शुक्रबार ३१ बैशाख २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावको तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

नेपाल निजामति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाण्डौमा उद्घाटन गर्दै सभापति देउवाले संरकार गठनमा कांंग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गरे ।

उनले संसदमा आफुहरुको संख्या कम भएको र सरकार गठनका लागि अरुलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोखे । “प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेन्टमा हाम्रो संख्या नपुगेर हामीले बोलाउन सकेनौँ । यो वास्तविकतालाई बुझ्नु पर्‍याे सबैले,” उनले भने ।

उनले संसदमा भएको कांग्रेसको उपस्थिति न्यून भएकाले सरकार गठनको पहल गर्न नसकेको भन्दै यथार्थ बुझ्न आग्रह गरे । तर कांग्रेसले पहल नै गरेन भन्ने गरेकाले शुक्रबार तीन दलको बैठक बोलाएको उल्लेख गर्दै देउवाले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आग्रह गरे ।

“कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु । कुनै पनि किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानै पर्छ भोलि । चुनावमा जानैपर्ने बाध्यता हुन सक्छ । चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनुपर्छ,” उनले भने ।

news18nepal

४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया