आइतबार ०३ आश्विन २०७८

काठमाडौं । एमालेबाट माधव नेपाल पक्षका ४ सांसदले ‘फ्लोर क्रश’ गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार जोगिएको छ । एमालेबाट प्रकाश ज्वाला, अम्बर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मुख्यमन्त्री शाहीको विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।

प्रकाश ज्वाला कर्णालीमा माधव नेपाल पक्षका शीर्ष नेता हुन् । मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री समेत रहेका ज्वालाले केही दिनअघि मात्र राजीनामा दिएका थिए । कर्णाली प्रदेश सभामा एमाले संसदीय दलका नेता यामलाल कंडेलले यसलाई आपराधिक गतिविधिको संज्ञा दिए ।

‘राजनीतिकरूपमा निर्णय गर्न सकिन्थ्यो, यो आपराधिक कुरा हो । आफ्नो भविष्य आफैंले नदेखेको कुरा हो,’ कंडेलले भने । शुक्रवार बसेको कर्णाली प्रदेश सभा बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सांसदको मत उनका लागि सुनिश्चित देखिए पनि एमालेबाट ४ मत चोर्न मुख्यमन्त्री शाही सफल भएका हुन् ।

एमालेले मुख्यमन्त्री शाहीको विश्वासको मतका विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो । हाल ३९ सदस्य कायम रहेको कर्णाली प्रदेश सभामा एमाले एक्लैका २० सांसद छन् । एमालेका सांसदको समर्थनविना शाही नेतृत्वको सरकार जोगिन सम्भव नै थिएन ।

news18nepal

३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया