शुक्रबार १२ कार्तिक २०७८

काठमाडौं । नेपाली कांग्रेसले कोभिड-१९ को संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसको कोभिड-१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड-१९ को संक्रमण कम हुँदै गए पनि फेरि संक्रमण विस्तार हुन सक्ने र विश्वका अन्य देशहरूमा देखिएको कोभिड-१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावना प्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

पार्टीका सहमहामन्त्री एवम् समिति संयोजक डा. प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा कोभिड-१९ का बिरामीको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न समेत माग गरिएको छ ।

कांग्रेसले कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितलाई लक्षित गरी पिसिआर परीक्षण दायरालाई व्यापक बनाउन, कोभिड-१९ विरुद्धको आमजनतालाई खोप पु¥याउने कामलाई स्पष्ट कार्य योजनासहित अगाडि बढाउन र खोप आपूर्ति सुनिश्चितताका लागि उच्च कूटनीतिक पहल गर्न समेत सुझाव दिएको छ ।

स्वास्थ्यकर्मीको बीमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन, अस्पतालमा स्वास्थ्यकर्मीको संख्यामा देखिएको कमीलाई तत्काल परिपूर्ति गर्न, तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न समेत कांग्रेसले सरकारसँग माग गरेको छ ।

मुलुकले पुनः लकडाउनको अवस्था धान्न नसक्ने भन्दै कांग्रेसले वर्तमान परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दूरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने विज्ञप्तिमा माग गरिएको छ ।

सहमहामन्त्री डा. महतले कोभिड-१९ का कारण २०७८ सालमा सङ्कटपूर्ण हुन नदिन स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई अनिवार्य मास्क लगाउने, स्यानेटाइजर र साबुनपानीको प्रयोग गरी हात सफाइमा ध्यान राख्ने र भौतिक दूरी कायम गर्दै संक्रमणको जोखिमलाई कम गर्न अनुरोध गर्दै नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना समेत व्यक्त गरेका छन् ।

news18nepal

३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया