Monday, October 26

ओमनमा नेपाली दूतावासको आफ्नै भवन बन्ने..!

August 27, 2020 96

काठमाडौँ । ओमानमा नेपाली राजदूतावासको भवन बनाउन जग्गा भाडामा लिने विषयमा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ओमान सरकारबीच उक्त सम्झौता भएको ओमान स्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।ओमानको परराष्ट्र मन्त्रालयमा हिजो हस्ताक्षर कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको दूतावासले बताएको छ । नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीतिबमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न गरिएको दूतावासले जानकारी गराएको छ ।

ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद बिन नासिर बिन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो ।सम्झौताअनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१ सय वर्गमिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधिपश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइनेछ ।हस्ताक्षर कार्यक्रमपश्चात् भएको भेटमा मोहम्मद बिन नासिरले नेपाललगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताउनुभयो ।

नसिरले जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा राजदूतलाई बधाई दिँदै आगामी दिनमा समेत यस्तो सहकार्यका लागि ओमान सरकारको तर्फबाट प्रतिबद्धता जनाउनुभयो ।भेटमा उहाँले नेपाल (ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानुपर्ने धारणा साटासाट गर्नुभयो ।खाडी क्षेत्रमा ओमानको आफ्नै छुट्टै पहिचान र अस्तित्व रहँदैआएको छ ।क्षेत्रीय शान्ति र विकासमा ओमानको भूमिकाको विश्वले सराहना गर्दैआइरहेको छ । समग्र खाडी क्षेत्रमै ओमानको उपस्थिति एक शान्तिप्रेमी राष्ट्रको रूपमा रहेको छ ।

त्यसैगरी आफ्नै भवन हुँदा दूतावासको बर्सेनि घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दीर्घकालीन रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुने दूतावासको विश्वास छ ।विदेशी राजधानीमा नेपाली दूतावासको आफ्नै मौलिक एवम् कलात्मक भवन बनाउने दूतावासले जनाएको छ । उक्त भवनको निर्माणपश्चात् ओमानमा बस्ने नेपालीहरूलाई पनि दैनिक सेवा लिन थप सहज हुनेमा विश्वास लिइएको छ ।अब बन्ने भवनबाट नेपाली उत्पादनहरूको प्रदर्शनीलाई स्थायी तथा बृहत बनाई व्यापार तथा पर्यटन प्रवर्द्बनमा समेत थप योगदान पुर्याउने दूतावासको योजना रहेको छ ।

 

प्रतिकृया दिनुहोस्