शुक्रबार ३१ बैशाख २०७८

काठमाडौं : साहित्यकार श्यामदास वैष्णवको निधन भएको छ। नेपाली भाषासाहित्यका साधक उनको शुक्रबार साँझ ७ बजे आफ्नै घर ज्ञानेश्वरमा निधन भएको हो। १९८१ साउन ५ गते जन्मिएका उनी पछिल्लो समय हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका थिए। वैष्णव तीन वर्षयता घरमै आराम गरिरहेका थिए।

वैष्णवको पहिलो रचना ‘शारदा’ पत्रिकामा ‘सूर्य’ शीर्षकको कविता प्रकाशित भएको थियो। उनका रातको आँसु–गीति कविता, पतकर–कविता संग्रह, अन्तरध्वनि–कविता संग्रह, उपहार–कविता संग्रह, केही लघु नाटक, केही गीति नाटक र साझा प्रकाशनबाट नयाँ लहर प्रकाशित छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रिय चेलाका रूपमा परिचित उनी देवकोटा मुखले भन्थे वैष्णवले लेखिदिन्थे। उनका कृति प्रेसमा लानुअघि वैष्णवले नै साफी गरिदिन्थे। उनले हाम्रो संस्कृति, माधुर्य, झंकार आदि पत्रिकाको सम्पादन पनि गरेका थिए ।

वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, देवकोटा शताब्दी पुरस्कार, भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार, नइ देरूनीख प्रदीप्ति पुरस्कार, हरिहर शास्त्री सावित्री देवी साहित्यिक पुरस्कार र त्रिमूर्ति पुरस्कार पाएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले वैष्णवको शव पशुपति आर्यघाट पुर्‍याइएको र एक घन्टा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए। वैष्णवका चार छोरी, तीन छोरा र ९२ वर्षीया श्रीमती छन्।

annapurnapost

५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया