Monday, January 18

काठमाडौं उपत्यकामा अहिलेसम्म तीन हजार २६२ जना संक्रमित

August 24, 2020 129

काठमाडौं। गत साता काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्दा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक सातामा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने दाबी गरेका थिए।

“कोरोना संक्रमितको संख्या निकै बढ्दै गयो। एक साता घरभित्र बसेपछि कोरोना निमिट्यान्न हुन्छ,” भदौ ४ देखि १० गतेसम्मका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय अघिल्लो दिन सार्वजनिक गर्ने क्रममा दाहालले भनेका थिए।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा सरोकारवाला निकायबीचको बैठकले भदौ ३ गते साँझ एक साता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो।

त्यसअनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको चार दिन बितिसक्यो। भदौ १० गतेसम्म लागू हुने निषेधाज्ञा सकिन अब तीन दिन बाँकी छ।

अहिले काठमाडौंमा अत्यावश्यक सेवाबाहेक कुनै पनि गतिविधि गर्न निषेध छ। तर, बिहान ८ बजेसम्म तरकारी, खाद्यान्न पसल सञ्चालनमा छन्।

बिहान ८ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म सडकमा मानिसको भीडभाड देखिन्छ।

यही भीडलाई व्यवस्थित गर्न नसके कोरोना निमिट्यान्नभन्दा पनि घर-घरमा पुग्ने खतरा बढी भएको जनस्वास्थ्यविद्को भनाइ छ।

जनस्वास्थ्यविद् डा. सरद वन्त भन्छन्, “यस्तो गतिले अघि बढ्ने हो भने नियन्त्रणभन्दा संक्रमणको दर उच्च हुनेछ।”

उनका अनुसार यो अवधिमा मानिसहरूलाई घर बाहिर आउन नदिने र पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सकियो भने संक्रमण दर कम गर्न सकिन्छ। यसो गर्न नसकिए अवस्था झन् भयावह हुने उनको विश्लेषण छ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले संक्रमित बढ्दै गइरहेका बेला निषेधाज्ञाले संक्रमण न्यूनीकरणमा सहयोग पुग्ने बताइन्। “पूरै नियन्त्रण हुन्छ भन्ने त होइन। तर, बढ्दो दरलाई कम गर्न भने सहयोग पुग्छ,” उनले भनिन्।

अर्का जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले निषेधाज्ञाको अवधिमा कडाइ हुनुपर्नेमा भित्री गल्लीहरूमा मानिसको भीडभाड बढेको बताए। उनी भन्छन्, “निषेधाज्ञा कडाइ नगर्ने हो भने यसले झन् खतरा ल्याउँछ।”

निषेधाज्ञापछि कति थपिए?

निषेधाज्ञा जारी भएपछिको पाँच दिनमा उपत्यकाभित्र ९२३ जना संक्रमित थपिएका छन्।

काठमाडौं जिल्लामा मात्र ७३७ जना, भक्तपुरमा १०९ र ललितपुरमा ७८ जना कोरोना संक्रमति थपिएका हुन्।

काठमाडौं उपत्यकामा अहिलेसम्म तीन हजार २६२ जना संक्रमित भएका छन्।

तीमध्ये काठमाडौं जिल्लामा दुई हजार ५७९, ललितपुरमा ४११ र भक्तपुरमा २७२ जना संक्रमित भएका हुन्।

narayani pati

प्रतिकृया दिनुहोस्