बिहिबार ११ कार्तिक २०७८

टर्कीमा करीब ३० हजारमा बेचिएकी छोरी र अलपत्र पारिएकी आमाको मन छुने कथा !!

बबिता (नाम परिर्वतन)ले २३ वर्षअगाडि काठमाडौंको नयाँ बसपार्क परिसरमा गार्डेन रेस्टुरेन्ट सञ्चालन गर्दै आएका विकास (नाम परिर्वतन)सँग प्रेम विवाह गरेकी थिइन् ।विकास विवाहित पुरुष थिए । उनकी जेठी श्रीमतीले अर्कैसँग विवाह गरेपछि विकासले बबितालाई भित्र्याएका थिए । जेठी श्रीमतीतर्फबाट विकासकी एक छोरी पनि थिइन् ।विवाहको २३ वर्षको दौरानमा बबिताबाट ३ सन्तान भए । उनीहरूको घरपरिवार राम्रैसँग चलिरहेको थियो । व्यापार राम्रै भएकाले उनीहरूले काठमाडौंको बूढानीलकण्ठमा जग्गा पनि जोडेका थिए ।त्यसपछि काठमाडौं महानगरपालिकाले बसपार्कभित्रका पसलहरू हटाउने क्रममा उनीहरूको रेष्टुरेन्ट पनि हट्यो ।रेष्टुरेन्ट हटेपछि बबिताले बूढानीलकण्ठमा कपडाको फेन्सी पसल चलाउन थालिन् भने विकासले नयाँ बसपार्कमा नयाँ बन्न लागेको भवनमा काम गर्न थाले ।

श्रीमानले जागिर गर्ने र बबिताले फेन्सी पसल चलाउने गर्दा कमाई राम्रै थियो । छोराछोरी पढाइरहेका थिए । तर विकास २०७४ साल भदौ ११ गते स्कूटर दुर्घटनामा परे ।उपचारका क्रममा विकासको मृत्यु भयो । त्यसपछि सबै व्यवहार बबिताको काँधमा आयो ।अलिअलि कमाएको पैसा पनि उपचारमा सकियो । चलाउँदै आएको फेन्सी पसल पनि बेच्नुपर्ने अवस्था आयो । केही महिनामै बबितालाई परिवार चलाउन धौ–धौ भयो ।बबिताकी सौतेनी छोरी सबिता (नाम परिवर्तन)ले पनि आर्थिक अभावका कारण पढाई बीचमै छाड्नुपर्‍यो ।आफन्तसँगै राखेर साना छोराछोरीलाई पढ्ने व्यवस्था मिलाएर बबिता र सबिताले वैदेशिक रोजगारीमा जाने योजना बनाए ।

उनीहरूले विदेश पठाउने कन्सल्टेन्सी र म्यानपावरहरूमा पनि बुझे । त्यही क्रममा सबिताका साथी समेत रहेका अनिल डंगोलले जानुका लामा घिसिङसँग सम्पर्क गराइदिए ।फोन नम्बर पनि दिए । उनीहरूले घिसिङलाई सामाखुशीको एउटा चिया पसलमा लकडाउनभन्दा केही समयअगाडि अर्थात २०७६ फागुन महिनामा भेटेर वैदेशिक रोजगारीमा जान चाहेको बताए ।त्यो समयमा घिसिङले उनीहरूलाई आफ्नो श्रीमान् टर्कीमा काम गर्ने र आफू पनि जान लागेको भन्दै उनीहरूलाई विश्वास दिलाइन् ।‘मेरो श्रीमान टर्कीमा काम गर्नुहुन्छ, म पनि जाने हो, मासिक ९० हजार कमाइ हुन्छ,’ भनेर विश्वास दिलाएको पाइएको मानव बेचबिखन अनुसन्धान ब्यूरोकी प्रमुख प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दुर्गा सिंहले बताइन् ।सिंहका अनुसार घिसिङले पहिला उनीहरूलाई फ्री भिसा र फ्री टिकटको व्यवस्था गरिदिने आश्वासन दिएकी थिइन् ।घिसिङले उनीहरूलाई विश्वासमा लिनका लागि ‘होटलमा सँगै काम गर्ने हो, तिमीहरू मसँगै त्यहीँ गएर तालिम लिनुपर्छ,’ भनेको पीडित बबिताले प्रहरीसँगको बयान उल्लेख गरेकी छन् ।

घिसिङले ५ तारे होटलमा काम पाइएको र त्यसका लागि प्रतिव्यक्ति ५ लाख रुपैयाँ लाग्ने बताइन् । भिसाका लागि भनेर शुरूमा आमाछोरीसँग १/१ लाख मागिन् ।पैसा मागेको एक हप्तापछि म्यानपावर कहाँ छ ? भनेर सोध्दा टर्कीको दूतावास नेपालमा नभएकाले गोंगबुको गुरुदेव मेडिकलबाट काम गर्दै आएको बताइन् र अफिस पनि देखाइन् ।त्यहाँ उनीहरूले मेडिकल टेष्ट पनि गरे । भीएफएसबाट भिसा लगाउनका लागि पैसा अनिवार्य भएको भन्दै १/१ लाख रुपैयाँ नगद उनीहरूले दिए । उनले प्रहरी रिपोर्ट, बैंक खाता खोल्न भनेपछि उनीहरूले त्यो पनि गरे ।बैंक खाता र प्रहरी रिपोर्ट आएपछि भिसा केही समयमा आउँदैछ भन्दै जानुका घिसिङले टर्कीमा रहेका भनिने लक्की सिंह उर्फ किस्मत सिंहसँग ‘इमो’मार्फत सम्पर्क गराइन् ।लक्की सिंहले उनीहरूलाई समय–समयमा भिसाको अपडेट गराइरहन्थे ।लक्कीले उनीहरूलाई ‘भिसा मैले लगाइदिने हो, तपाईंहरूले चिन्ता लिनु पर्दैन, नेपालमा कागजपत्र सबै जानुकाले मिलाउँछ,’ भन्दै आएको प्रहरीले जनाएको छ ।

केही दिनको कुराकानीपछि लक्कीले भिसा आएको र कागजपत्र बनेको भन्दै बाँकी रहेको ४/४ लाख मागे । बबिताले यति छिटो ८ लाख रुपैयाँ खोज्न अप्ठ्यारो हुने बताइन् ‘तपाईंहरूको कारणले अरू पनि भिसा रोकियो, जसरी हुन्छ छिटो गर्नुस्,’ भन्दै लक्की र जानुकाले फोन गर्न थाले बबिता र सबितालाई दिनानुदिनको आर्थिक अभाव र विदेशमा गएर पैसा कमाउने मोहले टोलमा रहेको ४ आना जग्गा ५० लाख रुपैयाँ बिक्री गरे ।जानुकालाई ८ लाख रुपैयाँ एकमुष्ट नगद २०७६ फागुन २९ गते दिए । अन्य पैसा बैंकमा जम्मा गरे ।

पैसा पाएपछि जानुका र गुरुदेव मेडिकल सञ्चालिका पूर्णिमाले लकडाउनभन्दा केही दिनअगाडि अर्थात २०७६ चैत्र ७ गतेको टिकट बन्यो भन्दै फोन गरिन्, तर टिकट भने देखाइनन् कोरोनाका कारण लकडाउन भयो । उनीहरूले पैसा पछि दिन्छौं अहिले फिर्ता दिनुस् भन्दा पूर्णिमाले ‘कस्तो पागल रहेछन्’ भन्दै हप्काउन थालिन् उनीहरूले गोंगबुको मेडिकलमा गएर पैसा माग्दा ‘कोरोना फैलाए भनेर प्रहरी बोलाइदिऊँ’ भन्दै तथानाम गाली गरेको बबिताले प्रहरीलाई दिएको बयानमा बताएकी छन् ।

अर्को दिन मेडिकलमा जाँदा उनीहरू मेडिकल बन्द गरेर भागिसकेका थिए । त्यही बीचमा लक्की सिंहले फोन गरेर उनीहरूलाई डिस्टर्ब नगर सबै मैले मिलाउने हो भन्न थाले । जानुका र पूर्णिमा भने सम्पर्कविहीन भए त्यही बीचमा जीवन भट्ट भन्ने व्यक्तिले उनीहरूलाई टिकट मिलाए र उनीहरू २०७७ असोज २२ गते अर्थात सन् २०२० अक्टोबर ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्समार्फत टर्कीका लागि उडे ।

त्यसपछि त्यहाँको एक स्थानीय होटलमा जागिर लगाइदिए, तर जागिर लागेको १ हप्तामा टर्कीमा लकडाउन शुरू भयो । उनीहरू बिचल्लीमा परे । लक्कीले अर्को ठाउँमा जागिर लगाइदिन्छु भन्दै टर्की र ग्रीसको बोर्डर स्वस्टे भन्ने ठाउँमा राखे केही दिनपछि सबिताका लागि जागिर पाएको बताए र उनलाई त्यहाँबाट स्केन्दरुन भन्ने ठाउँमा लगे । तर बबितालाई भने ‘तँ जस्तो बुढीले जागिर पाउँदिनस्’ भन्दै गाली गर्न थाले । उता सबितालाई भने एकजना अपरिचित व्यक्तिले लिएर गए उनले यहाँ बस्दिनँ नेपाल फर्किन्छु भन्दा ‘तँलाई हामीले २ हजार लिरा (टर्किस मुद्रा) (करीब ३० हजार नेपाली रुपैयाँ) मा किनेको हो, हामीले भनेको मान्नुपर्छ’ भन्दै गालीगलौज गरेको प्रहरीलाई बताएकी छन् ।

उनले जसरी पनि नेपाल फर्कने ढिपी गरेपछि आमा बबितासँग भेट गराएर २०७७ मंसिर ८ गते त्यहाँ रहेका अन्य नेपालीहरूको सहयोगमा नेपाल फर्काइयो नेपाल आएपछि सबिताले लक्की, जानुका र पूर्णिमाविरुद्ध जाहेरी दिइन् । प्रहरीकै सहयोगमा २०७७ पुस २७ गते बबिता पनि नेपाल फर्किइन् ।

तर उनीहरूले नेपाल फर्किने क्रममा लक्की सिंहले ‘पूर्णिमा र जानुकालाई केही गर्ने छैन’ भनी कागज गराएका पठाएका थिए । उनीहरूको जाहेरीका आधारमा प्रहरीले जानुका र जीवन भट्टलाई २०७७ फागुन १३ गते पक्राउ गरेको थियो । तर लक्की र जानुका भने अझै फरार छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोकी प्रमुख एसएसपी दुर्गा सिंहका अनुसार पक्राउ परेका दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ अनुसार कारवाहीका लागि अदालतमा प्रतिवेदन पेश गरिएको थियो जिल्ला अदालत काठमाडौंले जीवन भट्टलाई ३ लाख धरौटीमा छाडेको छ भने पूर्णिमालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।प्रहरीको अनुसन्धानका क्रममा लक्की सिंह र मेडिकल सञ्चालिका पूर्णिमा बुवा–छोरी भएको खुलेको छ । ‘पूर्णिमा र लक्की बाबुछोरी रहेछन्,’ अनुसन्धान अधिकारीले लोकान्तरसँग भने, ‘अनुसन्धानपछि मात्र सो कुरा खुलेको थियो ।’

१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया