Monday, October 19

नेपालमा कोरोना नियन्त्रण भन्दा बाहिर गएपछि, काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी

August 26, 2020 127

काठमाडौँ,कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे छलफल भएको हो । यद्यपि निर्णय भने भइसकेको छैन । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले थप एक साता निषेधाज्ञा जारी राख्ने विषयमा छलफल भएको तर निर्णय बुधबार मात्र हुने जानकारी दिनुभयो ।

उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो । “कोरोना सङ्क्रमणको महामारी दिन प्रतिदिन भयावह बन्दै गएकाले अहिलेको अवस्थामा एक सातासम्म जारी राख्नुपर्ने देखियो,” उहाँले भन्नुभयो– यसअघिको निर्णयको समयावधि १० गते रातिसम्म भएकाले आज मङ्गलबार निर्णय हुन सकेन ।

कोरोना सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथामका लागि यही ३ गते बुधबार राति १२ बजेबाट जारी निषेधाज्ञा १० गते बुधबार मध्यरातबाट सकिँदैछ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण भयावह बन्दै गएको भन्दै निषेधाज्ञा थप कडा पारिएको छ ।निषेधाज्ञा थपिएसँगै सङ्क्रमितहरूका लागि आइसोलेसन सेन्टर बढाउन र प्रभावकारी ढङ्गले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताइएको छ ।

मर्निङवाक गर्नेदेखि दैनिक उपभोग्य वस्तु खरिदमा भीडभाड गर्नेलाई कारबाही सुरु गरिएको छ । त्यस्तै निषेधाज्ञा उल्लङ्घन गर्नेहरूमाथि सडक कारबाही पनि कडा पारिएको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार तोकिएको अवधिभन्दा बढी समय पसल खोल्नेदेखि आफूखुसी सवारी चलाउने एक हजारभन्दा बढीलाई कारबाही गरिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ

rastrya sanchar

प्रतिकृया दिनुहोस्