सोमबार ०८ कार्तिक २०७८

तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ। मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका छ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

यही वैशाख १६ गते बालकहरु हराएको र खोजी गरिदिन भनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा निजका अभिभावकले वैशाख १७ गते निवेदन पनि दर्ता गराएका थिए । अहिले शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

घटना के कसरी भयो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको र अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहित विशेषज्ञ टोली गए राति नै आएको तुलसीपुर इलाका प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।

उक्त कार सो स्थानमा विगत सात महिनादेखि पार्किङमा रहेको र कारका धनी यादव गैरेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रहरी अनुसन्धानका लागि गाडी मालिक यादब प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान चलिरहेकाले अहिले सोधपुछको लागि उनिहरुलाई नियन्त्रणमा लिइएको र उनीहरु नै अभियुक्त भए नभएको बारे प्रहरीले अनुसन्धान नगरेर त्यसै भन्न नसकिने बताएको छ ।

शव पहिचान हुन नसकेपछि प्रहरीले स्थानीयलाई खबर गरेको थियो । मृतक बालकका परिवारले लगाएको कपडाका आधारमा बालकको सनाखत भएको हो । तीनै जना बालकको शवलाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

प्रहरी अधिकारीका अनुसार शनिबार साँझ एउटा बस पार्किङका लागि त्यो कार नजिकै जाँदा चालक र सहचालकलाई निकै गन्ध आएको थियो । त्यसपछि वरिपरि हेर्दा केही नदेखिएको र बत्ती बालेर हेर्दा कारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया