मंगलबार १२ आश्विन २०७८

भैरहवा : बालक उमेर जघन्य अपराध गरेका एक व्यक्ति बैंस उमेरमा पक्राउ परेका छन्। २३ वर्ष अघि ०५६ सालमा एक व्यक्तिको हत्या गरेर फरार रहेका युवराज भन्ने भुवन ढकाल ३७ वर्षको उमेरमा समातिएका छन्।

उनलाई रुपन्देहीको इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले रुपन्देहीको कंचन गापा २ हात्तिबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

२०५६ सालमा हत्या गरेका उनलाई जिल्ला अदालत रुपन्देहीले २०६४ सालमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजाएको फैसला गरेको थियो। अपराध गरे यता उनी फरार थिए।

अपराध गरेर विभिन्न स्थानमा लुकुछिपी बस्दै आएका अन्ततः उनी पक्राउ परेका छन्।

प्रहरीका अनुसार विगतमा बस्दै आएको रुपन्देहीको साविक गजेडी ९ लौसाबाट बसाई सराई गरी चितवनको साविक गितानगर ७ बाट ढकालले नागरिकता बनाएका छन्। गत माघ महिना देखि रुपन्देहीको कंचन गापा २ हात्तिबजारमा कुखुरा फर्म संचालन गरी बस्दै आएको सूचना पाएपछि प्रहरीले उनलाई तत्काल पक्राउ गरेको छ।

फरार अपराधी सम्बन्धित स्थानमा रहेको सूचना प्राप्तपछि उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रुपन्देही पठाइएको रुपन्देहीका डिएसपी एवं प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।

अदालतबाट सजाए पाएका र अपराधिक घटना घटाएर फरार रहेका आरोपीलाई पक्राउ गर्नका लागि रुपन्देही प्रहरीले विशेष प्राथमिकतामा साथ कार्य अगाडी बढाएको छ। जसका लागि प्रहरीको ‘क्याप टोली’ लाई सक्रिय बनाइनुका साथै सबै इलाका र चौकीका इन्चार्जलाई खोजीमा खटाइएको छ।

‘फरार रहेका अपराधी समाज रहेर पुनः अपराधिक क्रियाकलाप गर्न सक्ने विषयलाई नकार्न सकिदैन’ रुपन्देहीका एसपी मनोज केसीले अन्नपूर्णसगँ भने, ‘त्यसैले जिल्लामा शान्ति सुरक्षा कायम राख्न फरार अपराधीहरुलाई पक्राउ गर्न आवश्यक देखिएकोले पक्राउ गर्न थालेका हौँ।

annapurnapost’

 

१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया