शुक्रबार ०१ आश्विन २०७८

काठमाडौं । प्युठानको स्वर्गद्वारी नजिकै बुधबार भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको ज्यान गएको छ । ज्यान जानेमा एक जना सवारी चालक पनि छन् । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

जिल्ला प्रशासन कार्यालयका गुल्मीका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । प्रशासकीय अधिकृत श्याम न्यौपाने र जीप चालक केशव कार्कीको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनले बताए ।

नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी परिवारसहित स्वर्गद्वारी दर्शनका लागि बुधबार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जीपमा गएका थिए । जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटना भएको उनले बताए ।

जीप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो । घटनामा १० जना घाइते छन् । घाइतेमध्ये गम्भीर ४ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

news18nepal

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया