Saturday, October 24

कोरोना संक्रमितको मृत्यु हुनेकाे संख्या १७० पुगेकाे छ

August 26, 2020 27

काठमाडौं । देशका विभिन्न स्थानमा गरि थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझदेखि यो समाचार तयार पार्दा सम्म ललितपुर र बाँकेमा एक/ एक, मोरङ र पर्सामा दुई / दुई जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेकाे संख्या १७० पुगेकाे छ ।

ललितपुर : कोरोना भाइरस संक्रमणबाट काठमाडौं बुढानिलकण्ठका एक पुरुषको मृत्यु भएको छ ।  पाटन अस्पतालमा आइसीयूमा उपचाररत ५४ वर्षका पुरुषको हिजो मंगलबार राती ९: ३० बजे मृत्यु भएको हो ।  उहाँ साउन २३ गते अस्पताल भर्ना हुनुभएको थियो ।

मोरङ १ : विराटनगरको न्युरो अस्पतालमा उपचाररत महोत्तरीका ६० वर्षीय पुरुषको उपचारका  मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुषलाई उपचारका लागि अस्पतालमा गत साउन ३१ गते भर्ना गरिएको थियो । कोरोनाको आंशकामा उहाँकाे भदौ ३ गते स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । भदौ ७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।  रिपोर्ट पोजेटिभ आएपछि  आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो ।

मोरङ २ : कोरोना भाइरस संक्रमणबाट मोरङमा एक महिलाको मृत्यु भएको छ । विराटनगर –१५ मिल्स एरिया घर भएकी ४४ वर्षीय महिलाको मंगलबार राति  मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित महिलालाई दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल आएपछि स्वाब संकलन गरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट महिलाको मृत्यु हुनुभन्दा केही बेरअघि मात्रै आएको थियो । जसमा महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । अस्पतालका अनुसार महिलामा ज्वरो तथा निमोनिया देखिएको थियो ।

पर्सा १ : वीरगञ्ज पस्थित वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारररत २ संक्रमितको मङगलबार राति मृत्यु भएको छ । बाराको विश्रामपुर गाँउपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मङगलबार राति पौने ११ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिनु भएको छ  ।
उहाँका अनुसार मृतकमा श्वासप्रश्वासमा समस्या र ज्वरोसमेत आएको थियो । पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएपपछि मंगलबार दिउँसो वीरगंज हेल्थकेयरमा भर्ना गरिएको थियो ।

पर्सा २ : वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा ७ दिनदेखि उपचाररत  बारा कलैया उपमहानगरपालिका–१ का ७० वर्षीय पुरुषको मङगलबार राति मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २ गते पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएकै दिन वीरगञ्ज हेल्थकेयरमा भर्ना भएका उहाँकाे मंगलबार राति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाँके : नेपालगन्ज उपमहानगरपालिका ९१ का ३७ वर्षका पुरुषको बुधबार बिहान १स्३० बजेतिर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो। उनी ८ भदौको बिहान १० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा छाती समस्या भएर भर्ना भएका थिए। सोही दिन उहाँकाे स्वाब संकलन गरिएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मंगलबार राति ९ बजे शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरमा राखि उपचार भइरहेको बताइएको छ।

helthpati

प्रतिकृया दिनुहोस्