शनिबार ०२ आश्विन २०७८

काठमाडौं । कामको खोजीमा दुई महिनाअघि भारतको पुना पुगेका अछाम चौरपाटीका मानबहादुर साउद आइतबार कैलालीको त्रिनगर नाका हुँदै घर फर्किएका छन् । होटेलमा वेटर उनले आगामी दसैँमा घर फर्कने सोच बनाएका थिए । तर, महाराष्ट्रमा कोरोना संक्रमण बढेसँगै लकडाउनका कारण जागिर गुमेपछि उनी दुई महिनामै घर फर्कन बाध्य भए ।

एक साताअघि रोजगारी गुमेको मानबहादुरले बताए । ‘कोरोना बढेको भन्दै उता होटेल, बजार सबै बन्द छन् । लकडाउनमा अर्काको देशमा थुनिनुभन्दा आफ्नै देश फर्केँ,’ आइतबार बिहान नाकामा भेटिएका उनले भने, ‘केही महिना काम गर्ने सोच थियो । तर, कोरोनाका कारण होटेल बन्द भएपछि फर्कनुपर्यो ।’

उनीसँगै महाराष्ट्रका विभिन्न ठाउँमा काम गरिरहेका चौरपाटीका अन्य चारजना पनि घर फर्किएका छन् । दुई महिनामै फर्कनुपर्दा कमाइ नभएकाले छोराछोरी र परिवारका लागि लुगाफाटोसमेत किन्न नसकेको दुःखेसो उनीहरूले सुनाए । रोजगारी गुमेपछि बर्दिया राजापुरका विष्णु कामी पनि पुनाबाट घर फर्किएका छन् । गत पुसमा भारत गएका उनी होटेलमा काम गर्थे । कोरोना बढे पनि काम चलेको भए उतै बस्ने सोच बनाएका थिए, तर होटेल बन्द भएपछि सात–आठ दिनदेखि बेरोजगार बनेका उनले लकडाउनमा थप समस्या हुने डरले घर फर्किएको बताए ।

नाकामा एन्टिजेन परीक्षण गर्दागर्दै भेटिएका विष्णुलाई घर पुगेर बेरोजगार बस्दा आर्थिक समस्याले सताउने चिन्ता छ । देशभित्र सामान्य कामसमेत नपाएपछि अर्काको देश जानुपरेको गुनासो उनले सुनाए । ‘गरिबीका कारण परिवार पाल्न समस्या भएपछि अर्काको देशमा जानुपरेको हो । के गर्नु, स्वदेशमा काम पाइँदैन । परिवार पाल्नकै लागि पनि जानुपर्ने बाध्यता छ,’ उनले भने । महामारीको अवधि लम्बिएर लामो समय भारत फर्कन नपाए परिवारको गुजारा गर्न नै समस्या हुने उनले बताए ।

भारतमा संक्रमण तीव्र गतिले बढ्न थालेपछि नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । कतिपयको लकडाउनका कारण जागिर गुमेको छ भने कतिपय कोरोनाको त्रासले घर फर्किरहेका छन् । त्रिनगर नाकाबाट मात्रै दैनिक सात–आठ सयजना आउने गरेका छन् । उनीहरू अधिकांश सुदूरपश्चिमकै बासिन्दा हुन् ।

चरम गरिबीका कारण सुदूरपश्चिमबाट रोजगारीका लागि भारतका विभिन्न सहर जानेको संख्या ठूलो छ । तर, यकिन तथ्यांक भने सरकारसँग पनि छैन । ‘धनसम्पत्ति जोड्न अर्काको देश गएका होइनौँ । यहाँ परिवार पाल्नसमेत काम पाइँदैन, त्यसैले बाध्य भएर भारत जानुपरेको हो,’ भारतबाट आइतबार फर्केका कैलाली पहलमानपुरका लोकबहादुर शाहीले भने ।

गत वर्ष लकडाउनको सुरुमा चैत–वैशाखतिर कोरोनाको त्रासले भारतबाट फर्कनेको नाकामा थामिनसक्नु भिड लागेको थियो । तर, घरमा लामो समय बेरोजगार बस्दा छाक टार्नसमेत समस्या भएपछि उनीहरू संक्रमण उत्कर्षमै रहेका वेला केही महिनामै भारत फर्किएका थिए । लकडाउनको सुरुमा घर आउनेजत्तिकै भिड यतिखेर नाकामा भारत फर्किनेको देखिएको छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया