आइतबार ०३ आश्विन २०७८

बाँकेस्थित भेरी अञ्चल अस्पतालको आईसीयू शय्यामा एक अधबैंसे महिला आलाप-विलाप गरिरहेकी थिइन् । आईसीयू मनिटरको चर्को आवाजले बोली प्रष्ट नसुनिए पनि ‘मेरो मुटुको टुक्रा…मेरो मुटुको टुक्रा…’ भनेको विरक्त चिच्याहट बाहिरसम्म सुनिइरहेको थियो ।

उनी बोलिरहँदा बेडमा रहेका अन्दाजी बीस-पच्चीस वर्षका युवाको शरीर अनियन्त्रित थियो । अक्सिजन सपोर्टमा छट्पटाइरहेका ती युवा भएभरको शक्ति खर्चेर बाँच्नको लागि संघर्ष गरिरहेका थिए । रातो कुर्ता सलवारमा भएकी ती महिलाको भावभंगीले ठूलो संकट बोलिरहेको थियो । शायद उनी आमा थिइन् ।

उक्त अस्पतालको आईसीयू वार्डमा हरेक बेडमा एक जना कुरुवा छन्, कोही संक्रमितलाई घोप्टो पारेर ढाडमा थपथपाइरहेका छन् भने कोही पंखाले हम्किइरहेका छन् । कोही रक्त सञ्चार अवरुद्ध नहोस् भनेर मालिस गरिरहेका छन् भने कोही बिरामीको होश नगुमोस् भनेर झकझक्याइरहेका छन् ।अक्सिजन मनिटरको चर्को आवाज, संक्रमित र कुरुवाको अत्यासलाग्दो चीत्कार, बेडबाटै भुइर्ंमा खसौंला झैं लाग्ने संक्रमितको अनियन्त्रित छट्पटाहट । बाँके जिल्लाको कोरोना महामारीको अवस्था बोल्ने दृश्यहरू थिए, ती ।

त्यतिमात्र कहाँ हो र ?

आईसीयू वार्डभित्र जस्तै अक्सिजन कम भएर बाहिर पनि संक्रमितहरू छट्पटाइरहेका थिए । संक्रमितका आफन्तहरू ‘भित्र बेड खाली होला कि’ भन्ने प्रतीक्षामा थिए । त्यो प्रतीक्षाको लाइन छिनमै लामो हुन्थ्यो ।

त्यहाँ कार्यरत चिकित्सकले अक्सिजन विना बाँच्न नसक्ने संक्रमितलाई अन्य वार्डमा भए पनि अक्सिजनको सहारा दिएर भित्र राख्थे भने केही संक्रमितलाई ‘अवस्था नाजुक भइनसकेको’ भन्दै फर्काउन लाचार हुन्थे ।त्यहीबेला एकै पटक तीन जना संक्रमितलाई सास फेर्न गाह्रो भएको भन्दै ल्याइयो । तीनमध्ये दुई पुरुष क्रमशः ६५ र ५५ वर्षका थिए भने एक महिला ३५ वर्षकी थिइन् । संक्रमितका आफन्तका अनुसार उनीहरूको अक्सिजनको लेभल ८५ भन्दा तल थियो ।

ट्रलीमा हालेका उनीहरू बोल्न सक्ने अवस्थामा थिएनन् तर केही इशारा गरेर छट्पटाइरहेका थिए । उनीहरूको इशारा नबुझेर हैरान बनेका आफन्तहरू अस्पतालमा बेड नपाएर झन् विक्षिप्त थिए ।आमाको लागि आईसीयू बेडको प्रतीक्षामा रहेका १८ वर्षीय छोराले फोनमा कसैलाई भने, ‘आमा छट्पटाएर मर्न लागिसक्नुभो, यहाँ अस्पतालमा बेड छैन रहेछ, छट्पटाएरै सास जान्छ कि जस्तो छ ।’

त्यही बेला त्यहाँ आइपुगेका ड्युटी डाक्टरलाई उनले समस्या सुनाए । ‘सिकिस्त बिरामीलाई आईसीयूबाट झिकेर मर्न दिनुभएन, समस्या बुझ्नु न । बरु पल्लो वार्डमा लैजानुस्, त्यहाँ केही व्यवस्थापन होला कि’ डाक्टरको जवाफ थियो ।त्यता बेड नपाएर यता आएका उनी किन मान्थे र ? उनीहरूले डाक्टरलाई हात जोड्दै रुञ्चे स्वरमा भने, ‘प्लिज केही उपाय गरेर हाम्रो मान्छे बचाइदिनुस् !’ड्युटी डाक्टर दुवै हातले टाउको (पुर्पुरो) ठोक्दै भित्र पसे । डाक्टरको त्यो हाउभाउमा निराशा र लाचारी प्रष्ट देखिन्थ्यो भने संक्रमितका आफन्तहरू झन् बिचरा देखिएका थिए ।

त्यही बेला संक्रमितको छट्पटाहट झन् अनियन्त्रित भयो । बिरामी लिएर आएका कुरुवाहरूसँग अत्तालिनु र सम्हालिनु बाहेक अर्को विकल्प थिएन । अस्पतालको भयावह अवस्थाले उनीहरू मृत्यु स्वीकार्ने पक्षमा पुगिसकेका थिए । त्यहीमध्येका एक आफन्तले भने, ‘हाम्रो त शासकै शत्रु भए, देशमा यस्तो भयावह अवस्था हुँदा कसैलाई मतलब छैन ।’सास फेर्न गाह्रो भएर अस्पताल ल्याएका बुवाको लागि बेड नपाउँदा आक्रोशित भएका उनी अक्सिजन सहितको बेडमा भर्ना पाएका संक्रमितले डाक्टर र नर्सको सेवा नपाएको देखेर झन् विक्षिप्त भएका थिए । लामो सुस्केरा हाल्दै भने, ‘यो हदसम्मको भयावह होला भन्ने त कल्पनै थिएन !’

त्यही बेला ड्युटी डाक्टर आएर भने, ‘अक्सिजन सिलिण्डरको व्यवस्था गरेका छौं, बेड खाली छैन, भुईमा राख्नुपर्छ ।’संक्रमितका आफन्तले डाक्टरको जयजयकार गर्दै बिरामीलाई भित्र लगे ।१४२ जना कोभिड बिरामी राख्ने क्षमता भएको उक्त अस्पतालमा २०० भन्दा बढी संक्रमित नाघिसकेका छन् । कोरोनाको लागि बाहेक अन्य रोगको उपचारको लागि छुट्याइएका वार्डहरूमा अक्सिजन जडान गरेर संक्रमितको उपचार गरिएको छ । सास फेर्न गाह्रो भएर अक्सिजन जडान गरेका सबै संक्रमितले नर्स र डाक्टरको सेवा पाउने अवस्था छैन । सुस्केरा हाल्दै ‘भगवान भरोसा…’ भनिरहेका छन् संक्रमितका आफन्त ।

आईसीयू वार्ड बाहिर ४१ वर्षीय सन्तोष ओली भेटिए । उनकी ३४ वर्षीया श्रीमती सिकिस्त भएर आईसीयू वार्डमा उपचाररत छिन् । सन्तोषका अनुसार आमासँगै आईसीयूमा भर्ना भएकी २१ वर्षकी छोरीको यही अस्पतालमा ६ दिन अगाडि संक्रमणकै कारण मृत्यु भयो ।हामीसँग कुराकानी गर्दागर्दै ‘छोरीले तीन महिने छोरीलाई’ (सन्तोषकी नातिनी) एक्लै छाडेर गई भन्दै सन्तोष भक्कानिएका थिए । आईसीयू वार्डमा छोरीले छट्पटाउँदै प्राण त्यागेको देख्दादेख्दै केही गर्न नसकेको सुनाउँदै उनी भन्छन्, ‘यहाँ आएको दिनदेखि मैले दिनकै छट्पटाउँदै मानिस मरेको देखेको छु ।’२१ वर्षकी छोरीको मृत्यु सहेर संक्रमित श्रीमतीको कुरुवा बसेका उनी विक्षिप्त छन् । छोरीले छट्पटाउँदै अन्तिम सास फेरेको देखेका उनकी श्रीमती पनि आईसीयूमै अर्धचेत अवस्थामा छिन् । ‘

आमाको अगाडि छोरी छट्पटाउँदै मर्दा कति दर्द भयो होला ? म छोरी मरेको बेड हेर्न सक्दिनँ भन्दै भक्कानो छाडेर रुन्छे’ श्रीमतीको अवस्था बताउँदै सन्तोष भन्छन्, ‘डाक्टरले त श्रीमतीलाई भन्दा योङ छोरीलाई बचाउन सजिलो हुन्छ भन्थे ।’सन्तोष मनको वह पोख्दा पोख्दै आफैंलाई जवाफ दिन्छन्, ‘मेरो जस्तो एकै परिवारका संक्रमित र मृत्यु हुने त धेरै पो छन् हौ !’उनले यसरी नै आफ्नो मन बुझाएका छन्, तर आईसीयूमा संक्रमित भएर छट्पटाइरहेकी श्रीमतीलाई बुझाउन नसक्दा हैरान भएको सुनाउँछन् ।

अस्पतालमा नर्सिङ जनशक्तिको अभाव भएकाले पनि धेरै संक्रमितको मृत्यु भएको सन्तोष सुनाउँछन् । अक्सिजन र इन्जेक्सन दिन दौडादौड हुँदा पनि जनशक्ति नथप्नुको परिणाम झन् भयावह हुनसक्ने उनको अनुमान छ । उनका अनुसार यत्रो धेरै संक्रमितलाई हेर्ने पाँच जना मात्रै स्टाफ नर्स भएकाले पनि संक्रमितका कुरुवालाई डर छ ।‘दिउँसो भन्दा राति बिरामीका कुरुवा आत्तिन्छन्, किनकि अक्सिजन सकिन्छ या पाइप खुस्किन्छ कि भन्ने डर हुन्छ’ सन्तोष भन्छन्, ‘तर यस्तो भयावह हुँदा पनि राज्यले जनशक्ति नपठाउनु अपराधै गरेको हो, यति थोरै चिकित्सकले धन्न धानेका छन् ।’

त्यसैगरी आईसीयू वार्ड अगाडि २६ वर्षीय सुदिपकुमार लाखी भेटिए । आफैं संक्रमित भएका उनी ५८ वर्षीय बुवाको कुरुवा हुन् । ८ दिनदेखि बुवालाई आईसीयूमा भर्ना गरेर उनी त्यही दौडधूप गरिरहेका छन् । अस्पतालमा जनशक्ति अभावको कारण सबै संक्रमितले दुःख पाएको उनको गुनासो छ । डाक्टर र नर्सले हेर्न नभ्याएको कारण कतिपय संक्रमितको मृत्यु भएको आˆनै आँखाले देखेको उनी दाबी गर्छन् ।‘अस्पतालका डाक्टरहरू जनशक्तिको अभाव छ भन्नुहुन्छ, एक जना पनि कुरुवाहरू भएनन् भने त संक्रमित बचाउन गाह्रो हुन्छ’ उनी भन्छन्, ‘यही वार्डमा मात्रै पाँच जनाको मृत्यु भएको मेरै आँखाले देखेको छु ।’

भेरी अस्पतालमा भएको संक्रमितको मृत्युको तथ्यांक र अवस्था हेर्दा कोरोना महामारीले त्यहाँ थप क्षति पुर्‍याउने प्रष्ट देखिन्छ । किनकि, आईसीयूभित्र अत्यन्तै सिकिस्त बिरामीहरू मृत्युसँग संघर्ष गरिरहेका छन् । मृत्यु देखे पनि आˆनो बिरामीलाई त्यो अवस्थामा पुग्न नदिन बिरामीका कुरुवाहरू समेत सक्दो मिहिनेत गरिरहेका छन् । एक चिकित्सक भन्छन्, ‘कुरुवाहरूको परीक्षण गर्ने हो भने सबैजसो संक्रमित भइसके होलान् । यहीमध्ये धेरै त सिकिस्त हुनेवाला छन् र, उनीहरूलाई बेड मिलाउन उस्तै महाभारत हुन्छ ।’

त्यहीबेला आईसीयूभित्रबाट चर्को आवाज आयो, ‘डाक्टर डाक्टर…’आवाज सुनेपछि डाक्टर र नर्स दौड्दै त्यहाँ गए । बाहिर बसेका अर्का कुरुवाले भने, ‘संविधानसभा सदस्य मोहम्मद सिद्दिकीका लागि दौडिएका हुन्, उनको अवस्था जटिल छ ।’ त्यसको केही समयपछि सिद्दिकीको मृत्यु भएको खबर आयो ।सिद्दिकीको मृत्यु हुनु अगाडि मात्रै त्यही आईसीयू वार्डमा ७२ वर्षीय एक महिलाको उपचारकै क्रममा मृत्यु भएको थियो । सिद्दिकीको मृत्यु भएको साढे दुई घण्टापछि सोही अस्पतालमा फेरि ४७ वर्षीय अर्की एक महिलाको मृत्यु भयो । त्यसको दुई घण्टापछि ६० वर्षीय पुरुषले भाइरससँगको अन्तिम लडाइँ जित्न सकेनन् ।‘योभन्दा भयावह र बेहाल अरू के हुन्छ ? हामीसँग नर्स र डाक्टरको जनशक्ति अलि धेरै भएको भए अवस्था सुधार गर्न सकिन्थ्यो’ भेरी अस्पतालका चिकित्सक डाक्टर राजन पाण्डे भन्छन् ।जटिल किसिमको कोरोना संक्रमित राखिएको आईसीयूमा बिरामीको कुरुवा ! सुन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्छ । तर यो भेरी अस्पतालको यथार्थ हो । अनि महामारी भयावह भएको अस्पतालमा जनशक्ति दिन नसक्ने राज्यको कुरुप तस्वीर पनि ।

भेरी अस्पतालका चिकित्सक डाक्टर पाण्डेका अनुसार अस्पतालमा ३९ जना नर्स छन्, जसमध्ये एक दर्जन जति संक्रमित भइसकेका छन् । बाँकी नर्सले तीन सिफ्टमा भाग लगाएर २०० भन्दा संक्रमितको उपचार धानिरहेका छन् । त्यति धेरै क्रिटिकल बिरामी धान्ने एनेस्थेसियाका कर्मचारी एक जना मात्रै छन् ।आईसीयूमा राखिएका जटिल किसिमका संक्रमितलाई यति थोरै जनशक्तिले उपचार गर्न असम्भव रहेको अस्पतालका चिकित्सकहरू बताउँछन् ।३० वर्षीय बैनीलाई ६ दिनदेखि आईसीयूमा राखेका रोल्पाका एक कुरुवा भन्छन्, ‘यत्रो धेरै संक्रमितलाई पाँच जना नर्सले कसरी धान्नु, डाक्टरहरू झन् थोरै छन् । राज्यले जनशक्ति दिनुपर्दैन ? यो त सारै नै बिजोक भयो !’

१० दिनदेखि श्रीमतीलाई आईसीयूमा राखेर कुरुवा बसेका हवल्दारपुरका ४१ वर्षीय सन्तोष थापालाई अस्पतालको अवस्था देखेर डर लागिसक्यो । हरेक दिन मृत्यु देखेका उनलाई राति श्रीमतीको मृत्यु हुने हो कि भन्ने डर लाग्छ ।कहीं बाहिर निस्कँदा अक्सिजन मास्क खुस्किएला कि भनेर डरले निदाउन सक्दैनन् । ‘कतिपय संक्रमित त ल्याएको एक/दुई घण्टामै मर्छन्, कतिपय चाहिं दुई/तीन दिन बाँचेर मर्छन्’ सन्तोष अत्तालिंदै भन्छन्, ‘अस्पतालमा भर्ना गरेको ६ दिनभन्दा बढी टिक्यो भनेचाहिं मान्छे बाँच्छ भन्ने आश हुँदोरहेछ ।’सन्तोषले रातको समयमा धेरै संक्रमितको मृत्यु भएको देखेका छन् । उनका अनुसार रातपरेपछि नर्स र कुरुवाहरू निदाउने भएकाले बिरामी यताउता छट्पटाउँदा अक्सिजनको पाइप खुस्किन्छ । एक दिन उनले निद्रामा ‘फ्याट… फ्याट….’ गरेको आवाज सुने । के भएछ भनेर अत्तालिंदै ब्युँझिंदा उनकी श्रीमती छट्पटाइरहेकी थिइन् । त्यसपछि उनले नर्सलाई बोलाएर श्रीमतीको बचाउ गरे ।‘म नब्युँझिएको भए त श्रीमती छट्पटाउँदै मर्ने रहिछन्, कुरुवा निदाएको बेला संक्रमित छट्पटाउँदा अक्सिजन मास्क खुस्किने भएकाले सबै संक्रमितका आफन्त निदाउन डराउँछन् । यहाँ छिट्टै जनशक्ति थप गरिएन भने धेरैको मृत्यु हुने देख्छु म’, उनी सुनाउँछन् ।पहिलो चरणको महामारीमा १० देखि २० प्रतिशत संक्रमित जटिल र ८० प्रतिशत सामान्य थिए भने अहिले २० प्रतिशत सामान्य तर ८० प्रतिशत जटिल भएको डा. पाण्डे बताउँछन् ।

बेड, जनशक्तिको अभाव र भाइरसको डरको बाबजूद चिकित्सकहरू दिन-रात खटिइरहेका छन् । ‘यहीं नआइकन यहाँको विकराल अवस्था देख्न र बुझ्न सकिन्न, यूरोपको भन्दा केही फरक अवस्था छ त ?’ डा. पाण्डे हामीसँग प्रश्न गर्छन् ।पाण्डेका अनुसार वैशाख १ गतेदेखि नेपालगञ्जमा संक्रमित भेटिने क्रम बढेको हो । बाँके जिल्लामा त्यस दिनयता ३० भन्दा बढी संक्रमितको मृत्यु भइसक्यो । यहाँ बेड नभएर अन्य ठाउँमा रेफर हुने संक्रमितको रेकर्ड छैन । अस्पतालमा बसेकाको भन्दा होम आइसोलेसनमा बसेका संक्रमितको संख्या धेरै छ ।साधारण वार्डदेखि आइसोलेसन र आईसीयू सबैमा संक्रमित भरिएकाले संक्रमित भएका चिकित्सकलाई नै त्यहाँ उपचार गर्न नसकिएको डा. पाण्डे बताउँछन् । ‘कोही संक्रमितको मृत्यु होला र हाम्रो बिरामी राखुँला भनेर मानिसहरू पालो कुर्ने अवस्थामा छन्’ अस्पतालको अवस्था वर्णन गर्दै डा. पाण्डेले भने ।

अहिलेसम्म अस्पतालमा भर्ना भएका सबै संक्रमितलाई अक्सिजन जडान गरिएको छ । १० दिनअघिसम्म बिरामी नभएर अस्पतालका एचडीयू वार्डहरू बन्द थिए भने अहिले बेड खाली नभएर बिरामी फर्काउनु परेको डा. पाण्डे बताउँछन् ।‘महामारी शुरू हुनुअघि हाम्रोमा जम्मा ६ बेड मात्र आईसीयू थियो अहिले लगभग १४२ अक्सिजन मनिटर सहितको बेड हुँदा पनि धान्न सक्ने अवस्था छैन’, पाण्डे भन्छन् ।संक्रमितका कुरुवा विना नर्सिङ जनशक्तिले मात्र धान्न सक्ने अवस्था नभएकाले औषधि र इन्जेक्सन दिने काम नर्सिङ जनशक्तिलाई जिम्मा दिएर संक्रमित व्यवस्थापनको काम कुरुवालाई दिन बाध्य भएको डा. पाण्डे बताउँछन् ।

पाण्डेले भने, ‘कुरुवा नराख्ने हो भने बिरामीको अवस्था झन् बेहाल हुन्छ । यो बेला कम्तीमा पनि २०० जना नर्सिङ कर्मचारी चाहिन्छ, हाम्रोमा ३९ जना मात्रै छन्, त्यही पनि एक दर्जन संक्रमित भएका छन् ।’महामारी विरुद्ध लड्न नर्सिङ जनशक्ति र एनेथेस्टोलोजिस्ट सयौंको संख्यामा राज्यसँग माग गरेको डा. पाण्डे बताउँछन् । पहिले ६ वटा आईसीयू बेड चलाउने जनशक्तिले अहिले १६० भन्दा बढी बेड सञ्चालन गर्दा आपत् परेको उनको भनाइ छ ।डा. पाण्डेका अनुसार, ड्युटी डाक्टर र नर्स २४सै घण्टा काम गर्दा पनि बिरामी हेर्न भ्याउने अवस्था छैन । बिरामीको छट्पटाहट, कुरुवाको चिच्याहट र मृत्युसँग अन्तिम लडाइँ लडिरहेका बिरामीको नाजुक अवस्थाले स्वास्थ्यकर्मीलाई मानसिक तनाव छ ।

उनी भन्छन्, ‘धन्न गत असोजमा १४२ वटा एचडीयू थपियो र अहिले थोरै भए पनि राहत भएको छ, नत्र यत्रो बिरामी धान्न कहाँबाट सक्नु, यहाँ भागाभाग हुन्थ्यो ।’संक्रमणकै कारण आफ्नो परिवारको सदस्य गुमाएकी अस्पतालकी नर्सिङ इञ्चार्ज शिला शर्माका एक आफन्त आईसीयूमा उपचाररत छन् । अस्पतालमा बेडको जोहो गरेर क्षमताभन्दा बढी संक्रमितलाई उपचार दिइरहेको उनी बताउँछिन् । उनका अनुसार त्यहाँ भर्ना भएका सबै बिरामी एकदमै क्रिटिकल अवस्थाका छन् । तर अन्यलाई अक्सिजन मात्रै दिन सकिए तापनि ५० जनालाई आईसीयू लेभलको केयर दिन सकिएको छ ।

जनशक्तिको अभावका कारण काम गर्न सकस भएको बताउने उनी भन्छिन्, ‘एक जना नर्सले २५ जना क्रिटिकल बिरामी हेर्नुपर्ने अवस्था छ, त्यही कारण हामीले राम्रो सेवा दिन सकेका छैनौं ।’जनशक्ति अभावकै कारण उपचारको क्रममा बिरामी कुरुवालाई सन्तुष्ट पार्न नसकेको उनी बताउँछिन् । राज्यले नर्स, पारामेडिक्स, एनेस्थेसियाको जनशक्ति र हेल्थ एसिस्टेन्टहरू थप गरिदिए काम गर्न सजिलो हुने उनको भनाइ छ ।

त्यसैगरी बेडको अभावले गर्दा बिरामीसँग डिल गर्न गाह्रो भएको अनुभव उनको छ । ‘ल्याइएका सबै बिरामी गम्भीर छन्, अक्सिजन दिनुपर्ने अवस्था छ । तर बेड खाली छैन, हामी केही गर्न नसकेर लाचार छौं’, उनी लामो सुस्केरा फेर्दै बोल्छिन् ।भेरी अस्पतालमा शनिबार साँझ पाँच घण्टा बस्दा संक्रमितको बेहाल र अस्पताल कर्मचारीको बाध्यताको दृश्य जताततै देखियो । यति ठूलो महामारी एउटा अस्पतालको पूर्वाधार र जनशक्तिले धान्न नसक्ने प्रष्ट छ । त्यहाँका चिकित्सकहरूको चीत्कार छ, ‘लौन सरकार हामीलाई सहयोग गर, हामी झन् भयावह अवस्था सामना गर्न नसक्ने भइसकेका छौं !’

३६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया