Monday, October 26

नेपाल–भारत सीमामा घाँस काट्न प्रवेश गर्न खोज्ने भारतीय महिलालाई रोक्दा सशस्त्र प्रहरीमाथि हँसिया प्रहार

July 25, 2020 157

नेपाल–भारत सीमामा आवतजावत रोकिएका कारण जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय महिलालाई रोक्दा सशस्त्र प्रहरीमाथि हँसिया प्रहार भएको छ।

रौतहटको परोहा नगरपालिका ८ नरकटियाको सीमाबाट नेपालभित्र घाँस काट्न प्रवेश गर्न खोज्ने दुई भारतीय महिलालाई रोक्दा भारतीय पक्षले प्रहार गरेको हँसियाबाट चोट लागेर एकजना सशस्त्र प्रहरी घाइते भएका छन्।

सशस्त्र प्रहरी बल नेपाल बीओपी सरमुजवाको ड्यूटी क्षेत्रमा पर्ने सीमाको नरकटिया नाकाबाट दुई भारतीय महिलाहरू बोर्डर पार गरी नेपाल प्रवेश गर्ने क्रममा कोरोना महामारीको समयमा प्रवेश नगर्न सम्झाउँदा आक्रमण भएको प्रहरील जनाएको छ।

भारतीय महिलाहरूले सुरक्षाकर्मीले ज्यादती गरेको भन्दै होहल्ला गरेपछि नेपाल र भारत दुवैतिरका स्थानीयबासी भेला भएका थिए। सोही क्रममा भारतको पूर्वी चम्पारण जिल्लाको कबैया पंचायत ६ खर्सलबाकी सीमादेवी कुशवाहाले हँसिया प्रहार गरेपछि सशस्त्र प्रहरी जवान घाइते भएका हुन्।

स्थिति तनावग्रस्त हुन थालेपछि सशस्त्र प्रहरीले भीडलाई तितरबितर पार्न एक राउन्ड हवाई फायर पनि गरेको जनाएको छ।

सोही क्रममा कबैयाकै भारतीय नागरिक रवीन्द्रप्रसाद कुशवाहालाई नियन्त्रणमा लिएर प्रहरी चौकी नरकटियामा राखिएकोमा शुक्रबार राति नै भारतीय प्रहरीको जिम्मा लगाइएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रविनराज कर्णजीतको कमाण्डमा ५० जना सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक राकेश यादवको कमान्डमा ३५ जनाको नेपाल प्रहरीको टोली पुगेको थियो।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट बाहिनीपति डिआइजी कृष्णभक्त ब्रह्मचार्यले समेत निरीक्षण गरेका छन्। घटनास्थलको स्थिति अहिले सामान्य रहेको सशस्त्र प्रहरीका एसपि रविनराज कर्णजीतले जानकारी गराएका छन्।

Source Himalkhabar

प्रतिकृया दिनुहोस्