शुक्रबार १० बैशाख २०७८

फेब्रुअरीयता म्यानमारको सेनाले ४० बालबालिकाको हत्या गरिसकेको छ। यो कथाचाहिँ १० वर्षीया बालिका आय म्याट थुको हो। प्रचण्ड गर्मी मौसमबीच यु सोई ओ हँसियाले नरिवल फोड्छन्। उनकी १० वर्षीया छोरी आयका हात नरिवलको पहिलो टुक्रा लिन अघि बढ्छन्। आय भविष्यमा प्रसाधनकर्ता, नर्स अथवा सुनौला कपाल भएका कारण अंग्रेजी फिल्म मेलफिसेन्टमा देखाएजस्तै राजकुमारी हुन चाहन्थिन्। उनले सो फिल्म अनगिन्तिपटक हेरेकी छन्। ती १० वर्षीया बालिका नरिवलको टुक्रा लिएर आफ्नै बाटो लाग्छिन्।

‘जब उनी घरसँगैको रूखनेर पुग्छिन्, ठेस लागेझैं लर्बराउँछिन् र लड्छिन्,’ उनका पिता सम्झन्छन्। हातबाट नरिवल टुक्रा फुत्कन्छ र उनको परिवार बसोबास गर्दै आएको दक्षिण पूर्वी म्यानमारकोे बन्दरगाह सहर मालामिनको रातो माटोमा खस्छ।

यो दृश्य प्रत्यक्ष हेरिरहेका उनका पिता यु आफ्नो हँसिया भुइँमा राख्छन्। ‘सबै कुरा ठीक हुन्छ र नरिवलको अर्को टुक्रा पनि पाउँछ्यौ’ भन्न उनी छोरी भएतिर दौडन्छन्। उनी छोरीलाई अँगालोमा उठाउँछन्। त्यतिबेलासम्म उनलाई रगत कहाँबाट आइरहेको छ भन्नेसम्म हेक्का हुँदैन। छोरी किन केही बोलिरहेकी छैनन् भन्ने विषयमा पनि उनी अनभिज्ञ छन्। छोरीको देब्रे कन्चटमा गोली लागेको थियो। मार्च २७ मा साँझ साढे ५ बजे ती १० वर्षीया बालिका आयलाई गोली लागेको हो। घटना भएको एक घन्टामै उनको मृत्यु भइसकेको थियो।

म्यानमारमा फेब्रुअरी १ मा सैनिक शासन लागु भएपछि सैनिक तथा प्रहरीले सडकमा अथवा घरघरमा गएर ५ सय ५० जनाको हत्या गरिसकेको एक अनुगमन समूहको तथ्यांक छ। जसमा १८ वर्षमुनिका कम्तीमा ४० जना बालबालिका छन्। ती बालबालिकामध्ये केही विरोध प्रदर्शनमा सहभागी थिए भने अधिकांश रमिते। जीवनयापनको खोजीमा सहर पुगेका आफ्ना आमाबुवाको न्यानो काखमा बालबालिका रहन्छन्।

यी बालबालिका आफ्ना आमाबुवालाई चिया, खानेपानी दिन्छन् भने नरिवलको एक टुक्रा लिएर बाटोमा दौडिरहेका हुन्छन्। ‘मेरी छोरीलाई मार्ने सैनिकसँग बदला लिने शक्ति मसँग छैन तर तिनको पनि पालो आउनेछ भन्नेमा म विश्वास गर्छु,’ मृतक आयकी आमा तोतो ल्विन भन्छिन्। बालबालिकाको हत्याले म्यान्मारमा यसअघि भएका सैनिक हिंसाका घटनालाई बिर्साएको छ। शान्तिपूर्वक प्रदर्शनमा उत्रेका आम नागरिकविरुद्ध हिंसात्मक कारबाहीले समग्र देश त्रसित छ। पछिल्ला दिनमा प्रदर्शनकारीप्रति सैनिकको रवैया झन् सशक्त देखिन्छ।

गत साता संयुक्त राष्ट्र संघका एक विशेष दूतले सुरक्षा परिषद्को बैठकमा म्यानमारमा रक्तपात भएको र असफल राष्ट्रतर्फ उक्त देश अगाडि बढेको बताएका थिए। यसअघि रुडवार्ड किपलिङका कविता र जर्ज अरवेलका निबन्धमा उल्लेख भएको माउलमेन भन्ने नामबाट परिचित बन्दरगाह सहर मालामिन बुद्ध धर्मावलम्बी र प्यागोडाका लागि प्रसिद्ध छ। सैनिकले म्यानमारमा शासन सम्हालेको एक सातामा यो सहरमा प्रदर्शन सुरु भएको थियो। यहाँ दिनहुँजसो प्रदर्शन भइरहेका छन्।

प्रदर्शनकारी समूहले कहिले मोटरसाइकल र कहिले ढुंगामा चढेर विरोध प्रदर्शन जारी राखेका छन्। त्यसो त मृतक बालिकाको परिवार राजनीतिक रूपमा सक्रिय होइन। चार वर्षअघि एउटा अर्को प्रान्तका सैनिक जनरलका नाममा पुलको नामकरण हुँदा उनीहरू चुप लागेर बसेका थिए। त्यसको एक दशकअघि भिक्षुहरूले सैनिक शासनको विरोध गर्दा पनि त्यहाँका स्थानीय घरमै बसेका थिए। यसैगरी सन् १९८८ मा प्रजातन्त्रका लागि म्यानमारमा आन्दोलन भएका बेला देशभर सैनिकले हजारांैलाई गोली चलाउँदा पनि यो सहर शान्त थियो।

तर यसपटक दृश्य फरक देखिएको छ। मृतक आयका पिता फर्निचरमा रङ लगाउने काम गर्छन्। उनका पाँच छोरीमध्ये आय चौथी थिइन्। उनकी एक दिदी शिक्षिका र अर्की ब्युटीपार्लर सञ्चालिका छन्। यसअघि सामाजवाद र अंक ज्योतिषको ध्वंसात्मक पकडमा रहेको यो देशका नागरिक आर्थिक हिसाबले माथिल्लो श्रेणीमा उक्लने प्रखर चाहनामा छन्। कुनै बेला सैनिक प्रमुखको खास अंकप्रतिको रुचिका कारण म्यानमारको बचतसमेत सखाप भएको थियो। ती सैनिकले ९ अंकले भाग लाग्ने नम्बर भएका नोटलाई प्रतिस्थापन गरेर अर्कै नम्बर दिन लगाएका थिए। मृतक बालिकाको परिवार न धनी छ न गरिब।

तर एक दशकअघि सुरु भएको आर्थिक तथा राजनीतिक सुधारका कारण उनीहरूलाई फाइदा भएको छ। त्यतिबेला क्यानमारले सर्वसाधारणलाई मोबाइल फोन खरिद गर्न, फेसबुक चलाउन र बैकमा व्यक्तिगत खाता खोल्न अनुमति दिएको थियो। सफल मध्यम वर्गको आकर्षणका रूपमा मानिने साउन्ड सिस्टम र टेलिभिजन पनि यो परिवारको स्वामित्वमा थियो। आफ्नो बचतबाट आयले नीलो रङको टोकरीसहितको साइकल किनेकी थिइन्। टिकटकमा भाइरल भएका मुकुट तथा गुलाबी मुटुजस्ता फिल्टर उनले पत्ता लगाएका थिइन् र आफ्ना दिदीहरूसँग मस्त उफ्रेर नाच्थिन्। नाच्दानाच्दै उनीहरूको खुसी मस्त हाँसोमा परिणत हुन्थ्यो र टिकटक भिडियोको समय सकिन्थ्यो।

तर पहिलोपटक उनको परिवारले केही गुमाएको छ। मृतक बालिकाकी काकी डा क्युक्यु ल्विन सैनिक कुको विरोधमा आयोजित प्रदर्शनमा सहभागी थिइन्। मृतक आय धेरै प्रश्न गर्ने गर्थिन्। ‘उनले मानिसहरू सडकमा के भइरहेको छ भनेर सोधेकी थिइन्। किनकि उनले फेसबुकमा मानिसहरूले प्रदर्शन गरेको र मृत्यु भएको देखेकी थिइन्,’ मृतककी काकी क्युक्युले भनिन्, ‘मैले सैनिक कु र हामीले किन प्रदर्शन गरीरहेका छौ भन्नेबारे उनलाई बताए, उनले केही भनिनन्, मात्र सुनिन्। उनी सोचमग्न बनेकी थिइन्।’

मार्च २० सम्म आइपुग्दा सहरवासीले सुरक्षित तवरले नौलो तरिकाले प्रदर्शन गरेका थिए। व्यक्तिगत रूपमा प्रदर्शनमा भाग लिनुको सट्टा उनीहरूले विभिन्न जनावरका खेलौनालाई लामबद्ध गरेर फोटो खिच्थे र सामाजिक सञ्जालमा राख्थे। पिगलेट, विन्नी द पुलगायत जापानी रोबोट बिरोलो डोरेमन र कछुवाका खेलौनाका अगाडि लेखिएको हुन्थ्यो, ‘हामी प्रजातन्त्र चाहन्छौं।’

एक सातादेखि उक्त सहरमा गर्मी ह्वात्तै बढेको थियो। सडकसमेत तातेको थियो। अन्डमन सागरबाट आउने तातो हावाले उक्त बस्तीलाई झन् उकुसमुकुस पाथ्र्यो। त्यो दिन सैनिक दिवस थियो र राजधानीमा सैनिकले विभिन्न अत्याधुनिक उपकरणहरूको प्रदर्शन गरिरहेका थिए र उक्त कार्यक्रममा प्रमुख सैनिक अधिकारीहरूको उपस्थिति थियो। तर त्यही दिन सुरक्षा अधिकारीले १ सय १४ जनालाई गोली हानेका थिए र तीमध्ये सात बालबालिका थिए। म्यानमारको ठूलो सहर यांगुनमा सैनिकको गोलीले चलाएको रबर गोली लागेर एक बालिका अर्ध दृष्टिविहीन भएकी थिइन्।

मालामिन सहरमा पछिल्लो दिनमा प्रदर्शनकारी खेलौनाको लस्करको फोटो होइन, चर्को घामलाई पर्वाह नगरी भौतिक रूपमा विरोधमा उत्रेका थिए। आफ्नो अगाडि सय जना सुरक्षाकर्मी हुँदाहँुदै पनि ती तीन सय प्रदर्शनकारी बालुवाका बोराले खडा गरिएका छेकबारका पछाडि बसेर प्रदर्शन जारी राखेका थिए। कतिले प्लास्टिकका हेल्मेट लगाएका थिए। सुरुमा रबर बुलेट चलाएका सैनिकले अपराह्नमा घातक गोली चलाएको थियो। प्रदर्शनकारी तितरबितर भए तर त्यो दिन दुईजनाको ज्यान गयो।

मृतक आयको बस्तीनजिक सैनिक किन पुगे धेरैलाई थाहा छैन। काठका रंगीन घर र बोगनभिलिया फूलले बस्ती आकर्षक देखिन्थ्यो। मृतकका पिता युले आफ्नो घरनजिकै ताडको रूखमा राखेको नरिवल निकालेर पानी खेर नजानेगरी फोरेका थिए। त्यसैबेला पटाका पड्केको जस्तो आवाजले तेज गर्मीलाई बिथोलेको थियो। बाहिर सुनिएको आवाजले सायद उनको ध्यान तानेको थियो। आयले आफ्नो भागको नरिवलको टुक्रा समातेकी थिइन्। रूखले घेरिएको बस्तीका अन्य छिमेकीका अनुसार गोली चलाउने सैनिकलाई कसैले देखेनन्। गोलीले छेडेको प्वाल अत्यन्त सानो थियो। उनका पिता यति सानो घाउ बनाउने गोलीले कसरी छोरीको ज्यान लियो भन्ने बुझ्न नसकेको बताउँछन्। ‘उनी यत्तिकै लडिन् र उनको मृत्यु भयो,’ उनी भन्छन्।

घटना भएको दोस्रो दिन अन्तिम संस्कार गरिएको थियो। बौद्धमार्गी भिक्षुहरूले मन्त्रोच्चारण गरेका थिए भने शोकसन्तप्तहरू कफिन वरिपरि भेला भएका थिए। सहभागीहरू हात उठाएर तीन औंला देखाउँदै आफ्नो विरोध प्रदर्शन गरेका थिए। मृतकको अनुहारमा जस्मिन फूलको माला सजिएको थियो। उनलाई मृत्युको मुखमा पु¥याउने त्यो गोली उनको खोपडीको कुनै भागमा अझै पनि थियो।

‘बदलामा मलाई त्यो सैनिकको छाला काढ्न मन छ,’ मृतक बालिकाका काका भन्छन्, ‘उनी निर्दोष थिइन्, दयालु हृदयकी थिइन्, उनी हाम्री परी थिइन्।’ मृत बालिका शरीरका वरपर उनले मन पराएका खरायोसहितका अन्य खेलौना, पेन्सिल कलर, फेयर एन्ड लभ्ली क्रिम, मोनोपोली बार्ड र मृत्यु हुनुभन्दा दुई दिनअघि उनले बनाएको चित्र पनि राखिएको थियो। कार्टुन बिरालो भएको एक कागजमा उनले अंग्रेजी अक्षरमा आफ्नो नाम लेखिकी थिइन्।

‘म रित्तो महसुस गरिरहेकी छु,’ मृतक बालिकाकी आमा तोतोले भनिन्। अन्तिम संस्कारपछि उनका खेलौना पनि जलाइएका थिए। म्यानमारको अन्यत्र स्थानमा आफ्नो क्रूरता लुकाउन सैनिकले मृत शरीरलाई जबर्जस्ती चोर्नेसमेत गरेका उदाहरण छन्। एउटा घटनामा त उनीहरूले चिहान खोतलेर एक बालकको शव निकालेर लगेका थिए। आयको परिवारले त्यस प्रकारको घटना आफ्नो परिवारमा नहोस् भन्ने चाहेको थियो। (न्युयोर्क टाइम्सबाट)

१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया