बुधबार ०९ आषाढ २०७८

काठमाडौं, २० फागुन । मलेसियाको सामाजिक सुरक्षा संस्था (सोक्सो)ले मलेसियामा कार्यरत नेपाली श्रमिकको कारणवश अंगभंग वा मृत्यु भएको अवस्थामा श्रमिकमात्र नभएर श्रमिकको परिवारलाई समेत आजिवन आर्थिक (क्षतिपूर्ति) सुरक्षा प्रदान गर्ने भएको छ ।

नेपाल सरकार र मलेसिया सरकारका सरकारी अधिकारीबीच सोक्सोको समझदारी पत्रमा स्वास्थ्य, अस्थायी असक्षमता, स्थायी असक्षमता र आश्रित लाभ शिर्षकमा हस्ताक्षर भएपछि श्रमिकसँगै परिवारलाई पनि आजिवन आर्थिक सुरक्षा प्रदान गरिने भएको छ ।

समझदारी पत्रमा भनिएको छ, ‘अस्थायी असक्षमता, स्थायी असक्षमता र आश्रित लाभ भने श्रमिक स्वयम् वा निजको परिवारजनले पाउने छन् । कुनै पनि श्रमिक दुर्घटनामा परी स्थायी रुपमा आय आर्जन गर्न असक्षम भएमा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्न योग्य हुन्छ ।’

यसैगरी अस्थायी रुपमा काम गर्न असक्षम भएकाहरुले भने आय आर्जन तोकिएका शर्तका अधिनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्ने जनाइएको छ । यसैगरी आश्रित लाभअन्तर्गत कुनै श्रमिकको तोकिए बमोजिम कामको सन्दर्भमा मृत्यु भएमा निजको विधवा वा विधुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम प्राप्त गर्न सक्ने व्यवस्था छ ।

श्रमको सिलसिलामा निधन भएका श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशतका दरले वा आमा वा बाबुको पनि मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम नै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसैगरी यदि श्रीमान वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाई वा हजुरबा हजुरआमाले दैनिक तलबदरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था सोक्सोमा रहेको छ ।

नेपालका तर्फबाट वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र सोक्सोका प्रमुख कार्यकारी अधिकृत दातो डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदबीच समझदारी पत्रमा हस्ताक्षर भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

मंगलबार विज्ञप्तिमार्फत् दुई देशबीचमा समझदारी पत्रमा हस्ताक्षर सकिएसँगै श्रमिकहरु सामाजिक सुरक्षा, सुरक्षा कार्यक्रम र गतिविधिमा सहभागी हुन पाउने दूतावासले जनाएको छ ।

हाल मलेसियामा कम्पनी छाडेर गैरकानुनी हैसियतमा काम गर्ने श्रमिकको संख्या ठूलो रहेको छ । यहीँ अवस्थालाई मध्यनजर गरेर श्रमिककै सुरक्षाका निम्ति यस्तो व्यवस्था गरिएको दूतावले जनाएको छ ।

दूतावासका अनुसार पहिलेदेखि मलेसियामा रहेका नेपालीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने काम भइरहेको र अहिले ४ लाख नेपाली श्रमिकहरु यसमा आवद्ध भइसकेका छन् । सन् १९६९ मा गठन भएको सोक्सोमा १ जनवरी २०२० पश्चात सबै रोजगारदाताले अनिवार्य रुपमा सोक्सोमा आवद्ध हुनुपर्ने व्यवस्था गरिएको पनि दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सोक्सोमा आवद्ध हुनका निम्ति रोजगारदाताले श्रमिकको निम्ति श्रमिकले पाउने मासिक तलबको १ दशमलब २५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनु पर्नेछ ।

सोक्सोबाट सुविधा तथा लाभ पाउनका लागि विभिन्न प्रक्रियाहरु पूरा गर्नुपर्ने जनाइएको छ । कार्यस्थलमा हुने दुर्घटनाहरूको लागि रोजगारदाताले पन्च कार्ड वा उपस्थिति रेकर्ड, मेडिकल प्रमाणपत्र र परिचय पत्रको प्रतिलिपि सहित दुर्घटना रिपोर्ट फाराम भरेर सोक्सो कार्यालयमा पेश गर्नुपर्ने दूतावासले जनाएको छ ।

त्यस्तै, दुर्घटना काममा आउँदा वा कामबाट फर्कंदा भएको छ भने यी कागजातहरूका अतिरिक्त पुलिस रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको बाटोको नक्शा पनि सामेल गरेको हुनुपर्ने पनि दूतावासले भनेको छ । हाल मलेसियाभर सोक्सोका ५४ कार्यालयहरु रहेको दूतावासले जनाएको छ ।

प्रेस विज्ञप्तिः नेपालको वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (SOCSO) बीच सहकार्य गर्ने समझदारीपत्र (Memorandum of Collaboration) मा हस्ताक्षर

news24nepal.tv

४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया