आइतबार ०५ बैशाख २०७८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चार जना सांसदलाई पदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाएको पत्र संसद सचिवालयलाई पठाएको हो ।

आज प्रतिनिधि सभामा रहेकाहरूलाई सांसद पद नरहने गरी पत्र पठाइएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले बताए । चारै जना सांसद अहिले मन्त्री छन् । उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् ।

संसद् सचिवालयले पत्र अनुसार कारबाही प्रक्रियाको सूचना जारी गरेपछि उनीहरू सांसद पदबाट औपचारिक रूपमा हट्नेछन् । संसद् चलेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभा सदस्य रहेका गृह मन्त्री रामबहादुर थापा ‘बादल’ को सांसद पद खारेज गर्न भने अर्को दिन पत्र पठाउने माओवादीले केन्द्रले निर्णय गरेको छ । त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् ।

news18nepal

३० पटक हेरिएको

तपाईको प्रतिक्रिया