Monday, October 19

‘गालीको के प्रतिक्रिया दिनु ? तथ्यगत आलोचना पो ग्रहण गर्न सकिन्छ ।’

July 26, 2020 179

सोच्नै नसक्ने कुराहरूमा पनि एकोहोरो गाली आइरहेको हुन्छ । गालीको के प्रतिक्रिया दिनु ? तथ्यगत आलोचना पो ग्रहण गर्न सकिन्छ ।

काठमाडौँ — कुनै समयमा नेपाली सिनेमाका लागि दयाहाङ राई बिल्कुलै ‘आउटसाइडर’ थिए । ‘लुट’ पछि चम्किएका यी अभिनेता फिल्म संख्या र सफलताका आधारमा अहिले नेपाली सिनेमाको मूलधारमा छन् । फिल्म निर्माणमा पनि संलग्न छन् ।

समाजका विविध आयाम र विकास क्रमबारे जानकार रहन्छन् । सीमान्तकृतको पक्षमा आवाज उठाउँछन् । कोरोना महाव्याधिमा राज्यको भूमिका, नेपाली सिनेवृत्तका विवाद र उनका व्यक्तिगत भोगाइको सेरोफेरोमा गोकर्ण गौतमले गरेको कुराकानी :

लकडाउन कसरी बित्यो ?

सुरुवातमा निकै आत्तिएँ, परिवारसँग बस्नेबाहेक केही गरिनँ । अलि दिनपछि भने मन परेका फिल्म दोहोर्‍याउन थालें, छुटेका केही फिल्म हेरें । पहिले र अहिले फिल्मलाई ग्रहण गर्ने तरिका फरक पाएँ । आफूले आफूलाई महसुस गर्न पाइयो ।

कोरोना महामारीमा सरकारको भूमिका कसरी हेर्नुहुन्छ ?

चीनबाट नेपाली ल्याएपछि सरकारप्रति आशावादी थिएँ, नागरिकप्रति गम्भीर रहेछ भन्ने लाग्यो । तर त्यसपछिको घटनाक्रमले उज्यालो हुन नपाउँदै अँध्यारो भएझैं भयो । भ्रष्टाचारका घटना बाहिरिए, गुणस्तररहित मेडिकल सामग्री ल्याइयो । जसरी सिनेमामा गज्जबको फिक्सन सिर्जना गरेर दर्शकलाई रनभुल्ल पारिन्छ, त्यसैगरी सरकारले फिक्सन सिर्जेर आमनागरिकलाई ठूलो भ्रममा राख्ने राजनीति गर्‍यो । भ्रष्टाचारलाई छोप्न अनेक हत्कण्डा ल्याइयो । राष्ट्रवाद प्रयोग गरियो । जबकि आफूलाई प्रमाणित गर्ने उत्तम अवसर थियो सरकारसँग । तर ठ्याक्कै उल्टो भयो, महामारीलाई झोला भर्ने मौकाका रूपमा प्रयोग गरिएको प्रस्ट देखियो । १० वर्षपछि हाम्रो प्रधानमन्त्री को होलान् भन्ने चिन्ताले घरी–घरी सताउँछ ।

राज्य त चुक्यो नै तर समाजका अन्य तप्का जस्तै सिनेमाका सेलिब्रेटीले महामारी दौरान जिम्मेवारीबोध नगरेको गुनासो सुनियो नि ?

व्यक्तिगत हिसाबले धेरै साथीहरूले केही न केही गर्नुभयो । आर्थिक सहयोग पनि भयो । तर हामी कलाकार मात्रै अगाडि बढ्ने कि सरकारसँग समन्वय गर्ने भन्ने हुँदोरहेछ । हो, त्यो समन्वय हुन सकेन । भूकम्प दौरान सेलिब्रेटी आफैं अग्रसर हुँदा लोकप्रियता वा निहित स्वार्थका लागि पो हो कि भनेर शंकाको दृष्टिले हेरिएको थियो । त्यसैले यसपालि कतिपय कलाकार सजग भए । सरकारले बोली बिक्ने वा सामाजिक सेवामा तल्लीन कलाकारलाई जिम्मेवारी दिएको भए प्रभावकारी हुन्थ्यो ।

हाम्रा कलाकारको समाजचेत कत्तिको छ ?

समाज र हामी निकै छुटिसकेका छौं । समाज धेरै बुझेको छौं भन्ने भ्रम मात्र हुन्छ । माथि–माथि उडिरहेका हुन्छौं । समाजको भित्री तहमा पस्नै सकेका छैनौं ।

लकडाउनकै बेला एकपछि अर्को विवाद जन्मियो । यसले फिल्मकर्मीको छवि निर्माणमा कस्तो असर पर्ला ?

जति विषय उठे, बहस र छलफल हुनु जरुरी थियो । तर, लकडाउनमा हामी घरभित्रै थियौं, बाहिरको दुनियाँ नियाल्न सकेनौं । सामाजिक सञ्जालको अधिक प्रयोग गरियो । बढी प्रतिक्रियात्मक भइयो होला । जब लोकप्रिय हुन्छौं, कहिलेकाहीं मेरो लोकप्रियता घट्यो कि भन्ने चिन्ता हुँदोरहेछ । फेसबुकतिर आउने प्रशंसाबाट हामी उचालिँदो रहेछौं, मानवीय स्वभाव होला । तर, आफ्नोभन्दा फरक टिप्पणी आउनेबित्तिकै आतिन्छौं । त्यसलाई सम्हाल्न खोज्दा झन् धेरै बिग्रदै जाँदोरहेछ । कि बोल्नै भएन, बोलेपछि सहमत/असहमतलाई स्विकार्नु पर्‍यो । जानेर/नजानेर हामीले गलत गरिरहेका छौं । कलाकारले सामाजिक सञ्जालमा पोस्ट गर्ने कन्टेन्ट र शैली केही अस्वस्थकर पो छ कि, ख्याल गर्नुपर्ने भएको छ ।

तस्बिरहरु : अंगद ढकाल

कलाकारमा समाजले सम्मान गरेन, बुझेन भन्ने गुनासो छ । यस्ता गतिविधिले झन् नकारात्मक माहोल सिर्जना गर्दैन र ?

समाजले हामीलाई बुझेन भन्ने कुरा म मान्दै मान्दिनँ । बरु सिनेमाका मात्र होइन, हरेक क्षेत्रका सेलिब्रेटीले समाजको चेतना बुझ्न सकेका छैनौं । तर आफ्नो दम्भ राखेर समाजले बुझेन भन्छौं ।

त्यसो हो भने खासगरी महिला कलाकारको सवालमा किन सामाजिक सञ्जालमा व्यापक गाली आउँछ ?

यसले चाहिँ समाजको चेतनास्तर देखाउँछ, हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं तर हाम्रो चेतनाको तह प्रगतिशील हुन सकेको छैन, अझै ‘राजा आऊ, देश बचाऊ’ भनिरहेका हुन्छौं । छिटो फड्को मार्दा ‘ग्याप’ भएझैं लाग्छ । समाज र राजनीतिलाई सही ढंगले बुझ्न सकेनौं । फरक सोचको अस्तित्व स्विकार्न सक्दैनौं । महिलालाई त हाम्रो चेतनाले एउटा वस्तुभन्दा माथि लान सकेको छैन, वस्तुबाट त हरेक कोणबाट मज्जा लिने हो । यही कारण महिलामाथि ज्यादा आक्रमण भइरहेको हुन्छ, सिनेमा ‘शो बिज’ भएकाले झन् धेरै हुने रहेछ ।

तर यही आफ्नै सहकर्मीहरूमाथि ‘बुलिङ’ भइरहँदा खासगरी पुरुष कलाकारहरू किन बोल्दैनन् ? तपाईं किन बोल्नुहुन्न ?

मेरो क्षेत्रको मात्र नभई समग्र महिला, जात, रंगको विभेदमाथि बोलेको छु । कुनै समाचार वा आर्टिकल सेयर गरेको छु, बहस गरेको छु ।

तैपनि आफ्नो लोकप्रियता गुम्ने भयले चित्त नबुझेको विषयमा पनि प्रस्ट बोल्न सकिन्न हो ?

हो । सोच्नै नसक्ने कुराहरूमा पनि एकोहोरो गाली आइरहेको हुन्छ । गालीको के प्रतिक्रिया दिनु ? तथ्यगत आलोचना पो ग्रहण गर्न सकिन्छ । सँगसँगै म के पनि स्विकार्छु भने लोकप्रिय भएपछि सुरक्षित अवतरण खोजिँदोरहेछ ।

नेपाली सिनेमामा नातावाद छ ?

कहीं न कहीं छ । राजनीतिमै भएपछि समाजका हरेक क्षेत्रमा जस्तै सिनेमामा पनि हुन्छ । तर कुनै समय मैले ‘अभिनेता बन्छु’ भन्दा ‘अभिनेता बन्ने कोसिस नगर’ भन्थे । यो पनि विभेद हो । तर बलिउडमा जति हामीकहाँ नातावाद छैन ।

हिजो ‘आइटसाइडर’ हुनुहुन्थ्यो, अहिले नेपाली सिनेमाको मूलधारमा हुनुहुन्छ । तपाईंमाथि पनि ‘ग्रुपिज्म’ गरेको आरोप छ नि ?

यो आरोपलाई बहसका लागि स्विकार्छु । मसँग मण्डला थिएटर र सिनेमा आर्टस् छ । यी दुई संस्था हामीभित्रको थोरै आक्रोश, थोरै विद्रोहले एकै समयमा जन्मिए । हामीले चित्तमा लागेको काम गर्दै गयौं । बिस्तारै मण्डलाका अभिनेताहरू स्थापित हुन थाले, सिनेमा आर्टस्ले बनाएका फिल्महरू सफल भए । यति हुँदा हुँदै ‘ग्रुपिज्म’ को बहस नहुँदो हो त हामी सचेत हुँदैन्थ्यौं होला । तर हाम्रो हकमा टिम निर्माण भएको हो, ग्रुप होइन । कसैलाई च्याप्ने वा कसैलाई बहिष्कार गर्ने नियत छैन ।

तपाईंलाई जनजाति समुदायले पनि च्यापेको भन्छन् । हङकङ, सिंगापुर, बेलायततिर डिमान्ड धेरै हुने भएकाले फिल्ममा लिइने आरोप छ नि ?

त्यसो हो भने, मलाई खुसी लाग्छ किनभने ती देशहरू पनि हाम्रो बजार हो । जनजाति समुदायले आफ्नो अनुहार, कथा र पीडा देख्ने भएकाले नै माया गर्ने हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अन्य समुदायबाट पनि अगाडि आउनुपर्छ । खासगरी मधेसका अनुहार, भावना र कथाहरू धेरै आउनुपर्छ ।

कलाकारले कम पारिश्रमिकमा अभिनय गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ । तपाईं घटाउने पक्षमा हुनुहुन्छ ?

नढाँटी भन्दा कमाउनकै लागि बनाउने सिनेमामा बढी पारिश्रमिक लिने गर्छु, मैले पनि कमाउनुपर्‍यो भनेर । पारिश्रमिक निर्माताको नियतमा भर पर्छ । पात्र, विषय मन पर्दा सहकार्य गरेको छु । आगामी दिनमा पनि त्यस्तै हुन्छ ।

तपाईंको चाहिँ कति पारिश्रमिक उठ्न बाँकी छ ?

थुप्रै बाँकी छ । प्राविधिक र सहायक कलाकारसमेत पैसा पाएका हुँदैनन् । मैले सुरुवातमा खेलेका फिल्महरूबाट पनि पारिश्रमिक लिन बाँकी छ । निर्माताले लागेको पारिश्रमिक दिने हो । मेरो रेट तोक्ने होइन । श्रमको पैसा लिने हो । तर यहाँ बिकाउको पछाडि लागिन्छ ।

तपाईंका लागि महानायक को हो ?

यो अनौठो प्रश्न हो के । (केहीबेर सोचेर…) चलचित्रको कथाभित्रको प्रभावकारी पात्र त्यसको नायक हो । पर्दाबाहिर त अभिनय गर्ने अभिनेता मात्र हो । योचाहिँ ‘लुट’ पछि करिब स्थापित भएको छ । त्यसैले पहिले नायककै परिभाषा खोज्नुपर्छ । जसले जति योगदान दिनुभयो, उहाँहरूको कदर गर्ने नामहरू महा, उप हुँदै आए होला । यो चिज राख्नु नै सही थियो/थिएन ? तर दर्शकबाटै प्रेमका साथ आएको छ भने राम्रो हो । म यति मात्र भन्छु, जसरी हामी अभिनेतालाई नै नायकको परिभााषाभित्र अटाइएको छ, त्यो गलत हो ।

उस्तै र धेरै फिल्म खेलेकाले कतिपयले तपाईंलाई राजेश हमालकै पुनरावृत्ति भन्न थालेका छन् । तपाईंलाई पनि त्यस्तै लाग्छ ?

लाग्छ । उहाँको पारिवारिक पृष्ठभूमि, बौद्धिकता, व्यक्तित्वको हामी प्रशसंक हौं । लामो समय काम गरिरहनुभयो । यति हुँदाहुँदै सिनेमा मेकिङलाई लिड गरेर लानुहुन्थ्यो भन्ने धेरैको अपेक्षा पूरा भएन । मैले पनि सिनेमामा एक खालको सफलता पाएँ, त्यसमै रमाइरहे । अझैं रमाइरहेको छु । घरीघरी सुधार्ने मौका पाउँछु, प्रयास गर्छु । कति सफल भएँ, कति असफल । मप्रतिको अपेक्षा पूरा नभएकाले त्यो आरोप आउनु स्वाभाविक हो । तर, बाँकी कुनै हिसाबले मलाई उहाँ (राजेश हमाल) सँग तुलना गर्न मिल्दैन ।

‘लुट’ पछि नेपाली सिनेमामा ‘न्यु वेभ’ आयो भनियो तर तपाईंसँगै सौगात मल्ल, निश्चल बस्नेतले त्यही अनुपातको स्तरीय कामलाई निरन्तरता दिन सक्नुभएन । त्यसैले नयाँ धार नै संकटमा परेको देखिन्छ । यो अपजसको भार कतिको बोक्नुहुन्छ ?

जस/अपजस पाउने ‘फ्रन्ट फेस’ मा अभिनेता हुन्छ तर अलि गहिरिएर हेर्‍यो भने निर्देशक हो । म निर्माता पनि भएँ तर अहिलेसम्म त्यस्तो फिल्म बनाउन सकेको छैन, जुन मैले बनाउनुपर्ने थियो । हामी आएपछि कति मात्र फरक भयो भने हामीले चरित्र निर्माण गर्‍यौं, चरित्रमा विविधता खोज्यौं । कथा, भावना, मुद्दा खोज्नेक्रम जारी छ । अहिल्यै निराश हुनुपर्ने अवस्था छैन ।

तपाईंलाई काम गर्न मन लागेका निर्देशकहरू को–को छन् ?

दीपक रौनियार, मीन भाम, रामबाबु गुरुङ, निश्चल बस्नेतसँग दोहोर्‍याइ–दोहोर्‍याइ सहकार्य गर्न चाहन्छु । पछिल्लो पूजा गुरुङ र विभूषण बस्नेतले पनि राम्रो गर्न खोजिरहेका छन् ।

समकालीनमध्ये तपाईं कसको फ्यान हो ?

सौगात मल्ल । भलै उसले गरेका सबै कामहरू फेल भए होलान् तर व्यक्तिगत रूपमा उसले लगाएको ‘इफोर्ट’ कसैले धान्न सक्दैन । सौगात पटकथा चयनमा चुकेको होला तर उसलाई हामीले सही ढंगले निर्देशन गर्न नसकेको पनि सत्य हो ।

अभिनेता दयाहाङ राईका सबैभन्दा सबल र दुर्बल पक्ष के हुन् ?

राम्रोचाहिँ म सकेसम्म सबैतिर सचेत भएर अगाडि बढ्न खोज्छु । तर म कथा मन नपर्दा–नपर्दै पनि निर्देशकका अरू कुराले भावनामा बगेर छिट्टै ‘कन्भिन्स्ड’ भइदिन्छु । यो बानी सबैभन्दा झुर लाग्छ ।

तपाईंलाई आफू कति लोकप्रिय छु जस्तो लाग्छ ?

जब मान्छेको भीडमा पुग्छु, सारा मान्छे मेरो नाम सुन्नासाथ, देख्नासाथ ताली पिटिरहेका हुन्छन्, त्यो बेला लोकप्रिय छु जस्तो लाग्छ । एकैछिनमा त्यही भीडबाट कसैले सोधिदिन्छ, ‘तपाईंको नाम के हो ?’ त्यसबेला आफ्नो औकात थाहा पाइन्छ । हालैको एउटा घटना भन्छु । म बस्ने पुरानो बानेश्वरको टोलका साथीभाइसँग दुई महिना ब्याडमिन्टन खेलें । खेल्नेमध्ये एक जना दाइ र मेरो घर नजिकै छ । उहाँले मलाई जहिल्यै स्कुटरमा कोर्टसम्म लैजानुहुन्थ्यो । डेढ महिनापछि उहाँले सोध्नुभयो, ‘भाइ, के गर्छौ हाउ ?’

Source Kantipur post

प्रतिकृया दिनुहोस्