शुक्रबार ३१ बैशाख २०७८

राजा ज्ञानेन्द्र वीर विक्रम शाह देव भारतको भ्रमणमा हिजो सवारी होइबक्सेको छ । सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणामा राजदम्पतिको हरिद्वार यात्रा गरिबक्सेको हो । महाकुम्भ आयोजक समितिले राजालाई पठाएको निमन्त्रणामा ः महाकुम्भ २०२१ हरिद्वार सनातन परम्परामा सर्वोच्च तथा सर्वोत्तम महापर्व महाकुम्भ रहेको र तपाईँ हिन्दू सम्राट एवम् हिन्दु राजा भएकाले १२ अप्रिल (चैत ३०) मा सम्पन्न हुने शाही स्नानमा यहाँको सहभागिता रहोस् भन्ने प्रवल इच्छा आचार्य महामण्डले व्यक्त गरेका छन् । उक्त दिन पुनित सलिला माता गंगामा स्नान गरी भारतवर्षका उत्कृष्ट ऋषि मनीषिसँग आशीर्वाद ग्रहण गरी आफ्नो मुलुकको कुशलताका लागि आशीष प्राप्त गर्न पनि उनले राजासँग आग्रह गरेका छन् । हस्तलिखित निमन्त्रणा पत्रमा राजा स्वयं देवस्वरुप हुने मान्यता हिन्दूहरुमा रहेको र तपाईँका उपर देवाधिदेव महादेव पशुपतिनाथ भगवानको अपार कृपा रहेको पनि उल्लेख छ ।

नेपालमा गणतन्त्रको नाउँमा राजतन्त्रलाई विस्थापित गरि राजालाई साधारण नागरिकको हैसियत दिएका नेपालका गणतन्त्रवादीहरुको शासनमा भारतमा नै १२ बुँदे सहमति गरेर राजतन्त्रलाई विस्थापित गर्न सहयोगी भएका भारतबाट नै राजालाई श्री ५ कै हैसियत र सम्मान साथ २ अप्रिल (चैत ३०) मा सम्पन्न हुने शाही स्नानमा सहभागीको निमन्त्रणाले नेपालको राजनीतिमा तरंग उत्पन्न गरिदिएको छ । साथै भारत नेपालमा राजतन्त्र पुनस्थापनाको कार्यमा लागेको हो भन्ने सन्देश पनि प्रवाह गरेको छ । किनकी प्रत्येक १२ बर्षमा हुने कुम्भमेला भारतको एक महान तथा तथा महत्वपुर्ण पर्व हो । यसमा भारतका तमाम हिन्दूधर्मालम्बी तथा मठाधिस, पिठाधिस, जगतगुरु लगायत सबै भारतीय धर्मगुरुको सहभागीता रहने गर्दछ ।

अहिले भारतको नेतृत्व कट्टर हिन्दूवादी भारतीय जनता पार्टीले गरिरहेको छ । यस मेलामा आएसएसका मुखिया मोहन भागवत, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथ , गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायत वरिष्ठ नेताहरुको सहभागी रहने कार्यक्रममा राजा ज्ञानेन्द्रलाई नेपालको श्री ५ कै हैसियतमा निमन्त्रणा गर्नु आयोजकहरुको मात्र चाहना भएर नपुग्ने स्पष्ट छ । यसकोलागी भारतीय सरकारको पनि चाहना हुनु आवश्यक रहेको अवस्थामा राजालाई गरिएको निमन्त्रणा भारतीय सरकारको पनि हो भनेर पनि बुझ्न गारो छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र तथा उत्तरप्रदेशका मुख्यमन्त्री एवं भावी प्रधानमन्त्रीको रुपमा हेरिएका योगी आदीत्यनाथले नेपालमा नै आएर राजतन्त्रको पुनस्थापना हुनु पर्नेमा जोड दिएका भारतीय जनता पार्टीका एक शक्तिशाली व्यक्ति हुन । उहाँले नवलपरासीमा निर्माण गरिएको गोरखनाको मन्दिर उद्घाटन गर्न नेपाल नरेश भनेर ब्यानर बनाएर राजाबाट गराउनु भएको थियो । यसरी राजतन्त्रको पुनस्थापनामा खुलेर लागेका मुख्यमन्त्री योगीले राजालाई भारतमा नै भब्य स्वागत गरि राजा कै हैसियतमा सम्मान समेत गरिसकेको अवस्थामा अहिले प्रधानमन्त्री देखि सबै भारतीय जनता पार्टीका नेताहरुको उपस्थिति तथा धर्मगुरुको उपस्थितिमा राजालाई श्री ५ कै हैसियतमा भारतमा सम्मान गर्नु भनेको भारतले नेपालमा राजतन्त्र विस्थापित नभएको भनेर सन्देश प्रवाह गर्न खोजेको स्पष्ट हुन्छ ।

भारतको राजाप्रतिको यो सम्मान र राजतन्त्र विस्थापित नभएको राजतन्त्र यथावत रहेको सन्देशले नेपालमा राजतन्त्र पुनस्थापना गर्न लागेको अर्थात भारतको समर्थनमा राजा बन्दैछ । अब राजा पनि भारतको इशारामा नाच्ने भयो वा राजाले भारतको साथ लिए भनेर चर्चा चल्न थालेको छ । तर बुझ्नु पर्ने कुरा के हो भने राजालाई राजा बन्न कुनै हतार छैन र चाहना पनि छैन । राजाको सदैब चाहना भनेको समृद्ध नेपाल र सुखी नेपाली हो । त्यसैकोलागी राजाले विना रक्तपात हाँसी हाँसी पत्रकार सम्मेलन गरेर राजगद्दी परित्याग गरिबक्सेको हो । यदी राजालाई राजगद्दीको लोभ र चाहना भएको भए यसरी गद्दी परित्याग गरिबक्सने थिए । सत्ताको लोभ र चाहना कस्तो हुन्छ भनेर त अहिले नेपालमा भइरहेको राजनीतिक घटनाक्रमले देखाइरहेको छ । ५ बर्षकोलागी प्राप्त सत्ता छाड्न नसकिने गणतन्त्रवादीहरु रहेको नेपालमा आफ्नो पुर्खौली वंश परम्परागत रुपमा प्राप्त २४० बर्ष देखिको राजगद्दी हाँसी परित्याग गर्ने विश्व मै दुर्लभ महान राजा ज्ञानेन्द्र । तसर्थ अहिले भारत नेपालमा राजतन्त्र पुनस्थापनामा लाग्नु भनेको आफ्नो देशको सुरक्षाकोलागी हो ।

राजतन्त्र विना भारत पनि सुरक्षित छैन भन्ने कुरा अहिलेको गणतन्त्रको शासनमा भोगेको नै छ । त्यसैले विगतमा झैं नेपालमा राजा सहितको ब्यवस्थाले मात्र भारतको पनि सुरक्षा हुने भएकोले राजतन्त्रको पुनस्थापनामा भारत लागीपरेको हो र राजालाई अनुरोध गरिएको हो । त्यसैले अहिले भारत विगतमा गरिएको गल्तीलाई सच्याउँदै नेपालमा राजतन्त्र पुनस्थापना गर्ने कार्यमा लागी परेकोले भारतले भने जस्तो राजा होइन राजाले भने जस्तो भारत रहने प्राय निश्चित नै छ । किनकी सत्ताभत्ताकोलागी राजाले भारतसंग कुनै सम्झौता गरेको छैन । बरु भारतलाई नै आफ्नो देशको सुरक्षाकोलागी राजतन्त्रको आवश्यकता भएकोले राजासंग सहकार्य गरिरहेको हो ।

तसर्थ अहिले नेपाली जनताको चाहना र नेपालको सुन्दर भविश्यकोलागी र भारतको सुरक्षाकोलागी नेपालमा राजतन्त्र पुनस्थापना आजको आवश्यकता हो जसको शुभारम्भ भारतबाट भएको छ । जुन अत्यन्तै सरहानीय रहेको छ । यसबाट नेपाली नेताहरुले मात्र सिक्नु आवश्यक छ कि अब तिमीहरुको मालिकबाट नै राजतन्त्रको पुनस्थापनामा लागी परेकोछ त्यसैले शान्तिपूर्ण तवरले नेपालमा राजतन्त्र पुनस्थापना कार्यमा लाग्नु गणतन्त्रवादीहरुको बुद्धिमत्ता हुनेछ । सबैलाई चेतना भया । बिसन्तर शाक्य

१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया