Tuesday, October 27

पाटन अस्पतालमा छट्पटाइरहेका कोभिड-१९ संक्रमित उर्बिनको कथा न स्पर्श दिने आफन्त न सान्त्वनाका शब्द दिने स्वास्थ्यकर्मी

August 27, 2020 12335

उर्बिन सापकोटा पाटन अस्पतालको कोभिड-१९ विशेष आइसोलेसन वार्डमा सुतेको तीन साता पुग्यो।

न स्पर्श दिने आफन्त न सान्त्वनाका शब्द दिने स्वास्थ्यकर्मी।

ठूलो कोठामा उनी संक्रमितहरु सँगै बस्छन्। दुई मिटरको दूरीमा खाटहरु राखिएका छन्। हरेक संक्रमितको अनुहारमा पीडाका फरक फरक रङ पोखिएको छ।

पाटन अस्पताल पुग्दा उनलाई बिस्तारै ठीक होला भन्ने लागेको थियो। औषधी उपचार हुन्छ भन्ने परेको थियो। तर, अस्पतालको वातावरणले अपेक्षा त टाढा, पीडामात्र थपिरह्यो।

न त दुख्दा रुने साथी? न त दुख्न कम हुँदाको हाँस्ने साथी?

पाटन अस्पतालको आइसोलेसनमा उनी ११ दिनसम्म कोरोनाको ज्वरोले थलिए। टाउको दुखाईले छट्पटिए। पखालाले लखतरान बने।

अधिकांश संक्रमितको मृत्यु निमोनियाका कारण भइरहेको खबर पढ्दापढ्दै २८ वर्षीय उर्बिनलाई निमोनिया भयो। र, एकाएक उनलाई जिन्दगी प्यारो लाग्न थाल्यो।

गत साउन २१ गते, रातको १ बजे। उर्बिन चर्को गर्मी भएर ब्युँझिए। उठ्न खोज्दा टाउको भारी भयो। शरीर गलेको थियो। निधार छामे, ज्वरो थियो। टेबलमा राखिएको जगबाट पानी पिए। निदाउन कोसिस गरे तर सकेनन्। रात कटाउनै मुस्किल पर्‍यो उनलाई।

कौशलटारस्थित मानव सेवा आश्रममा सेवा गर्छन् उर्बिन। दुई वर्षअघिसम्म अस्पतालमै हेल्थ असिस्टेन्टका रुपमा काम गरेका उर्बिनलाई कोभिडका बारेमा थाहा थियो। तर, आफूलाई नै कोभिड भयोहोला भन्ने शंका उनले गरेका थिएनन्। ज्वरोका बाबजूद बिहानै ७ बजे स्कुटर चलाउँदै हान्निएर गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल पुगे।

असह्य भएर अस्पताल पुगेका उनलाई ढोकामै पालेले रोके। अस्पतालको थर्मोगनमा उनको ‘टेम्प्रेचर’ ९६ डिग्री फरेनहाइट भन्दा बढी देखाएन। उनले गोजीबाट आफ्नै थर्मोमिटर निकालेर नापे – ज्वरो १०३ देखायो। अनि अस्पतालले भर्ना लिन मानेन।

उनी फर्किए तर काममा खट्न सकेनन्। सिटामोल खाए र ओच्छ्यान पल्टिए।

‘ज्वरो त पहिले पनि आएको थियो तर त्यसरी गाह्रो बनाउँदैन थियो। म न सुत्न सक्थेँ न उठ्न। त्यत्रो हुँदा पनि मैले कोभिड-१९ हुनसक्छ भन्ने अनुमान गरिँन,’ उर्बिनले सुनाए, ‘किनकि मैले मास्क, स्यानिटाइजर र पञ्जा कहिल्यै छाडेको थिइँन।’

अचानक दिउँसो उनलाई साह्रै गाह्रो भयो। चिटचिट पसिना, वाक्वाकी पनि। उनलाई आफ्नै टाउको कहाँ लगेर ठोकौंजस्तो हुन थाल्यो। उनी १ बजे पुन: अस्पताल हान्निए। यस पटक नेपाल-कोरिया मैत्री अस्पताल।

पुग्ने बित्तिकै उनलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको बिरामीका रुपमा अस्पतालले फिभर क्लिनिकमा राख्यो। औषधी दियो – सिटामोल।

चिकित्सकले सोधे – विदेशबाट आएको कसैसँग सम्पर्क भएको थियो?

उनले झल्याँस्स सम्झिए – दुई साताअघि भक्तपुर सल्लाघारीस्थित इम्पेरियल पार्टी प्यालेस गएका थिए। विदेशबाट आएकाहरूलाई राख्न बनाइएको होल्डिङ सेन्टर। त्यहाँ नेपाली सेनाले खाना खुवाउँदै थिए। उनी मानव सेवा आश्रमको तर्फबाट रासन सहयोग पुर्‍याउन पुगेका थिए।

त्यसपछि भने उर्बिन आफैँलाई पनि संक्रमणको त्रास बढ्यो। उनको स्वाब परीक्षणका लागि पठाइयो। उर्बिनलाई आइसोलेसनमा राखियो। साँझसम्म स्लाइनमार्फत् औषधी चडाइयो तर ज्वरो टसमस भएन। आफ्नै शरीरको तापले झनझन् पोल्दै गएको थियो उनलाई।

‘संक्रमण पुष्टि भए के गर्ने? कोरोनाको त औषधी पनि बनिसकेको छैन भन्ने कुराले निकै सतायो,’ अस्पतालको शय्यामा बसेर रिपोर्ट कुर्दाको क्षण सम्झिए।

भोलिपल्ट रिपोर्ट आयो – कोभिड-१९ पोजेटिभ।

उर्बिन स्वयं स्वास्थ्यकर्मी। त्यसैले आत्तिएनन्। लक्षणअनुरुप औषधी, उपचार गर्दा ठीक हुन्छ भन्नेमा ढुक्क थिए।

चिन्ता त अघिल्लो दिन कुरुवा बस्न आइपुगेका भतिज सुरजको पो लाग्यो। आश्रममा आफूले खाना बनाएर खुवाएका, नुहाइदिएका, सरसफाई गरिदिएका वृद्धवृद्धाको लाग्यो। सडकबाट उठाएर ल्याइएका ती मानिसहरू अनेक मानसिक, शारीरिक रोगहरूविरुद्ध लड्दै थिए। कतै रोगसँग लड्ने क्षमता कमजोर भएकाहरुले कोरोनासँगको लडाईंमा हेलिनुपर्ला कि भन्ने चिन्ताले उर्बिनलाई छोप्यो।

साउन २३ गते नेपाल-कोरिया मैत्री अस्पतालबाट पाटन अस्पताल रेफर भए उनी। अस्पतालबाट निस्किँदै गर्दा मानिसहरू उनैलाई हेर्दै थिए। उनी सामान्य देखिन खोजे। नर्स स्टेसनतर्फ हेरेर हात जोड्दै धन्यवाद भने। तर, सबै प्रतिक्रियाविहीन।

‘सबैले ट्वाँ परेर हेरे। पर भएकाहरू मलाई देखे पछि झन् पर भागे। त्यसपछि एम्बुलेन्स नचढेसम्म मलाई अप्ठ्यारो महसुस भयो। नलागेको डर ह्वात्तै बढ्यो।’

यसरी उनी कोभिड-१९ विरुद्धको लडाइमा निस्किँदै गर्दा उनको ज्वरोले कमजोर बनाएको शरीरमा मानसिक तनाव पनि घोलिँदै थियो।

पाटन अस्पताल पुगेपछिको करिव दुई साता उर्बिनका लागि कष्टकर रह्यो। सोचेका थिएनन् जीवनमा जीवनकै लागि संघर्ष गर्नुपर्छ भन्ने। त्यस्तै अवस्थामा उनले प्रसव वेदनामा भएकी महिलालाई देखेका थिए, दुई वर्षअघिसम्म हस्पिटल असिस्टेन्टका रुपमा काम गर्दा।

पीडाले छट्पटाई रहेकी महिलासँग दुखाई भोग्नुको विकल्प थिएन। उर्बिन छेउमा उभिन्थे। त्यो पीडा मेटाउने कुनै औषधी थिएन। तर, नजिक बसेर थुम्थुम्याउथेँ। आँशु र पसिना पुछिदिन्थे। स्पर्श अनि आशावादी शब्दहरू दिन्थे।

केहीबेरमा प्रसव पीडाको अन्त्य हुनु। सन्तान सुखको रङ्ग खेल्नु उनका लागि पनि सुखद् क्षण बन्थ्यो। केही अघिसम्म पीडामा रहेकी महिलाको ओठमा मुस्कान अनि वरपर उनको खुशीमा रमाउन आएकाहरूलाई देख्दा उनी पनि दङ्ग पर्थे।

‘प्रसव वेदना आफै भोग्न नपरे पनि म त्यो दु:ख कल्पन्थेँ। कस्तो हुन्छ होला त्यो छट्पटाहट भन्ने समानुभूत गर्न खोज्थेँ,’ उर्बिनले भने, ‘कोरोना भाइरसले मलाई त्यस्तै छट्पटाहट् दिलायो। मैले आफैलाई जन्माउन ११ दिन व्यथा सहेँ।’

अर्थात् पाटन अस्पताल पुगेको ११ दिनसम्म उनी ज्वरोले थलिए। टाउको दुखाईले छट्पटिए। पखाला चल्यो। यी सबै समस्याको एउटै औषधी दिइयो – सिटामोल।

‘मेरा समस्या सिटामोलले ठीक हुँदैन भन्ने मलाई थाहा थियो तर स्वास्थ्यकर्मीले थाहा नपाएजस्तै गरे,’ उनले भने, ‘नत्र जीवनजल दिन नसक्ने अस्पताल होइन नि यो।’

स्वासप्रस्वासमा समस्या देखिएमात्र अन्य उपचार थाल्ने बताइरह्यो अस्पतालले। औषधी नपाउनु फरक पाटो, स्वास्थ्यकर्मीबाट उपेक्षित भएको महसुस गरे उनले।

एकदिन टाउको दु:खाईले फुट्छजस्तै भयो। पानीपट्टीका लागि कपडा मागे। तर, आग्रह सुनिएन। आफूसँग भएको मास्कको बन्डलबाट ५/७ वटा निकाले। ट्वाइलेटमा लगेर भिजाए र त्यसैलाई निधारमा अड्याए।

‘आफू काम गर्दा बिरामीको पीडा समानुभूत गर्थेँ। सहज महसुस गराउन कुराकानी गर्थेँ। बिरामीलाई सुन्थेँ। तर आफू बिरामी हुँदा भने बिल्कुल फरक अवस्था भोग्नु पर्‍यो।’

उर्बिनलाई स्वास्थ्यकर्मीप्रति नै उदेक लाग्यो। स्वास्थ्यकर्मीले सेवा गरेनन्। घडी हेरेर ड्युटी आवर पूरा गरे।

त्यसपछि उनले दैनिक राउन्डमा आउने चिकित्सकसँग मुखै फोरेर गुनासो गरे – ‘नर्सहरूले कस्तो छ? सोधिदिएनन्। आफैले भन्दा पनि सुनिदिएनन्।’

तर, ठीक विपरीत उर्बिनलाई नर्सले पो पीडा सुनाउन थालिन्।

‘पीपीई लगाएको बेला बाहिरको आवाज सहजै सुनिदैन भनेर नर्सले भनिन्,’ उर्बिनले प्रतिप्रश्न गरे, ‘पीपीई लगाएपछि त बिरामी संक्रमितको नजिकै आएर पनि हालखबर सोध्नु पर्ने होइन र?’

शारीरिक पीडा, कोरोनामो त्रासले दिएको मानसिक तनावमाथि आइसोलेसनको कमजोर व्यवस्थापनले डर थपिरेहको थियो। त्यसमाथि यी सबैसँग जुँध्दै गर्दा उनको ज्वरो ज्यूँकात्यूँ थियो। शरीरको तापले निकालेको पसिनाले पनि असर गर्‍यो। उनलाई निमोनिया भयो। त्यसको दुई दिनपछि बल्ल नशाबाट औषधी दिइयो।

गाह्रो हुँदा उठ्न नसक्नु, उठेपछि पल्टन नसक्नुकै कारण हरेक दिन दशकौंजस्तो बित्यो उनको। छेउमा आफूजस्तै छट्पटाइ रहेका संक्रमित देख्दा मन भरिएर आउँथ्यो। कोही चित्त फुटाएर रोइरहेका हुन्थे। कसैको स्लाइनमा रगत फर्किँरहेको देख्थे। बिरामीहरु नर्सलाई डाक्थे, नर्सहरू सुन्दैन थिए।

उर्बिन स्वयं हेल्थ असिस्टेन्स। उनलाई आफू उठेर जान र अवस्था ठीक बनाउन नसक्नुको थक्थकीले पिरोल्यो।

कसैका लागि नगर्नु र चाहेर पनि गर्न नसक्नुको फरक बुझे। उनको मनमा प्रश्न खेल्यो सरकारले कोरोना भाइरस नियन्त्रणका लागि केही गर्न नसकेको या नगरेको? सरकारले तोकिदिएको कोभिड-१९ विशेष अस्पतालको उपत्यकामा त यस्तो व्यवस्थापन छ, मोफसलमा कस्तो होला?

जे होस् अस्पतालमा रहँदा उनी दुई पटक खुशी भए। पहिलो पटक – अस्पताल भर्ना भएको पाँचौ दिन। आफ्नो कुरुवा रहेका भतिजको पीसीआर रिपोर्ट नेगेटिभ आउँदा। दोस्रो पटक – आश्रममा लक्षण देखिएका र उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेका बुबाआमाहरूको रिपोर्ट नेगेटिभ आउँदा।

भर्ना भएको बाह्रौं दिनदेखि उर्बिनको स्वास्थ्यमा केही सुधार आयो। ज्वरो कम भयो, टाउको दुखाई घट्यो, पखाला रोकियो। आइसोलेसनको खराब अनुभवसँगै बाँकी छ निमोनियाको दाग। अझै पनि उनलाई घाँटी खसखसाउन र छाती दुख्न छाडेको छैन।

कोरोना सामान्य फ्लूजस्तै हो भनेको सुनेका थिए उर्बिनले पनि। नेपालका संक्रमितलाई लक्षण देखिएको छैन भन्ने सुनेका थिए। प्रधानमन्त्रीले नै बेसार पानी खाएर ठीक हुन्छ भनेका थिए।

‘होइन रहेछ। यस भाइरसको संक्रमणले साह्रै दु:ख दिँदो रहेछ। यो त मृत्युजस्तै भयानक हुँदो रहेछ,’ उर्बिनले भने।

आफ्नै भोगाईले कोरोनालाई हेर्ने दृष्टिकोण बद्लियो उनको। कोरोनाले जीवनलाई हेर्ने दृष्टिकोण पनि बदल्दियो। संक्रमितदेखि संक्रमितलाई नै भगाउने यस भाइरसले आफूलाई मनै नपर्ने कुराहरू पनि स्वीकार्ने क्षमता दिएको बताए उनले।

‘ममा आफूले निस्वार्थ सेवामा खट्नुले केही हदमा घमण्डा पैदा गराएको रहेछ। अस्पताल बस्दा, आफैलाई समय दिँदा र जीवनबारे सोच्दा यो कुरा वोध भयो। अब सायदै केही कुरामा घमण्डा गर्ने आँट गर्छु,’ उनले भने।

अवस्थामा आएको सुधारका कारण संक्रमणमुक्त भएको महसुस गरेका थिए उनले।

संक्रमण देखिएको १६ औं दिनमा दोस्रो पटक उनको स्वाब निकालियो। २३ औं दिन रिपोर्ट आयो – पुन: पोजेटिभ।

‘यो साँच्चै कसैले नबुझेको भाइरस हो।’

प्रष्ट्याउन आफ्नो नजिकै रहेका एक संक्रमित जोडीको पनि कथा सुनाए – ५० वर्ष कटेका ती दम्पती फरक शय्यामा छन्। फरक लक्षण र संक्रमणको फरक अनुभूति बोकेर। श्रीमती लक्षणविहीन संक्रमित। श्रीमान ज्वरो र खोकीले पीडित। एउटै भाइरसको संक्रमण हुँदा पनि एकअर्काको फरक अवस्था। तन्दुरुस्त श्रीमती संक्रमित हुन् भन्ने स्वीकार्न श्रीमानलाई नै गाह्रो। सिकिस्त श्रीमान् भाइरसकै कारण गलेका हुन् भन्ने स्वीकार्न श्रीमतीलाई गाह्रो।

‘नभेट्दा पनि हुने आफन्त र साथीभाइलाई नभेटौं। फोन र इन्टरनेटको भरपुर प्रयोग गरौं। तरकारी, रासन र फलफूल बजार निस्कने बहाना नबनाऔं। घरमा बस्न वाक्क भएँ भन्दै बाहिर ननिस्किऔं। आइसोलेसनको बसाइ झनै वैरागलाग्दो हुन्छ,’ अस्पतालको शैय्याबाट उनको सन्देश, ‘केही समय चिया र चुरोट एक्लै पिउँदा पनि हुन्छ। साथीहरू स्वस्थ रहे, न पिउने कुराको स्वाद फेरिन्छ, न जिन्दगीकै।’

pahilo post

प्रतिकृया दिनुहोस्