, त्यो पूरा गर्न जाँदैछिन् उनी । त्यसपछि नेपालमै फर्केर काम गर्ने उनको योजना छ ।

प्रहरीको गल्ती औल्याउने सदीक्षाको त्यो कडी

सदीक्षाले शुरूदेखि नै दाजुको मृत्यु नभएर योजनाबद्ध रूपमा मारिएको हुनसक्ने भनेर प्रहरीलाई घच्घच्याइरहिन् । उनले उर्लाबारी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) उद्धव पोखरेललाई मृत्यु नभएर हत्या जस्तो भएकाले राम्ररी अनुसन्धान गरिदिन आग्रह गरिरहिन् ।

दाजुको अवस्था कस्तो थियो ? कहाँ मृत फेला परेको थियो ? क–कसको घरमा गएको थियो ? के कारणले मृत्यु भएको थियो ? यी प्रश्नको जवाफ प्रहरीले मृतक परिवारलाई दिएको थिएन । सदीक्षाले यी प्रश्नको जवाफ खोज्ने प्रयास गरिरहिन् ।

‘घटना भएपछि अनुसन्धान गर्दा घटनासँग जोडिएका मानिसहरूलाई शंकाको घेरामा राखेर अनुसन्धान गर्नुपर्थ्यो, त्यो देखिएन,’ सदीक्षाले लोकान्तरसँग भनिन्, ‘त्यसैले मैले प्रहरीलाई राम्रोसँग घच्घच्याउन थालें ।’

अनुसन्धानका लागि घच्घच्याइरहँदा इन्स्पेक्टर उद्वव पोखरेलले सदीक्षालाई सरकारी वकिलको कार्यालयबाट प्रतिवेदन फिर्ता आयो भन्दै आलटाल गर्दै आएका थिए । उनले इन्सपेक्टर पोखरेललाई प्रश्न गरिन्, ‘किन २/२ पटक फाइल फिर्ता आयो ? के अनुसन्धान पुगेन ? कहाँनेर कमजोरी भयो ? मृत्यु हुँदा कस्तो फोटो खिच्नुभएको थियो ? देखाउनुस् ।’

यसपछि बल्ल प्रहरीले मृत फेला पर्दाको फोटो देखायो तर त्यो फोटो गलत रहेछ । ‘प्रहरीले एउटा फोटो देखाएको थियो, त्यो फोटो गलत भएपछि मैले यसमा केही गडबड छ जस्तो लागेर आन्दोलनमा आउनुपर्‍यो,‘ सदीक्षाले भनिन्, ‘बाहिर चाहिँ ३–४ वटा फोटोमध्ये एउटा फोटो फरक परेको भनिएको थियो तर हामीलाई देखाउने बेलामा एउटा मात्र फोटो थियो ।’

… त्यसपछि इन्सपेक्टरको कठालो समाइन् 

प्रहरी इन्सपेक्टर उद्वव पोखरेललाई दाजुको हत्याबारे सोध्न सदीक्षा प्रहरी कार्यालय गइरहिन् तर सदीक्षालाई इन्सपेक्टर पोखरेलले अनुसन्धान भइरहेको, सरकारी वकिललको कार्यालयबाट फाइल फिर्ता आएको लगायत बहाना सुनाउँदै फर्काइन्थ्यो ।

‘उहाँ व्यवहार यतिसम्म थियो कि एक्लै वा २/४ जना गएको खण्डमा त वास्ता पनि गर्नुहुन्नथ्यो,’ सदीक्षाले लोकान्तरसँग भनिन् ।

प्रहरीले उनलाई अनुसन्धान सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा बुझ्न पठाउँथ्यो । सरकारी वकिललको कार्यालयमा जाँदा प्रहरीसँग बुझ्न भनेर फर्काइन्थ्यो ।

प्रहरी र वकिल कार्यालयको चक्कर लगाउँदा–लगाउँदै हैरान भएपछि सत्यतथ्य बुझ्न पाउनुपर्छ भन्दै उनको पक्षमा स्थानीयले आन्दोलन गरे, त्यही क्रममा उनले इन्सपेक्टर पोखरेलको कठालो समातिन् । त्यसपछि झन् आन्दोलन चर्किएर हत्या आरोपी समाउनका लागि दबाब पुगेको सदीक्षा बताउँछिन् ।

प्रहरी प्रतिवेदनप्रति आपत्ति

हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले जिल्ला प्रहरी कार्यालयलाई आइतवार बुझाएको प्रतिवेदनमा सदीक्षाले आपत्ति जनाएकी छन् । ‘मानवीय त्रुटिका कारण भुलवश गलत फोटो राखिएको भनिएको छ । त्यो कुरा चाहिँ चित्त नबुझेको हो । कर्तव्य ज्यान मुद्दा १ जना जवानको जिम्मा दिइएको थियो । त्यो कुरा मलाई जायज लागेन । किनकि प्रहरी निरीक्षकले फाइलमा भएका कुरालाई जाँच गर्नुपर्थ्यो तर प्रतिवेदनमा सामान्य रूपमा मानवीय त्रुटी भएको हो  भनेर पन्छिन खोजिएको छ,’ सदीक्षाले लोकान्तरसँग भनिन् ।

सदीक्षाका अनुसार फाइलमा अर्कैको फोटो राखेको भेटेपछि मोरङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई भेटेर कुरा राख्दा यदि गल्ती भएको भए कारवाही हुन्छ आश्वासन दिइएको थियो तर अहिले सामान्य मानवीय त्रुटि भनिएको छ ।

‘इन्सपेक्टरलाई छानबिनको लागि जिल्ला तानियो भन्दा चाहिँ केही खुशी लागेको छ । इन्सपेक्टरको गल्ती देखिएको खण्डमा तानेर मात्रै न छाडियोस्, त्यसलाई कारवाहीको दायरा पनि ल्याइयोस् भन्ने मेरो चाहना हो,’ उनले भनिन् ।

के भएको थियो घटनाको दिन ?

प्रहरीका अनुसार प्रविण गत पुस ४ गते साँझ घर नजिकैको मरिमराउमा पुगेका थिए, त्यहाँबाट १ किलोमिटर पूर्वको सौरभी होटलमा सञ्चालक कुमार राईसँग बसेर रक्सी पिएको खुलेको छ ।

जिउ थाम्न नसक्ने गरी रक्सी पिएको व्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रविण बदाम जुस लिन स्कुटर चढेर केही परसम्म पुगेको प्रहरीले बताएको छ ।

‘त्यसपछि भोलिपल्ट जिस्क्याउनका लागि भन्दै राति १२ बजे प्रविण घुरेको भिडियो खिचेको समेत पाइएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘त्यति मात्र होइन, १ बजेर १० मिनेट जाँदा उनको मोबाइलबाट अज्ञात नम्बरमा २० रुपैयाँ ट्रान्सफर भएको देखिन्छ ।’

प्रहरीका अनुसार होटलमा रिकेश सिवा भनिने मेघर दर्जी, दीपेश पौडेल, राजेश रणपहेली र प्रविण थिए तर परिवारले अरु व्यक्ति पनि रहेको दाबी गर्दै आएका छन् ।

घटनामा संलग्नहरू लागूऔषध कारोबारमा पटक–पटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मारेर फरार भएको पृष्ठभूमिका मानिस भएकाले अत्यधिक लागूऔषध खुवाएर मारेको हुनसक्ने आशंका पीडित परिवारको छ ।

lokantar

८१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया