Tuesday, October 27

इतिहासकै बढी नोक्सानी अहिले झण्डै चार महिनादेखि व्यावसायिक उडान हुन सकेको छैन

July 27, 2020 123

सबै कुरो पहिलेकै अवस्थामा चलिरहेको भए अहिले देशको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल हवाई यात्रुको ओहोरदोहोरले भरिभराउ हुन्थ्यो । पछिल्लो समय बिहान ६ः०० बजेदेखि मध्यराति ३ः०० बजेसम्म नै सञ्चालनमा रहेको विमानस्थलमा अहिले झण्डै चार महिनादेखि व्यावसायिक उडान हुन सकेको छैन ।

गत चैत ९ देखि अन्तर्राष्ट्रिय र ११ गतेदेखि घरेलुतर्फका उडान ठप्प हुँदा नेपाली हवाई इतिहासको ७० वर्षमा पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अनौठो अवस्था अनुभव गरेको छ । यसअघि २०६२–६३ को आन्दोलन र २०७१ फागुन तेस्रो साता टर्किस एयरलाइन्सको विमान धावनमार्गमै दुर्घटनामा परेका बेला केही दिन विमानस्थलको उडान–अवतरण रोकिएको थियो । चार महिनाको यो अवधिमा कार्गाे, मेडिकल चार्टर्ड, उद्धार उडान र विदेशबाट हुने शव उद्धारका उडान र आन्तरिकतर्फ राजधानीबाहिर रहेका पर्यटक ल्याउन भएका उद्धार उडान बाहेकका व्यावसायिक उडान भएको छैन । हवाई उडान बन्द हुँदा लकडाउनअघि सञ्चालनमा रहेका ३४ सहित देशभरका ५२ उडानयोग्य विमानस्थल सुनसान छन् । आन्तरिकतर्फका आठ विमान कम्पनीका ५६ विमान र १० हेलिकप्टर कम्पनीका ३४ हेलिकप्टर अहिले विमानस्थलमा ग्राउन्डेड छन् । नेपालमा उडान भर्दै आएका तीन नेपालीसहित २८ विदेशी कम्पनीका जहाजबाट चार महिनायता नियमित व्यावसायिक उडान भएको छैन ।

भूपरिवेष्ठित राष्ट्रका लागि उत्कृष्ट यातायातको साधन मानिने हवाई यातायात कोरोनाकै कारण बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्य सिजनमा हुने आन्तरिकका एक सयसहित दैनिक झण्डै चार सय र राजधानीबाहिर ३० भन्दा धेरै उडान भर्ने जहाजहरू ग्राउन्डेड छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विमानस्थलबाट हुँदै आएको मासिक ९० करोडको हिसाबले अहिलेसम्म चार अर्ब रूपैयाँ नोक्सान भइसकेको छ । त्यस्तै, आन्तरिक विमान कम्पनीले समेत अर्बौं घाटा बेहोरिसकेका छन् । वायुसेवा सञ्चालक संघका अनुसार लकडाउन सुरु भएयता आन्तरिकतर्र्फका विमान कम्पनीले ४० अर्ब कारोबार घाटा बेहोरेका छन् ।

प्राधिकरणका अनुसार पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने ठूलो लगानी भएको हवाई क्षेत्रबाट उठने राजस्व सरकारले गुमाइरहेको छ । हवाई यातायात बन्द हुँदा नेपालबाट वैदेशिक रोजगारीमा जानेहरू जान पाएका छैनन भने विदेशबाट आउने पर्यटकसमेत आउन सकेका छैनन् । सन् २०१९ मा झण्डै ११ लाख विदेशी नेपाल भित्रिए पनि २०२० को पहिलो महिनादेखि छिमेकी चीन लगायत देशबाट आउने पर्यटकलाई त्यहाँको सरकारले भ्रमणमा रोक लगाएपछि नेपालको हवाई क्षेत्रमा प्रत्यक्ष असर सुरु भएको हो । सरकारले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० मा पाँच लाख चिनियाँ पर्यटक नेपाल ल्याउने राष्ट्रिय अभियानमा सुरु भएको थियो । तर कोरोना महामारीले चीनबाट मात्रै नभएर करोडौं खर्च गरेर नेपालको प्रचारप्रसार गरिएका देशबाट समेत पर्यटक आउन नपाएपछि अहिले पर्यटन उद्योग धराशयी बनेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२० को सात महिनामा दुई लाख १५ हजार दुई सय ५४ मात्र विदेशी नेपाल भित्रिएका छन् ।

घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मासिक ९० करोडको हिसाबले अहिलेसम्म चार अर्ब नोक्सान

हवाई उडान बन्द हुँदा त्यसको प्रत्यक्ष असर जहाज कम्पनी र सरकारलाई मात्रै नभएर होटल, आरोहण, ट्रेकिङ, हेलिकप्टर, ट्रान्सपोर्टेसन लगायत क्षेत्रमा परेको छ । प्राधिकरणका अनुसार सरकारले भ्रमण वर्षलाई लक्ष्य गर्दै राति १२ः०० बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमान कम्पनीलाई सहुलियत दिने निर्णय गरेको थियो । तर कार्यान्वयन नहुँदै हवाई उडान नै रोकियो । २० लाख पर्यटक नेपाल ल्याउने योजना कोरानाकै कारण बीचैमा रद्द भयो । नेपाल आउने जहाजहरू ऋब कहिले पूर्ण अकुपेन्सीमा आउँछन् भन्नेमा अन्योल छ ।

आन्तरिकतर्फका विमान कम्पनीले पनि उडान र यात्रु बढाउन जेष्ठ नागरिकलाई छुट दिने योजना सार्वजनिक गरेका थिए । कोरोनाकै कारण हवाई व्यवसाय ओरालो लागेपछि एयरलाइन्स कम्पनीहरूले कर्मचारीलाई ५० प्रतिशत तलब दिएर जबर्जस्ती बिदामा पठाएका छन् । हेलिकप्टर कम्पनीहरूले पाइलट, इन्जिनियरलगायत कर्मचारीको आधारभूत तलबको ६५ प्रतिशत कटौती गरेका छन् । दैनिक रूपमा हुने हेटिकप्टर उडान बन्द हुँदा प्रतिदिन दुई करोड रूपैयाँभन्दा बढी घाटा भइरहेको जनाइएको छ ।

संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार भ्रमण वर्षमा १२ प्रतिशतले हेलिकप्टरको उडान वृद्धि गर्ने तयारी रहे पनि हेलिकप्टरले क्षमताको २० को हाराहारी मात्रै उद्धार उडान भरेका छन् । त्यस्तै आन्तरिकतर्फका विमानले लकडाउन अवधिमा ४० उडान भरेको उनको भनाइ छ । ‘अहिले देशको पर्यटक उद्योगले इतिहासमै सबैभन्दा बढी नोक्सानी बेहोरिरहेको छ,’ उनले भने, ‘त्यसमा पनि हवाई क्षेत्र सबैभन्दा बढी लगानीको क्षेत्र अन्तर्गत पर्ने भएकाले सरकारले घोषणा गरेको अति प्रभावित क्षेत्रको रूपमा रहेको छ ।

कँडेलका अनुसार वसन्तकालीन सिजनदेखि नै बुकिङ धमाधम रद्द हुन थालेपछि आन्तरिक जहाज र हेलिकप्टरको व्यवसाय घट्न सुरु भएको हो । सन् २०२२ को मार्चसम्मै कोरोनाको प्रभाव हवाई क्षेत्रमा कायम रहन सक्ने भन्दै उनले सरकारसँग एयरलायन्सलाई जोगाउन बैंकलाई बुझाउनुपर्ने ब्याजलाई राष्ट्र बैंकमार्फत रि–फाइनान्स गरी भुक्तानी व्यवस्था मिलाइदिन माग गरे पनि राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिले समेटेकोमा कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

त्यस्तै, विभिन्न बैंक तथा वित्तीय निकायबाट एयरलाइन्सले लिएको अमेरिकी डलर वा नेपाली रूपैयाँको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनर्संरचनाको व्यवस्थालाई समेत सरकारले ध्यान दिएकोमा बढी जहाज हुने हवाई कम्पनीलाई भने राहत पुग्ने उनले बताए । त्यस्तै ऋणतर्फको रकमलाई साँवामा गाभ्नुपर्ने, डलरमा लिइएको ऋणको भुक्तानी नेपाली रकममा गर्न सकिने व्यवस्था लागू गर्नुपर्ने र हवाई इन्धनमा सरकारले लगाएको मूल्य अभिृवृद्धिकर हटाउनुपर्ने उनले बताए । ‘इन्धनको मूल्य ३० प्रतिशत घटाउनुपर्ने हो तर अझै ४० को ठाँउमा ६३ छ,’ उनले भने, ‘जहाजको बिमा शुल्कमा लाग्दै आएको करमा छुट, आयल निगमले माग्ने धरौटीमा बैंक ग्यारेन्टीको मान्यतामा भने सरकार गम्भीर हुन सकेन । विमानस्थलले लिने जहाजको अवतरण, पार्किङ, नेभिगेसन शुल्क छुटबारे नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णय भने स्वागतयोग्य भएको उनको भनाइ छ ।

अल्पकालीन लोनको भाका ६० दिन तोकिनुलाई समेत राहतको रूपमा मान्न सकिने जनाउँदै उनले पुनर्कर्जाको सुविधा, पुनर्तालिकीकरणको सुविधालाई कार्यविधिमार्फत लागू गरिए लामो समयदेखि थन्किएका विमान कम्पनीहरूले राहत महसुस गर्ने उनको धारणा छ ।

त्यसो त हवाई कम्पनीमात्रै होइन देशभित्रका आन्तरिक विमानस्थलसमेत कारोनाकै कारण अर्बौं घाटामा गएका छन् । आर्थिक वर्ष ०७५/७६ मा देशभरका विमानस्थलमध्ये ४१ वटा घाटामा गएको सरकारी तथ्यांकले देखाएको छ । तीमध्ये २० वटा विमानस्थल जहाज र यात्रुको अभावमा घाटामा गएका थिए भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थल नाफामा जान सकेका थिए । यो वर्षको सात महिना बितिसक्दासमेत हवाई उडानमा गिरावट आउँदा पोहोरका विमानस्थलसमेत घाटामा जाने निश्चित जस्तै भएको सम्बद्ध कर्मचारी स्वीकार्छन् ।

पछिल्लो समय नेपालमा इन्डिगो, एयर इन्डिया, भिस्तारा, विमान बंगलादेश, थाई एयरवेज, थाई लायन एयर, कतार एयरवेज, ओमन एयर, सलम एयर, ड्रूक एयर, इन्डिगो,भुटान एयरलाइन्स, मलेसिया एयरलाइन्स, मलिन्दो एयरलाइन्स, चाइना साउर्दन, चाइना इस्टर्न, एयर चाइना लगायत विदेशी विमान कम्पनीहरूले उडान भर्दै आएका थिए ।

लकडाउनमा धमाधम चार्टर्ड उडान
सरकारले साउन ७ गतेदेखि लकडाउन अन्त्य गरे पनि व्यावसायिक उडान प्रतिबन्ध साउन अन्तिमसम्म कायमै राखिएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार लकडाउनका दौरान २७ हजार ६ सय ५४ जना नेपाल भित्रिएका छन् भने १५ हजार ६ सय ८८ नेपालबाट बाहिरिएका छन् । गत चैत १४ देखि असार ३१ सम्म भएको उडानमार्फत उक्त संख्यामा नेपाल प्रवेश गरेको र नेपालबाट बाहिरिएको जनाइएको छ । त्यस्तै, सरकारले विभिन्न देशमा अलपत्र परेका नागरिकको समेत उद्धार गरेको छ । पहिलोपटक उद्धार उडान गत जेठ २३ गते म्यान्माबाट सुरु गरिएको थियो । सरकारले आगामी भदौ १ गतेदेखि नियमित हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

Source Nagariknews

प्रतिकृया दिनुहोस्