शुक्रबार ०१ आश्विन २०७८

उदयपुर : जिल्ला प्रशासन कार्यालयका एक अधिकृतलाई कोरोना पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार ऐन्टिजेन टेष्ट गर्दा उनलाई पोजिटिभ देखिएको हो । संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा छन् । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइले खासै त्यस्तो लक्षण नदेखिएकाले कार्यालयकै क्वाटरमा एक्लै सुरक्षितसाथ बसेको बताए ।

‘दुई/तीन दिन अघिदेखि कोरोनाको जस्तो लक्षण देखिएपछि अधिकृत कोठामा नै बस्दै आएका थिए,’ प्रजिअ सेढाइले भने, ‘स्वास्थ्यमा सामान्य समस्या भएपछि आफै जोगिएर बसेकाले अन्य कर्मचारीलाई खासै समस्या होला जस्तो छैन् ।’

भाइरस परिपक्व हुन केही दिन लाग्ने भएकाले बाँकी कर्मचारीको सोमबारसम्म सबैको परीक्षण गर्ने उनले बताए । यो सँगै जिल्लामा संक्रमितको संख्या २१ पुगेको छ । कोरोनाबाट एक महिलाको मृत्यु भइसकेको छ । यसबीचमा दुईजनाले कोरोना जितेर घर फर्किएका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या १८ रहेको छ । स्थानीय तहसँगको समन्वयमा ९ जना होम आइसोलेसन र ८ जना क्वारेन्टिनमा बसेका छन्।

यता कार्यालयले नियमित कामलाई आलोपालो गरेर मिलाएको छ । सम्भावित भीडलाई मध्यनजर गरी कार्यालयबाट प्रदान गरिँदै आएका नयाँ नागरिकता, प्रतिलिपी नागरिकता र राष्ट्रिय परिचयपत्रको सेवालाई आइतबारदेखि लागू हुनेगरी सबै पालिकालाई फरक फरक ढंगले सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाएको प्रजिअ सेढाइले बताए

प्रशासनले बेलका नगरपालिकालाई आइतबार र सोमबार, चौदण्डिगढी नगरपालिकालाई मंगलबार र बुधबार, त्रियुगा नगरपालिकालाई बिहीबार र शुक्रबार, लिम्चुङ्गबुङ्ग, रौतामाई, उदयपुरगढी र ताप्लि गाउँपालिकालाई कार्यालय खुल्ला भएको सबै दिन सेवा उपलब्ध गराउने गरी आलोपालोको व्यवस्था मिलाएको छ ।

नयाँ नागरिकता, प्रतिलिपी नागरिकता र राष्ट्रिय परिचयपत्र वाहेकका अन्य सबै सेवालाई कार्यालय खुल्ला भएको दिन सूचारु हुने जनाएको छ । कार्यालयले संक्रमणलाई न्युनिकरण गर्न जिल्लाका ठुला होटल, पार्टीप्यालेस, होटल व्यवासायी सघं र अन्य सरोकारवाला निकायलाई पत्राचार नै गरी मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतवन्ध, धार्मिक अनुष्ठान, मलामी लगायत अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप संचालन गर्दा २५ जनाभन्दा बढि नुहने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

प्रशासनले यातायात व्यवसायी कम्पनीलाई पत्राचार गरी लामो दुरीको यातायातबाट जिल्ला प्रवेश गर्ने यात्रु तथा सवारीसाधनको विवरण दैनिकरुपमा डिसीसीएमसीमा पठाउनसमेत अनुरोध गरेको छ ।

annapurnapost

 

१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया