बुधबार ०८ बैशाख २०७८

चितवन — अजंगको जनावर हात्तीको स्याहार गर्नु सजिलो छैन । बेला–बेला विभिन्न औषधि खुवाउनुपर्छ । मानिसको जस्तै समय–समयमा नङ पनि काटिदिनुपर्छ । यसका लागि मिहिनेत, ज्ञान र अनुभवको खाँचो पर्छ ।

पशु स्वास्थ्य प्राविधिक किरण रिजाल सोमबार खोरसोरको हात्ती प्रजनन् केन्द्रमा हात्तीको नङ काट्दै

घाँस खोज्न र चर्न बिहानै जंगल छिरेका हात्तीहरू साँझ फर्केपछि उनीहरूको नियमित स्वास्थ्य परीक्षण र स्याहार अघि बढ्छ । हात्तीलाई प्रायः ६/६ महिना अन्तरमा जुकाविरुद्धको औषधि, त्यो पनि एकै पटक १८ वटासम्म चक्की (ट्याब्लेट) खुवाउनुपर्छ । जसको मात्रा हात्तीको उमेर र तौलअनुसार निर्धारण गरिन्छ । नियमित आहारमा नपर्ने भएकाले हात्तीले औषधि अस्वीकार गर्न सक्ने खतरा पनि उत्तिकै हुन्छ । भेली हात्तीको प्रिय खान्की हो । यस्ता औषधि खुवाउन भेलीकै प्रयोग हुन्छ । भेलीको डल्लोभित्र ट्याब्लेट राखेर दिँदा हात्तीले सहजै खाने गर्छ ।

‘हात्ती त निकै बाठो जनावर हो । त्यसैले औषधि राखेको भेलीको डल्लो खुवाउनुअघि बिनाऔषधिको एउटा सानो डल्लो भेली खुवाउँछौं । हात्तीले त्यसैको स्वाद लिइरहेका बेला औषधि भएको अर्को डल्लो पनि तत्कालै दिन्छौं,’ चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठले भने, ‘हात्तीले भेलीमा औषधि मिसिएको पत्तो पाउने बेलासम्म मुखबाट तल गइसक्छ ।’

नङ काटिदिनु पनि हात्तीको प्रमुख स्याहारमा पर्छ । नङ बढ्न थाले खुट्टा घिसारेर हिँड्दा हात्तीको पैतलाको पछिल्लो भाग खिइन थाल्छ । त्यसैले कम्तीमा ६/६ महिनामा नङ काट्नैपर्ने पशु स्वास्थ्य प्राविधिकहरू बताउँछन् । ‘हिँड्दा हात्तीको वजनको भार पैतलाको अघिल्लो भागमा पर्नुपर्छ । तर नङ बढेपछि यसो हुन सक्दैन । पछिल्लो भागमा भार परेर त्यो भाग खिइन थाल्छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु स्वास्थ्य प्राविधिक किरण रिजालले भने, ‘पैतला खिइन थालेपछि छेस्का र ठोसाहरू बिझ्ने, घाउ भएर हिँड्नै नमिल्नेसमेत हुन सक्छ ।’

उनका अनुसार हात्तीको अघिल्ला खुट्टामा पाँच–पाँच र पछिल्लामा चार–चारवटा नङ हुन्छन् । नियमित काटे यसका लागि दुई घण्टाजति लाग्छ । धेरै नै बढेको भए दुई–चार दिनसम्म पनि लाग्न सक्छ । त्यसैले नङ काट्ने काम नियमित हुनुपर्ने रिजाल बताउँछन् । नङ काट्न हात्तीलाई फकाएर सुताउनुपर्छ । माहुते र स्याहारमा खटिने अर्को एक व्यक्तिले मुसार्दै सुताएपछि नङ काट्न पोख्त जोकोहीले खुट्टा समाए पनि हात्तीले खासै प्रतिवाद नगर्ने उनको भनाइ छ । उनका अनुसार धारिलो खुर्पाले नङ ताछ्ने, अर्को सानो औजारले भित्री भागको काँटछाँट गर्ने र अन्तिममा घोटेर सतह मिलाउनुपर्छ । यी सबै काम गर्दा हात्ती आनन्द मानेर सुत्छ । त्यसैले फकाएर सुताएपछि नङ काट्ने काममा ठूलो ज्यान भएको हात्तीले प्रतिरोध गर्ला कि भनेर डर मान्नु भने पर्दैन ।

खोरसोरमा छावाको छुनु र मुनु
कोषमै कार्यरत पशु चिकित्सक डा. अमिर सडौलाका अनुसार नङको समस्या हात्तीको प्रमुख स्वास्थ्य समस्या हो । ‘जंगली हात्ती खुला रूपमा आफ्नो सुरले हिँड्छ । तर घरपालुवा हात्ती मानिसको नियन्त्रणमा हुन्छन् । उनीहरूले हिँडाएको ठाउँमा जानुपर्छ । हात्तीहरू खोलाको गिट्टी, बालुवा, ढुंगा तथा पिच बाटोमा पनि हिँड्नुपर्छ । यसले समस्या ल्याउँछ,’ डा. सडौलाले भने । आफ्नो हिसाबले टेक्न र जंगलीको तुलनामा घरपालुवा हात्ती धेरै हिँड्न पनि नपाउने भएकाले उनीहरूको नङ छिटो बढ्छ । घरपालुवा हात्तीमा देखिने ४० प्रतिशत स्वास्थ्य समस्या नङका कारण उब्जने पशु स्वास्थ्य प्राविधिकहरूको अनुभव छ ।

कोषको सौराहा कार्यालय प्रमुख बाबुराम लामिछानेले जंगली हात्तीको जस्तो स्वभाव घरपालुवामा पनि हुने बताए । तर मानिसको नियन्त्रणमा रहेकाले यस्ता हात्तीको प्राकृतिक क्रियाकलापमा धेरथोर अवरोध पुग्ने उनको भनाइ छ । ‘यस्तो अवरोधले स्वास्थ्यमा पनि असर पर्छ । त्यही भएर बेलाबेलामा परीक्षण र सुधार गर्नुपरेको हो,’ उनले भने ।

हात्तीलाई हुर्काउन र काममा लगाउन ठूलो लगानी हुन्छ । स्वास्थ्यमा ख्याल नराखे हात्ती गुमाउनुपर्ने खतरासमेत रहन्छ । चितवन निकुञ्जका अनुसार यो वर्ष मात्रै विभिन्न कारणले ५ वटा हात्ती मरेका छन् । हात्तीमा क्षयरोगको समस्या पनि अधिक देखिन्छ । पछिल्लो २ वर्षमा यसकै कारण पाँचवटा हात्ती मरेका थिए । नियमित स्वास्थ्य परीक्षण र उचित स्याहारले हात्ती जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. श्रेष्ठले बताए । चितवन निकुञ्जमा अहिले सरकारी संरक्षणमा ५६ वटा र निजी क्षेत्रले ६० वटा हात्ती पालेका छन् ।

आउँदो चैतदेखि चितवन निकुञ्जमा गैंडा गणना हुँदै छ । गैंडा गन्न हात्ती नभई हुँदैन । हात्तीमाथि चढेर जंगल डुल्दै एक–एक गैंडाको विवरण उतार्नुपर्छ । २०/२२ दिन लगातार जंगल हिँड्ने हात्ती स्वस्थ र तन्दुरुस्त हुनुपर्छ । उक्त जाँचका लागि सोमबारदेखि सौराहामा ‘हात्तीको बृहत् स्वास्थ्य शिविर’ सुरु भएको छ ।

१५ दिनसम्म चल्ने शिविरबाट छानिएका स्वस्थ हात्तीलाई मात्र गणनामा खटाइनेछ । ‘यसका लागि हात्तीलाई अहिल्यै जुकाको औषधि दिनेछौं । रगतको नमुना झिकेर शारीरिक अवस्था विश्लेषण गर्नेछौं । नङ पनि काटेर दुरुस्त राख्नेछौं,’ डा. श्रेष्ठले भने । खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रबाट यो अभियान सुरु भएको हो ।

ekantipur

२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया