मंगलबार १० जेठ २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूले दल त्याग गरेको औपचारिक जानकारी दिएपछि प्रतिनिधि सभाको चार स्थान रिक्त भएका छन् ।

ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी २६ चैतदेखि सांसद नरहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

२०७४ सालको आमनिर्वाचनमा रायमाझी अर्घाखाँची, भट्ट कैलाली–४, साह रौतहट–३ र चौधरी कैलाली–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचन आयोगका उच्च अधिकारीहरू ती क्षेत्रमा ६ महीनाभित्र उपनिर्वाचन हुने बताउँछन् ।

३ जेठ २०७५ मा एकता घोषणा गरेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले २०७४ सालको निर्वाचनमा एउटै घोषणा पत्र बनाएर चुनाव लडेका थिए । अहिले रिक्त भएका चार वटै निर्वाचन क्षेत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दोस्रो स्थानमा थियो ।

त्यतिबेला अर्घाखाँची र कैलाली–४ मा समानुपातिक तर्फ माओवादीको भन्दा एमालेले धेरै भोट पाएको थियो । प्रभु साहले चुनाव जितेको रौतहट–३ मा एमालेको भन्दा माओवादीको भोट चार गुणा बढी थियो ।

अर्घाखाँची
टोपबहादुर रायमाझी ५० हजार ८३७ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. रामबहादुर बीसीले ३२ हजार ५४४ मत पाएका थिए ।

कैलाली–३
पदमुक्त चार जनामध्ये गौरीशंकर चौधरी सबैभन्दा कम मतान्तरले विजयी भएका थिए । उनले २४ हजार ८७९ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए ।

कैलाली–४
लेखराज भट्ट ३१ हजार ३५९ भोट पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी सुनील भण्डारीले २० हजार ९६० मत पाएका थिए ।

रौतहट–३
प्रभु साहले २७ हजार ७९९ मतसहित विजय हासिल गरेका थिए । कांग्रेसका सुनीलकुमार यादवले १८ हजार २०६ र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले १४ हजार ६५८ मत पाएका थिए ।

news18nepal

७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया