Monday, October 26

विराटनगरका घरबेटीले आफ्नो घर भाडामा बस्ने कोरोना संक्रमितलाई घरमै आइसोलेसन बनाइदिए

August 24, 2020 25

विराटनगर, ८ भदौ । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा आधाभन्दा बढी संक्रमित घरमै छन् । आइसोलेसन अभावमा घरमै बस्न बाध्य संक्रमितलाई धेरै स्थानमा दुव्र्यवहार भएको छ ।

विराटनगर–३ मा भने एक घरबेटीले आफ्नो घर भाडामा बस्ने कोरोना संक्रमितलाई घरमै आइसोलेसन बनाइदिएका छन् । विराटनगर–३ का कृष्णकुमार सुवेदी र राधा सुवेदीले कोरोना संक्रमितलाई घरमै आइसोलेसन बनाइदिएका हुन् ।

केही दिनअघि सुवेदीको घरमा बस्ने परिवारका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएपछि अर्कै स्थानमा राखेका संक्रमितलाई घरमै बोलाएर छुट्टै व्यवस्था मिलाइदिएका हुन् ।

‘छोरीलाई संक्रमण पुष्टि भएपछि मेरा घरमा बस्नेले अर्कै स्थानमा बस्न पठाउनु भएछ,’ उनले भने, ‘हामी पनि अभिभावक हौं, बाहिर बस्न दिन मनले मानेन, भोलिपल्ट घरमै बोलाएर बस्ने व्यवस्था मिलाइदिएँ ।’

सुवेदी परिवारसहित दोस्रो तल्लामा बसेर भुइँ तलामा संक्रमितलाई राख्न छुट्टै कोठा र शौचालयको व्यवस्था गरिदिएका हुन् । ‘रोगले धनी–गरिब भन्दैन,’ उनले भने, ‘यस्तो बेला हामीले मानवीय व्यवहार गरेनौं भने मानवता नरहला ।’

संक्रमितलाई मानवीय व्यवहार गर्दै सहयोगको आवश्यकता रहेको उनी बताउँछन् । ‘दिनमा एक पटक संक्रमितको अवस्था बुझ्छु,’ उनी भन्छन्, ‘हामीले पनि सतर्कता अपनाएका छौं ।’

संक्रमण पुष्टि भएकी युवतीको परिवार ११ साउनयता सुवेदीको घरमा बस्दै आएको छ । २८ साउनमा विराटनगर–३ का ५७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको थियो । संक्रमित युवती मृतक पुरुषका आफन्त हुन् । युवतीका अन्य आफन्तको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

koshionline

प्रतिकृया दिनुहोस्