Tuesday, October 27

सरकारले जेठ २९ देखि खुला गरेको उद्धार उडान तत्काललाई रोकेको छ।  आन्तरिक उडान तत्काल सुचारु गराउन पर्यटनमन्त्रीलाई ज्ञापन

July 24, 2020 341

आन्तरिक उडान तत्काल सुचारु गराउन पर्यटनमन्त्रीलाई ज्ञापन

काठमाडौँ — विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने उद्देश्यले सरकारले जेठ २९ देखि खुला गरेको उद्धार उडान तत्काललाई रोकेको छ ।

छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तत्काल उद्धार उडानका लागि तालिका ननिकाल्ने जनाएको छ । ‘उद्धार उडान तत्काललाई हुँदैन’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले कान्तिपुरसँग भने । उनका अनुसार पछिल्लोपटक देशभर बाढिपहिरो लगायत दैवी–विपत्तिका कारण उद्धार उडानबाट काठमाडौं ओर्लिने सर्वासाधरणलाई प्रदेश र स्थानीय तहमा बनाइएका होल्डिङ सेन्टरमा लैजान समस्या देखिएपछि तत्काल उद्धार उडान रोकिएको हो ।

सीसीएमसीले जेठ २९ देखि थालेको उद्धार उडान पछिल्लोपटक साउन ८ सम्म खुला गरिएको थियो । अलपत्र नेपालीलाई उनीहरुकै खर्चमा उद्धार गर्ने भनिएको थियो । यो अवधिमा २५ वटा मुलुकबाट ३४ हजार ८ सय ३० नेपाली स्वदेश फर्किएका थिए ।

उद्धार उडानका लागि सीसीएमसीले स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई अनुमति दिँदै आएको थियो ।

बिहीबारयता सीसीएमसीको अनुमतिबाट उद्धार उडान भएका छैनन् । तर, परराष्ट्र, पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको संयुक्त अनुमतिमा मेडिकल लगायतका कार्गो र कूटनीतिक नियोगसँग सम्बन्धित उडान भने जारी नै छन् । सरकारले नियमित उडान भदौ १ गतेदेखि सुचारु गर्ने जनाएको छ ।

यसैबीच वायुसेवा सञ्चालक संघ नेपालले शुक्रबार पर्यटन मन्त्री योगेश भट्टराईलाई प्राकृतिक विपतका बेला नियमित उडान खुला गर्न ज्ञापन बुझाएको छ । संघले सबै सदस्य वायुसेवा प्रदायकले भदौ १ गतेदेखि उडान सञ्चालन गर्ने तयारीमा रहेको भएपनि राहत तथा उद्धारका लागि नेपाल सरकारले तोकेको भाडादरमा नन् सेड्युल उडान खुला गर्न माग गरेको छ ।

‘वर्षाका कारण जताततै राजमार्ग अवरोध भएकाले उद्धार तथा राहतका लागि हामी जुनसुकैबेला उडान सञ्चालन गर्न तयार छौं,’ बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतेले भने, ‘भदौ १ गतेदेखि हुने नियमित उडानका लागि यो पूर्व तयारी पनि हुने छ ।’

पर्यटन मन्त्रालयले बिहीबारमात्रै वायुसेवा सञ्चालक संघलाई देशभर बाढिपहिरोको प्रकोप बढ्दै गइरहेकाले सम्पूर्ण जहाज तथा हेलिकप्टर तयारी अवस्थामा राख्न पत्राचार गरेको थियो ।

सरकारले भदौ १ गतेदेखि भीडभाड हुन नदिन प्रतिघन्टा ३ सय यात्रुलाई सेवा दिने उद्देश्यले लकडाउन अघिको दाँजोमा भदौमा पहिलो चरण २५ प्रतिशत मात्रै उडान खुला गर्ने तयारी गरेको छ ।

Source Kantipur Post

प्रतिकृया दिनुहोस्