Monday, October 19

छोरो राजकुमार खानेकुरा खोज्‍न गएको फर्केन : आमा आइतीमाया चेपाङ

July 25, 2020 272

दुई वर्षअघि कान्छो छोरा क्यान्सरबाट बित्दा जेनतेन चित्त बुझाएकी आइतीमाया चेपाङ निकुञ्जमा सैनिकको पिटाइपछि जेठो छोरो राजकुमारले पनि संसार छाड्दा सम्हालिन सकिरहेकी छैनन् । ३ दिनदेखि भोकै उनले राज्यसँग पुकारिन्, ‘ कुटे र मारेपछि न्याय चाहिन्छ ।’ डेढ वर्ष छोरी काखमा राखे र पति वियोगमा विक्षिप्त रिपुमाया प्रजाले भनिन्, ‘ शरीरभरि नीलडाम थियो , ४ गते पछि त मुखबाट रगत बग्न थालेको थियो ।’
श्रावण १०, २०७७रमेशकुमार पौडेल

चितवन — पूर्वपश्चिम राजमार्गको पिप्लेबाट झन्डै दुई सय मिटर उत्तर लागेपछि दाहिनेतिर अलि गहिरोमा जस्ताले छाएको एउटा सानो घर देखिन्छ । घरको देब्रे भित्तोमा जेनतेन इँटाको पूरै र दाहिने भित्तोमा चौथाइ जति मात्रै गारो छ । अगाडिको भागचाहिँ ह्वाङ्गै छ । पछाडिको भाग सिमेन्टको खाली बोराले बारेको छ । त्यही बोराको बारको आडमा राखेको खाटमा निस्लोट सुतेकी छन्– आइतीमाया चेपाङ ।

चितवनको राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलमा रहेको राजकुमार चेपाङको हवाङ्गै परेको घर । दायाँतर्फ मृतक राजकुमार, उनकी आमा आइतीमाया र दुई वर्षे छोरीसँग श्रीमती रिपुमाया । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।

उनी हुन् निकुञ्जका सेनाले कुटपिट गर्दा ज्यान गुमाएका २४ वर्षीय राजकुमार चेपाङकी आमा । साउन १ गते राजकुमारसहित सात जना निकुञ्जभित्र गएका बेला सेनाले कुटपिट गरेको थियो । त्यसैको तोडले बुधबार राजकुमारको ज्यानै गयो । खबर सुनेपछि आइतीमाया भाउन्न भएर पल्टिइन् । बहिनी शोभा, आमाजू सीता र भाइबुहारी आशाले आइतीमायालाई केही खान भनिरहेका छन् तर उनले पानीबाहेक केही निलेकी छैनन् ।

आइतीमायालाई परेको यो दोस्रो पुत्र वियोग हो । ०७५ पुस १७ गते उनका १२ वर्षीय कान्छो छोरा आमोस क्यान्सरका कारण बिते । अहिले जेठो छोराको ज्यान गयो । रोगले छोरा बित्दा जेनतेन चित्त बुझाएकी आइतीमाया अहिले सम्हालिन सकेकी छैनन् । पुत्र वियोगले थला परेकी उनी बस्न–उठ्न गाह्रो भएकाले बिस्तारामै पल्टिरहेकी छन् । उनी धेरै बोल्दिनन् तर बेला–बेला अन्याय भयो भन्दै सुस्केरा हालिरहन्छिन् । ‘एउटा छोरो रोगले बित्यो, चित्त बुझाएँ । यो छोरो त रोगले हैन नि, कुटेर मारे । त्यसैले न्याय चाहिन्छ । मैले एक्लैले न्याय लिन सक्दिनँ तर समाज जुटाएर न्याय लिन्छु,’ बिस्तारामा पल्टेरै उनले भनिन् । उनी सुतेको ह्वाङ्गको छाप्रो पनि ऐलानी जमिनमा छ ।

आइतीमाया

घरमा आइतीमाया, श्रीमान् विष्णुलालसहित जेठो छोरा राजकुमारका श्रीमती र छोरी, माइलो छोरा र कान्छी छोरी बस्नुपर्थ्यो । यी सबै त्यहाँ कसरी अटाउन् ? त्यसैले खाना त्यही ‘मूलघर’ मा खाए पनि छोराहरू, बुहारी, नातिनी र छोरी भाडामा लिएको घरमा सुत्न जान्थे । त्यो घर ‘मूलघर’ भन्दा यस्सो माथि छ । त्यो घरको सानो पिँढीमा थिइन् रिपुमाया प्रजा चेपाङ । उनको काखमा डेढ वर्षकी छोरी एलिना खेलिरहेकी थिइन् । रिपुमाया राजकुमारकी श्रीमती र एलिना छोरी हुन् । चार वर्षअघि उनीहरूको बिहे भएको थियो । श्रीमान् बितेको सुनेदेखि उनको मनमा यसरी किन पिटेरै मारेको होला भन्ने कुरा मात्रै खेलिरहेको छ । ‘त्यो पिट्ने को हो, उसका पनि घरमा परिवार, सन्तान होलान् । पिट्नेले यसको पनि जहान केटाकेटी छन् भनेर सोच्नुपर्ने नि,’ उनले एकै सासमा भनिन्, ‘उहाँको कमाइले घरको खर्च जुटेको थियो । अब के हुन्छ ? यो छोरी कसरी हुर्काउने, कसरी पढाउने ?’

राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलमा पाँच धुर ऐलानी जग्गामा बनेको छाप्रोबाहेक विष्णुलाल चेपाङको अरू कुनै सम्पत्ति छैन । खेती गरेर खाने जग्गा नभएकाले जेठो छोरा राजकुमार नजिकैको ब्लक उद्योगमा मजदुरी गर्दथे । विष्णुलाल पनि कहिलेकाहीं ज्यालादारीमा स–सान काम गर्थे । हुर्कंदै गरेको छोराको कमाइले जेनतेन गुजारा चलेको थियो । त्यही छोराको यो हविगत भएपछि ४१ वर्षीय विष्णुलाल विक्षिप्त छन् । ‘अरू हैन, यसरी छोरा गुमाएपछि मैले माग्ने भनेकै न्याय हो,’ विष्णुलालले पुत्रवियोगको निष्कर्ष सुनाए । मिलनचोकदेखि दक्षिण झन्डै १५ मिनेट हिँडेपछि राप्ती ड्याक आउँछ । त्यहींबाट राप्ती नदी तरेर राजकुमारसहित सात जना साउन १ गते घोंगी खोज्न निकुञ्ज छिरेका थिए । निकुञ्जभित्रको ज्युँडी खोलामा घोंगी बटुल्दै गर्दा सेनाले समाएको थियो । त्यसपछि कुटपिट गर्ने, पुसअप गर्न लगाउने, मुढा बोकाउने गरेको उनीसँगै गएका सन्तलाल चेपाङले बताए ।

रिपुमाया छोरीसहित

राजकुमारकी श्रीमती रिपुमायाले आफूलाई घोंगी मन नपर्ने तर श्रीमान्ले रुचाउने बताइन् । ‘त्यही खाएरै गुजारा चलाउने भन्ने त हैन, रहर गर्नुभयो । मैले नजानु भनेकै हो । जानुभयो । उहाँहरू गएर गल्ती भयो होला तर यसरी पिट्न त नहुने हो,’ रिपुमायाले आँसु खसालिन् । सुरुमा पिटाइ खाएको कुरा राजकुमारले नभनेको उनले बताइन् । सर्ट खोल्दा शरीरमा डाम देखेको र ४ गतेपछि मुखबाट रगत नै निस्केको उनले सुनाइन् ।

दुई वर्षअघि राजकुमार मोटरसाइकल दुर्घटनामा परेका थिए । त्यो बेला उपचारपछि निको भएको उनले बताइन् । निको भएरै मज्जाले काम गरेर परिवार पाल्दै आएका थिए उनी । ‘अहिले त खै उपचार पनि गर्न पाइएन । मेडिकल लगेको हो । औषधि ल्याएर खाएको हो । निको नभएपछि अस्पताल लगेको हो । बाँच्छ कि भनेको बाँचेन । मेरो पनि ज्यानै उडेको छ । शव पनि बुझेको छैन । पोस्टमार्टम नगरी शव हेर्न पनि नपाइने भयो,’ रिपुमायाले भनिन् ।

राजकुमार चेपाङ

पोस्टमार्टम बाँकी

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार शुक्रबार मृतकका बाबु विष्णुलाल चेपाङका तर्फबाट उजुरी परेको छ । ‘नाम किटान छैन, घोंगी टिप्न गएका बेला सेनाले समाएर कुटपिट गरेको भन्ने छ । अब यसैका आधारमा शवको पोस्टमार्टमा प्रक्रिया सुरु हुन्छ । हामीले घटनाको विषयमा अनुसन्धान सुरु गरेका छौं,’ डीएसपी थापाले भने ।

पोस्टमार्टमका लागि अस्पताललाई पत्र लेख्ने तयारी भएको उनले बताए । तर परिवारका सदस्य शव नबुझ्ने अडानमा छन् । शुक्रबार दिनभरजसो चितवन जिल्ला प्रशासन कार्यालयमा मृतकका परिवार र कुटाइ खाएका अन्य व्यक्तिसँग वार्ता भयो । वार्तामा तत्काल राहत दिनुपर्ने विषय पनि उठेको छ । त्यसैगरी मृतकका सन्तानको शिक्षाका लागि कोष बनाउन आग्रह गरेको वार्तामा बसेका सन्तलाल प्रजा चेपाङले बताए ।

‘राहतमा तत्कालका लागि किरियाखर्च भनेर प्रशासनले ५० हजार रुपैयाँसम्म दिने कुरा भयो रे तर यसमा कुरा नमिलेपछि हामी उठ्यौं । सहमति नहुँदासम्म हामी शव बुझ्दैनौं । न्याय मुख्य कुरा हो । प्रहरीको अनुसन्धान यसमा हुनुपर्छ भन्ने माग हाम्रो छ । राहतका कुरा पनि जोडिएर आएका छन्,’ नेपाल चेपाङ संघ चितवनका उपाध्यक्ष इन्द्रजित चेपाङले भने ।

सम्बन्धित समाचार

सैनिकको कुटाइबाट युवकको मृत्यु : सेनाले भन्यो- छानबिन सुरु भइसक्यो
निकुञ्‍जमा सैनिकले पिटेका युवकको मृत्यु

Source Kantipur Post

प्रतिकृया दिनुहोस्