मंगलबार १२ आश्विन २०७८

काठमाडौं । कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन् ।

अस्पतालमा आवश्यकता अनुसार हाइडिपेन्डेन्सी बेड र अक्सिजन ट्यांक थप्ने तथा जनशक्तिलाई तालिम दिने काम भइरहेको स्वास्थ्य सेवा विभाग उपचारात्मक शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले बताए । हाल स्टक रहेको अक्सिजनले दुई महिनामात्रै धान्ने अवस्था छ भने संक्रमणदर बढेपछि चार महिनासम्मलाई पुग्नेगरी खरिद गर्ने तयारी भइरहेको छ ।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अक्सिजन उत्पादक कम्पनीसँग छलफल गरेका छन् । कम्पनीले सरकारको लक्ष्य अनुसार अक्सिजन उत्पादन गर्न सक्ने जानकारी गराएका छन् । पर्याप्त अक्सिजनका लागि थप २ हजार सिलिन्डर किन्ने तयारी भएको डा. बुढाथोकीले बताए । व्यवसायीले आफैं किनेमा सरकारले कर छुट दिने अथवा सरकारले किनेर व्यवसायीलाई दिने सम्झौता भएको छ ।

सरकारले ३ सय नर्स, २ सय चिकित्सक र ५ सय स्वास्थ्यकर्मीलाई कोभिड उपचारका लागि भर्चुअल तालिम दिइरहेको छ । यस्तै गत वर्ष घोषणा भएका आइसोलेसन सेन्टरहरू आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुर, मनमोहन अस्पताल, दुवाकोट आइसोलेसन सेन्टर र खरिपाटी केन्द्रलाई पुनः तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

हाल उपत्यकाका कोभिड अस्पतालमा सरकारले घोषणा गरे अनुसार ५० प्रतिशत बेड कोभिडको उपचारका लागि मात्र प्रयोग भइनसकेको र सामान्य लक्षण भएका बिरामीलाई पनि अस्पताल भर्ना गरेका कारण बेड अभाव देखिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए । नागरिकमा खबर छ ।

news18nepal

२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया