सोमबार २७ बैशाख २०७८

काठमाडौं: सत्तारुढ दल नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने काम नगर्न प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुलाई सुझाव दिएका छन्।

प्रतिनिधिसभाको विहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले राजनीतिक अस्थिरता, अन्यौलता र विभाजको स्थिति बनेको अवस्थामा अस्वस्थ्य खालका छलफल सदनमा चल्न थालेको टिप्पणी गरे। उनले सांसद गगन थापालाई इंगित गर्दे विगतमा अभ्यास भएका, जाँचिएका, भोगेका र असफल सिद्ध भएका नेताहरुको चेलाहरुले भूमिका खेलिरहेको भनी कटाक्ष गरे ।

उनले भने, ‘प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने कतिपय साथी भाईहरुलाई म के भन्न चाहन्छु भने, यो बोकाको शैलीले दाईँ गरिदैन र दाईँ गर्नका लागि गोरुकै शैली चाहिन्छ र आज संसदमा सबभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरुलाई हामीले सके सहयोग गरौं। नसके बस्तुनिष्ठ ढंगले त्यसको विरोध गरौं।’

प्रधानमन्त्री राजनेताको रुपमा अगाडि बढ्ने लक्षण देखिदै आएको भन्दै उनले सरकारले गरेका विकास निर्माणकाका कामको विरोध गर्ने सांसदहरुलाई ‘मेरो निर्वाचन क्षेत्रमा सडक चाहिदैन’ भनी भन्न चुनौती दिए ।

उनले भने, ‘रानी पोखरी बनेको, धरहरा ठडिएको, भानु स्कुल बनेको कुराले किन हाम्रो टाउको दुख्दैछ? एकदिनमा १ सय ९६ अस्पताल शिलान्यास भएको कुराले, १ सय ६४ वटा निर्वाचन क्षेत्रसंग सम्बन्धीत सडकहर रणनीतिक सडकको रुपमा शिलान्यास हुँदा किन टाउको दुख्दैछ? एउटा सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर एउटा सडक प्रस्तुत गर्छ। मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ भन्नुहोस्।’

मेलम्ची, धरहरा लगायत निर्माण आयोजनाहरुको फेहरिस्त दिँदै उनले सरकारले बैदेशिक व्यापार र गुमेको भूमि फिर्ता ल्याउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरे।

उनले भने, ‘यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त अख्तियारलाई बलियो बनाउने भूमिका खेलेको छ। सम्पत्ति शुद्धिकरण कार्यालयलाई व्यवस्थित गरेको छ। राजश्व अनुसन्धान जस्ता कार्यालयहरु व्यवस्थित भएका छन्। अनि विगतमा भ्रष्टाचार गरेका नेताहरु अहिले फरार छन्। ती कुन पार्टीमा छन् खोज्नुहोस्। ती नेताहरु अहिले हामीलाई थुन्दैछ सरकारले भनेर गायव भइरहेका छन्। डराइरहेका छन्। टिभीमा इन्टरभ्यु दिइरहेका छन्। ती नेताहरु कुन पार्टीमा छन् खोज्नुहोस्।’

राजनीतिक दलसम्बन्धी ऐन अनुसार दल फुट्यो भने मात्रै विश्वासको मत लिनुपर्ने भन्दै उनले प्रधानमन्त्रीको राजीनामा माग्नु कुतर्क भएको टिप्पणी गरे।

उनले माओवादी केन्द्रले दिएको विश्वास फिर्ता लिन पनि नसकेको र अविश्वासको प्रस्ताव पनि ल्याउन नसकेको टिप्पणी गरे। उनले भने, ‘हिजो नेकपा एमालेलाई न पोथी न भाले भन्ने नेकपा माओवादी केन्द्रले आज न पोथी न भालेको अवस्थामा छ र उसले न विश्वासको मत फिर्ता लिनसक्छ, न अविश्वासको प्रस्ताव नै ल्याउन सक्छ।’

उनले सभामुखले संसदमा सहभागी हुन प्रधानमन्त्री आए पनि सहभागी हुने वतावरण नमिलाएको आरोप लगाए। उहाँले एक महिनाको दौरानमा ६ पटक बैठक बसेको र पहिलो दिनको बैठक नै ढिलो गरी सुरु हुदा ४५ मिनेट बसेर प्रधानमन्त्री फर्किएको उल्लेख गरे।

pahilopost

१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया