आइतबार ३१ आश्विन २०७८

उहाँ (केपी ओली) ले फोन गर्नुभयो, भेटौँ भन्नुभयो । बालुवाटारमा आउनोस् भन्नुभयो, म जान्नँ भनेँ । अनि उहाँले निजी निवास बालकोट आउनोस् भन्नुभो, मैले जान्नँ भनेँ । त्यसपछि मैले तुलसीलाल प्रतिष्ठानमा आउनोस् भनेँ । त्यहाँ त नगरौँ भन्नुभो । त्यसोभए होटल एभेरेष्टमा आउनोस् भनेपछि हैन, मेरियट होटलमा गरौँ भनेपछि ल ठीक छ भनेँ ।

मकहाँ (बालुवाटार) आउनुहुँदैन ? भनेपछि मैले भनेँ, हेर्नोस् कूटनीतिले के भन्छ ? तपाईं त परराष्ट्रमन्त्री भइसकेको मान्छे हो । अनि उहाँले भन्नुभो, तपाईं पनि त मभन्दा सिनियर परराष्ट्र मन्त्री । मैले भनेँ हो, म पहिल्यै नेकपा एमालेबाट परराष्ट्रमन्त्री भएको हो । परराष्ट्रसम्बन्धी मलाई राम्रो ज्ञान पनि छ र अनुभव पनि छ । त्यसले के भन्छ ? द्वन्द्व व्यवस्थापन गर्नुपर्‍यो भने दुईवटैलाई उपयुक्त ठाउँको व्यवस्था गर्नुपर्छ । जनतामा के प्रभाव पर्छ भन्ने कुरा सोच्नुपर्छ । म अहिले बालुवाटार गएँ भने माधव नेपाल लुरुलुरु बालुवाटार गयो भन्ने पर्छ । हुँदैन । त्यसो हुनाले यो सबैको मन मिल्दाखेरिको कुरा हो । मन चङ्गा तो कठौती में गङ्गा ! मनै चङ्गा छैन भने के हुन्छ ?

त्यसो हुनाले मैले यो हुनेवाला छैन भनेपछि (मेरियट होटलमा) बसियो । मैले अरु नेतालाई बोलाउँछु भन्दाखेरि उहाँले हुँदैन, तपाई एक्लै आउनोस् भन्नुभयो । सबै स्थायी कमिटीका साथीहरुले भन्नुभयो, जानोस् । एक्लै जानोस्, केही फरक पर्दैन कमरेड भन्नुभो ।

एक्लै जाँदाखेरि कुरा एउटा होला, प्रचार अर्को भइदेला फेरि । माधव नेपालले टाइम मागेर रोइरहेको थियो भन्दिए भने के गर्नु ? पदका निम्ति भिक्षा र याचना गर्दैथिए भन्दिए भने के गर्नु मैले ? हैन, हैन, केही फरक पर्दैन हामीले सप्पै बुझिसकेका छौं भनिसकेपछि म गएँ ।

बसिसकेपछि अस्तिको दिन भएको भेटमा अलिकति….

मैले त भनेको थिएँ, यो बालुवा पेलेर तेल निक्लिनेवाला छैन । बालुवाटारको बालुमा तेल छँदैछैन भन्याथेँ। मैले वामदेव कामरेडलाई धेरैचोटि भन्ने गर्‍या छु, बालुवा पेलेर तेल निक्लिनेवाला छैन । केपी ओली सुध्रिनेवाला होइनन् । हैन, अझै पनि कोसिस गरौँ न । ल ठीक छ कोसिस गरौँ।

म गएँ, कुराकानीहरू भए । कुराकानी भइसकेपछि अलिकता मलाई आशा चाहिँ जाग्याथ्यो ।

मैले भनेँ, तपाईंको अध्यक्ष पनि खोस्न खोजेको होइन । प्रधानमन्त्री पनि हट्नोस् भनेको पनि छैन अहिले हामीले । बस्नुस् प्रधानमन्त्री । तर, पार्टीलाई सिस्टमका आधारमा चलाउनोस् । यो पद–सद चाहिएन । माधव नेपाललाई पद चाहिएको छैन । तर्सिनु पर्दैन । बहुमत पुर्‍याएर माधव नेपाल प्रधानमन्त्री भएर निकाल्दिन्छ कि भनेर डराउनुपर्दैन भनेर मैले भनेँ । त्यसोभए केही उपाय छ त ? भनेर भन्नुभयो ।

ल म उपाय खोज्छु, तपाईंको सरकारलाई स्थायित्व दिन म भूमिका खेल्न तयार छु….। आशा जाग्याथ्यो मिल्छ कि क्या हो भनेर ।

फेरि हिजो बस्नुभन्दा पहिले बिहान उहाँको एकदम प्रवचन सुनियो । भाषण प्रवचन । पार्टी स्थापना दिवसको उपलक्षमा उहाँले धुरन्धर गाली गरेर यिनीहरु…..यिनीहरुलाई तह लगाइदिन्छु, के ठान्या छ भनेर बल्खुमा गएर भाषण ठोक्नुभएछ उहाँले । लक्षणैबाट देखिइसक्यो बिहानदेखि नै उहाँको हुर्मत लिने सोच रहेछ । माधव नेपालको हुर्मत उहाँले लिन सक्ने ?

अनि त्यसपछि बस्दाखेरि उहाँले आफ्नो चरित्र देखाउनुभयो । मैले भनेँ कि अब जेठ २ गतेमा फर्कौं कमरेड । पार्टीलाई एकताबद्ध बनाऔँ । मिलेर जाऔँ । क–कसलाई थप्नुपर्छ, त्यही ठाउँमा छलफल गरौँ। त्यहीँ बसेर छलफल गरौँ। केही फरक पर्दैन । के भो र, रामबहादुर थापा थपिएर पनि केही फरक पर्दैन । हामी पनि दुईअति सुन्दर, कहाँबाट लिनुभएको हो तस्बिर दाजु ? चारजना मान्छे थपिदिउँला भनेर मैले भनें ।

उहाँले भन्नुभयो– हुँदैन, जे निर्णय भएको छ, तपाईहरु किन आउनुभएन ?

मैले भनें, तपाईले बोलाउनुभो कसैलाई ?

उहाँले भन्नुभयो, बोलाएको हो, तपाईहरुको मोबाइल बिग्रेको थियो ?

यस्तो पनि हुन्छ ? सबैको मोबाइल बिग्रिन्छ ? सप्पैको मोबाइल ! हामी ९०/९५ जनाको मोबाइल बिग्रेको रहेछ ! एनटीसीले बिगार्दिएको होला । यस्तो जाली कुरा गरेर…. ।

सात बजे उहाँले टेलिभिजनबाट आह्वान गर्नुभो आउनोस् भनेर । हामी जान्छौं लतारिएर ? हुँदैन । त्यो निर्णय फिर्ता लिनोस् अनि बल्ल हुन्छ । भनिसकेपछि त्यहाँ फेरि कुरा आयो, जिल्ला अध्यक्षहरु, जो पहिल्यै अधिवेशनबाट जितेर आएका छन्, ती अध्यक्षलाई तपाईले निकाल्नुभयो । आरोप के छ भने, माधव नेपालको पक्षमा भएको हुनाले । महाधिवेशनमा माधव नेपाललाई भोट दिएको हुनाले । तपाईले हटाउन मिल्छ ? एकीकृत पार्टीको पनि तपाई अध्यक्ष, अहिले एमालेको पनि अध्यक्ष । अनि अहिले तपाईले हटाउन मिल्छ ?

उहाँले भन्नुभयो, मिल्छ । त्यसले राम्रो भूमिका खेलेन, हटाइदिएँ । अनि तपाईले हटाइदिएँ भन्दा मानेर हामी जान सक्छौं ? मनु सिग्देल, टोपबहादुर वाइबा, गोविन्द न्यौपाने, यी सबै माधव नेपाल नजिकका अध्यक्षहरू हुन् । प्रमोद यादव, यी सबलाई तपाई हटाइदिने एकलौटीरुपमा ? कुन विधानबाट ? कुन तरिकाबाट ?

उहाँले भन्नुभयो, हैन, उनीहरुले भूमिका खेलेनन्, राम्रो भएन, चेञ्ज गर्दिएँ ।

त्यो भएको भए तपाईलाई घाटा हुन्थ्यो । केपीजी तपाई घाटा सहन तयार हुनुहुन्छ ? के फरक पर्छ ? पार्टी एकता हुँदाको अध्यक्ष तपाई, मैले त अध्यक्ष छाडिदिएँ । म अध्यक्ष भएको होइन ? भनेपछि कुरा के हो भने पार्टी एकताका निम्ति उहाँ हिजो शुरुवातमा रहनुभएन । र, के बुझियो भने केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न ।

एउटा भनाइ छ– खाए खा, नखाए घिच् । माने मान् नमाने बाटो खुल्ला छ जा ! यो ढंगको अहंकार । दम्भ । त्यो रहेछ ।

अनि तपाई‌ंले अर्को समाचार पनि सुन्नुभएको छ हिजो राति वामदेव कमरेडसहितको डिनर मिटिङ भयो बालुवाटारमा । आज बिहान वामदेव कमरेडले फोन गर्नुभयो र मलाई म्यासेज पठाउनुभयो, हिजो् राति ८ बजे बालुवाटारमा मलाई डिनरका लागि बोलाएका थिए । म पनि अन्तिम कोसिस गरौँ न त भनेर त्यहाँ गएँ । मैले भनेँ कि यो पार्टी मिलाउने कुरामा तपाईंले भूमिका खेल्नुहोस् । फागुन २८ गतेको निर्णय फिर्ता लिनोस् भनेर मैले भनेँ। फिर्ता लिन्न भनेपछि डिनरै नखाएर म त्यहाँबाट हिँडें भनेर उहाँले मेरो मोबाइलमा म्यासेज पठाउनुभो । अनि फोनमा भन्नुभयो यो केपी ओली दम्भी छ । आज तपाईं र म बसेर निर्णय गर्नुपर्‍यो । छलफल गर्नुपर्‍यो । यसले पार्टी सिध्याउने भो । आन्दोलन समाप्त गर्ने भए भनेर उहाँले भन्नुभयो । त्यसो हुनाले वामदेव कमरेडका बारेमा पनि भ्रम नरहोस् ।

उहाँले २७ जना मान्छेमाथि फेरि कारवाहीको नयाँ प्रक्रिया । पहिले हामी चारजनालाई कारवाही गर्नुभो । छ महिनाका निम्ति सस्पेन्ड ! केपी ओलीले माधव नेपाललाई सस्पेन्ड गर्ने । २०३१ सालमा कोअर्डिनेसन सुरु गर्ने नेता म माधव नेपाल । २०३२ सालमा कोको बनाउने नेता, पोलिटब्युरो माधव नेपाल । ०३५ सालमा नेकपा एमाले बनाउने माधव नेपाल । यही धनुषामा ३०३५ सालको साउन महिनामा सम्मेलन गरेर निर्णय गर्ने, भूमिका खेल्नेमध्ये एउटा सीपी मैनाली, अर्को म हो । सीपी मैनाली अहिले हाम्रो पार्टीमा हुनुहुन्न । त्यो व्यक्तिलाई पार्टीबाट निकाल्ने !

हिजो पनि भन्नुभो, अब तपाईंको त्यो छ महिनाको कारबाहीको बारेमा विचार गर्न सकिन्छ….।

मैले भनेँ, तपाईंले मलाई पार्टीबाट निकाल्ने ? यो माधव नेपालले आन्दोलन र सङ्गठन दुईवटै सञ्चालन गर्नेकाम आजसम्म गर्दै आएको छ, कसैले निकालेर निक्लिनेवाला छैन । आन्दोलनबाट भाग्नेवाला मान्छे होइन माधव नेपाल । संगठन छोडेर हिँड्नेवाला छैन भनेर मैले भनें ।

त्यसपछि के देखियो भने केपी ओलीको दम्भ अहिले धरहराभन्दा माथि भर्‍याङ उक्लेर चढेर बसेको छ । हिजो धरहरा हेर्दैहुनुहुन्थ्यो उहाँ । धरहरा हेरेर उहाँले दम्भ देखाइरहनुभएको थियो । त्यो दम्भको कुनै अर्थ छैन ।

हामी आन्दोलन छाड्दैनौँ । पार्टी छोड्दैनौँ । लोकतन्त्र छोड्दैनौँ । सङ्घीयता त्याग्दैनौँ । यो संविधानको मर्म र भावनाअनुसार देशलाई जनतालाई अगाडि बढाउने बाटोमा, समाजलाई परिवर्तन गर्ने बाटोमा लाग्छौँ । एउटा व्यक्तिको मुख हेरेर हामी आन्दोलनमा जुटेका छैनौँ । हामी जनतालाई हेरिरहेका छौँ । नेपाल राष्ट्रलाई हेरिरहेका छौँ । हामी नेपाली भएको हुनाले नेपाली स्वाभिमानलाई, नेपाली जनताको समस्या समाधान गर्नका लागि सही विचारलाई हेरिरहेका छौँ ।

(शुक्रबार जनकपुरमा बरिष्ठ नेता नेपालले दिएको अभिव्यक्तिको सम्पादित अंश)

pathivaranews

८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया