मंगलबार १२ आश्विन २०७८

सरकारले विभिन्न देशका नेपाली कूटनीतिक मिसनहरूमा राजदूत नियुक्तिका लागि तयारी सुरु गरेको छ । लामो समयदेखि राजदूत रिक्त रहेका ६ देश र कार्यकाल सकिन लागेका पाँच देशमा नियुक्ति प्रक्रिया थालेको हो ।

दक्षिण कोरिया, श्रीलंका, इजिप्ट, रुस, अस्ट्रिया र डेनमार्कमा राजदूत रिक्त छन् भने बहराइन, जापान, म्यान्मार, ओमान र साउदी अरेबियाका राजदूतको कार्यकाल सकिन लागेको छ । विदेशस्थित नेपाली मिसन खाली नराख्नका लागि भन्दै सरकारले कार्यकाल सकिन लागेका पाँच देशका राजदूतलाई फिर्ताका लागि पत्र पठाइसकेको छैन । ब्राजिलका राजदूत ताराप्रसाद पोखरेलको चारवर्षे कार्यकाल सकिए पनि फिर्ता बोलाइएको छैन ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत नियुक्तिको गृहकार्य भइरहेको बताए । ‘रिक्त भएका स्थान त भइहाल्यो, हुन लागेकामा पनि त्यसअगाडि नै राजदूत नियुक्त गर्ने तयारीमा छौं, त्यसका लागि आवश्यक छलफल चलिरहेको छ,’ उनले भने ।

समयमै राजदूत नियुक्ति गर्ने प्रक्रियाका लागि सरकारले ‘राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५’ तयार गरेको थियो । उक्त काम परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेपछि ज्ञवालीले थालेका हुन् । उक्त निर्देशिकाअनुसार राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै नयाँ नियुक्ति प्रक्रिया थाल्नुपर्छ । ज्ञवालीले उक्त निर्देशिकाअनुसारै मन्त्रालयले काम गर्ने बताए ।

राजदूतको कार्यकाल सकिनुभन्दा ३ महिनाअगाडि नै परराष्ट्र मन्त्रालयले फिर्ता हुने मितिलगायत विषय तोकेर पत्र पठाउने गर्छ । वैशाखदेखि खाली हुन लागेका विदेशस्थित नेपाली मिसन प्रमुखहरूलाई पत्र पठाइनसकेको स्रोतले बतायो ।

विदेशस्थित एक राजदूतले कान्तिपुरसँग कुरा गर्दै परराष्ट्रले आफूलाई केही समय जिम्मेवारी सम्हालेर बस्न आग्रह गरेको बताए । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिमा ५० प्रतिशत करिअर (परराष्ट्र सेवा) र ५० प्रतिशत राजनीतिक कोटाबाट राजदूत नियुक्त गर्दै आएको छ । परराष्ट्र सेवातर्फको कोटामा खाली भएलगत्तै नियुक्त हुने गरिए पनि राजनीतिक कोटामा लामो समयसम्म पद रिक्त रहँदै आएको छ ।

pathivaranews

२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया