Monday, January 18

प्रहरी प्रधान कार्यालयको सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दारलाई कोरोना संक्रमण

July 26, 2020 133

काठमाडौँ —प्रहरी प्रधान कार्यालयको सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दारलाई कोरोना संक्रमण पुष्टि भएको छ । तर, प्रहरी मुख्यालयले यसबारे आधिकारिक सूचना सार्वजनिक गरिसकेको छैन । हवल्दारमा कोरोना पुष्टि भएपछि उनी बस्ने ब्यारेकका १६–१७ जना प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब नमुना लिएर आइसोलेसनमा राखिएको छ ।

स्रोतका अनुसार मुख्यालयभित्रै रहेको सञ्चार निर्देशनालयमा कार्यरत तीन जनालाई पनि संक्रमणको आशंका गरिएको छ । उनीहरुमा ज्वरोसहितका लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । प्रयोगशालाबाट पीसीआर रिपोर्ट आए पनि ३ जनाको नतिजा प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरु तीन जनामध्ये एक प्रहरी मेसमा सहयोगीका रुपमा काम गर्थे भने २ प्रहरी मेसका लागि आवश्यक सामग्री ल्याउने काम गर्थे ।

प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले मुख्यालयभित्र देखिएको संक्रमणबारे आधिकारिक रुपमा स्वास्थ्य मन्त्रालयले बताउने भएकाले आफूहरुले बताउन नमिल्ने जनाए । उनले हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित रहेको र उनीहरुको सम्पर्कमा आएका सबैजसोलाई आइसोलेसनमा राखिएको बताए ।

कान्तिपुरको सम्पर्कमा आएका प्रहरी स्राेतका अनुसार केही उच्च प्रहरी अधिकारीहरुका चालक प्रहरी जवानलाई पनि कोरोना संक्रमणको आशंका गरिएकाे छ । प्रवक्ता डीआईजी शाहीले मुख्यालयभित्र प्रवेश गर्नेमाथि सुरुदेखि नै कडाइ गरिएको र केही दिनयता त्यहाँभित्र कार्यरत केहीलाई त्यहीँ बस्ने व्यवस्था गरिएको बताए ।

Source kantipur post

प्रतिकृया दिनुहोस्