आइतबार ०३ आश्विन २०७८

राजविराजः १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा सप्तरी अदालतले सिरहा नगरपालिका–६ का ३० वर्षीय दिपेन्द्र भनिने दिपिन्द्र महरालाई १० वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश ऋषिराम आचार्यको इजलाशले आरोपित सिरहा नगरपालिका–६ का ३० वर्षीय दिपिन्द्र महरालाई १० वर्ष कैद सजाय साथै २५ हजार क्षतिपूर्ति भराउन फैसला गरेको स्रेस्तेदार कुमार मास्केले बताए ।

सिरहाबाट ललाईफकाई १७ वर्षीया किशोरीलाई बिहेको आश्वासन दिइ राजविराज नगरपालिका–३ स्थित दीपसाजन लजमा राखी ०७६ कात्तिक २६ गते आरोपितले बलात्कार गरेको पीडितले बताइन् । पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय सिरहामा ०७६ मङ्सिर ३ गते नै उजुरी दिएका थिए ।

घटनास्थल सप्तरी भएककोले सिरहा प्रहरीले कारवाहीका लागि ०७६ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रसहित फायल पठायो । जिल्ला प्रहरी कार्यालय सप्तरीले ०७६ मङ्सिर १८ गते बलात्कारको उजुरी दर्ता गर्दै सिरहा प्रहरीसँग आरोपितको खोजीमा सहयोग माग्यो ।

सिरहा प्रहरीले नै आरोपितलाई ०७६ मङ्सिर २२ गते पक्राउ गरी ०७६ मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा कारवाहीका लागि बुझाएको थियो । जिल्ला अदालतमा ०७६ पुस १६ गते अभियोगपत्र दायर भएपछि अदालतको आदेशमा आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

annapurnapost

८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया