आइतबार १२ मंसिर २०७८

काठमाडौं । नेपाली क्रिकेटर बसन्त रेग्मी र पृथु बास्कोटा अमेरीकामा हुने यूएस कप खेल्नका लागि जाने भएका छन् । पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहेका दुबै खेलाडीलाई अमेरीकामा रहेका नेपाली राइनोज क्रिकेट क्लवको निम्तोमा अमेरीका जान लागेका हुन् ।

यसअघि अर्का क्रिकेटर सुवास खकुरेल पनि जाने बताइएको थियो । तर अन्तिम समयमा सुवास भने नजाने भएका हुन् । बसन्तले यसअघि पनि नेपाल राइनोजबाट खेल्नका लागि चार बर्ष अगाडी गएका थिए ।

सो बेला नेपाली राइनोजले नेपालबाट सात खेलाडीलाई बोलाएर टु एक्स क्रिकेट खेल्दा उपाधि जितेको थियो । त्यो बेला पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, पृथु बास्कोटा, शरद भेषवाकर, सिद्धान्त लोहनी गएका थिए ।

त्यसपछि पनि सो क्लवले नेपालबाट चार खेलाडीलाई प्रतियोगिताका लागि बोलाएको थियो । तर उक्त समयमा प्रतियोगिता नै स्थगित भएको थियो । यस पटक नेपाली राइनोजले बसन्त र पृथुलाई टिमबाट खेल्नका लागि बोलाएका हो ।

नेपालका पूर्व खेलाडी मिलेर खोलेको यो क्लवले नेपालमा पनि युवा क्रिकेटरलाई सहयोग गर्दै आएको छ । यस पटक प्रतियोगिता १४ अप्रिलदेखि सुरु हुने छ । चार बर्ष अगाडी टु एक्स क्रिकेटको उपाधि जित्दा सो क्लवका टिमभित्र नै केहि मनमुटाव भएको थियो ।

यहि प्रतियोगिता हाल क्यानडामा रहेका नरेश बुढाऐर पनि खेल्ने तयारीमा छन् । हाल नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायकेको एकेडेमीमा प्रशिक्षक भएर काम गरिरहेका नरेशले त्यहाँका स्थानिय प्रतियोगिता खेलिरहेका छन् ।

news18nepal

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया