शुक्रबार ३१ बैशाख २०७८

काठमाडौं । पाटन उच्च अदालत, हेटौंडा इजलासले अनशनरत गंगामाया अधिकारीका छोरा कृष्णप्रसादको ज्यान लिएका अभियुक्तहरूलाई सफाइ दिएको छ । न्यायाधीशहरू चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले १२ जना अभियुक्तलाई सफाइ दिने चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हो ।

आज (आइतबार) शुरूमा उच्च सरकारी वकीलको कार्यालय हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठसहित तीन जना सरकारी वकीलले अभियुक्तहरूलाई कृष्णप्रसादको ज्यान लिएको अभियोगमा कारबाही हुनुपर्ने माग गर्दै बहस गरेका थिए । उनीहरूको बहस सकिएपछि जाहेरीवालाका तर्फबाट अधिवक्ता पुष्पराज पौडेल र महामुनिश्वर आचार्यले बहस गरेका थिए ।

त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेल लगायतले बहस गरेका थिए । ४ जेठ २०६१ मा चितवनको बकुलहरमा गंगामायाका कान्छा छोरा कृष्णप्रसादलाई गोली लागेर ज्यान गएको थियो । सुराकी गरेको आरोप लगाउँदै तत्कालीन माओवादी कार्यकर्ताले १७ वर्षीय कृष्णप्रसादको ज्यान लिएका थिए ।

ज्यान लिन संलग्नलाई कारबाहीको माग गर्दै गंगामाया र उनका पति नन्दप्रसादले प्रहरी कार्यालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूमा उजुरी दिए पनि कुनै कारबाही नभएपछि २८ साउन २०७० देखि आमरण अनशन थालेका थिए ।

३० चैत २०७० मा छविलाल पौडेलसहित भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी, मेघनाथ पौडेल, जानुका पौडेल, सुभद्रा तिवारी, विष्णु तिवारी र रुद्र आचार्यमाथि मुद्दा चलाइएको थियो ।

चितवन जिल्ला अदालतले फरार रहेका रुद्र आचार्य (हाल नर्दन आयरल्याण्डमा बस्दै आएका) बाहेक सबै प्रतिवादीलाई २४ भदौ २०७५ मा सफाइ दिएको थियो । त्यसविरुद्ध १८ भदौ २०७६ मा पाटन उच्च अदालतको हेटौंडा इजलासमा पुनरावेदन गरिएको थियो ।

छोरा कृष्णप्रसादको ज्यान लिन संलग्नलाई कारबाहीको माग राखेर गंगामाया अधिकारी १२ औं अनशनमा बसिरहेकी छन् । उनी १११ दिनदेखि अनशनमा छिन् । ६ असोज २०७१ मा आमरण अनशनको ३३४ औं दिनमा गंगामायाका पति नन्दप्रसादको निधन भएको थियो ।

news18nepal

६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया