आइतबार ०३ आश्विन २०७८

काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी हुने विषयमा भइरहेको छलफल थप सकारात्मक रुपमा अघि बढेको छ । बिहीबार बिहान प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको कुराकानी र दुई पटक बसेको कार्यदलको बैठक सकारात्मक रुपमा अघि बढेको नेताहरुले जनाएका छन् ।

ओली र ठाकुरबीच कुराकानी भए लगत्तै कार्यदलको पनि बैठक बसेर जसपाको माग सम्बोधनका लागि अहिलेसम्म भएका प्रयासबारे समीक्षा भएको थियो । जसपाका तर्फबाट कार्यदलमा रहेका नेता लक्ष्मणलाल कार्णले नेतृत्व तह र कार्यदलबीच भएको छलफल निक्कै सकारात्मक भएको र एक दुई दिनमै निष्कर्ष निस्कने जानकारी दिए ।

त्यस्तै एमालेका तर्फबाट कार्यदलमा रहेका एक सदस्यले पनि जसपाको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको र वार्ता सकारात्मक रुपमा अघि बढेको बताए । नेकपाको एकतालाई सर्वोच्चले बदर गरेपछि ओलीले माओवादी केन्द्रको समर्थन विनै जसपालाई विश्वासमा लिएर सरकार टिकाउने प्रयास गरिरहेका छन् ।

माओवादी केन्द्रले ओलीको विकल्पमा कांग्रेसलाई सरकारका नेतृत्व गर्न आग्रह गरे पनि बहुमत नपुग्ने डरले कांग्रेस अघि बढ्न सकेको छैन । भावी सत्ता सहकार्यका लागि एमाले र कांग्रेस–माओवादीसँग समानान्तर रुपले छलफल गरिरहेको जसपाले ओलीलाई नै समर्थन गर्ने बिहीबारको बैठकपछि लगभग निश्चित भएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ मत चाहिन्छ। एमाले एक्लैको संसदमा १२१ सांसद रहेको अवस्थामा ३२ सांसद रहेको जसपाले समर्थन गरेको खण्डमा सजिलै बहुमत पुग्ने अवस्था छ । तर ओली नेतृत्वको सरकारलाई समथर्न गर्ने विषयमा जसपाभित्र मतभेद कायमै छ । नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीलाई कुनै हातलमा समथर्न गर्न नहुने पक्षमा छन् ।

news18nepal

११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया