Thursday, December 3

राम र उनको जन्मभूमि अयोध्या’ नेपालमा पर्छ ?’

July 24, 2020 160

इतिहासले अहिलेसम्म अप्रमाणित, काल्पनिक मानेको ‘रामायण, राम र उनको जन्मभूमि अयोध्या’ नेपालमा पर्छ भन्ने प्रधानमन्त्रीको भनाइ समाधान नभई नयाँ समस्याको कारक बन्नसक्ने देखिन्छ।

वसन्त महर्जन
महर्षि वाल्मीकि लिखित प्रसिद्ध महाकाव्य रामायण का चरित्रनायक रामको जन्मस्थल अयोध्याको अवस्थिति सम्बन्धी विवाद नयाँ होइन । यही विवादमा लामो समयदेखि रुमल्लिरहेको भारतको केन्द्रीय राजनीतिको बाछिटा अब नेपाल आयात गरिएको छ।

नेपाली भाषामा रामायण को अवतरण गराउने आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा २९ असारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेको भनिएको अयोध्या नक्कली भएको र वास्तविक अयोध्या नेपालको माडीमा रहेको घोषणा गरेपछि रामजन्मभूमि सम्बन्धी विवादले नेपाल प्रवेश पाएको हो।

प्रधानमन्त्रीको यो घोषणापछि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र हिन्दू साधुसन्तहरु रुष्ट बनेका छन् भने सबै कुराको केन्द्रमा नेपाल राखेर सोच्ने, बुझ्ने र बुझाउने ‘राष्ट्रवादी’हरु उत्साहित भएका छन्।

काल्पनिक रामायण र रामजन्मभूमि बारे प्रधानमन्त्री ओलीको अभिव्यक्ति आफूलाई राष्ट्रवादी सिद्ध गर्ने राजनीतिक दाउपेज मात्र भएको कतिपयको विश्लेषण छ । यसो हो भने यो अरुको आस्था र विश्वास माथिको प्रहार हो।

उदेकलाग्दो कुरा के छ भने प्रमको अयोध्या भनाइ पुष्टि गर्न पुरातत्व विभागले पुरातात्विक उत्खनन् गर्ने समाचार पनि आएको छ। पहिल्यै उत्खनन् र अध्ययन गरेर मात्र कुनै कुराको आधिकारिक घोषणा गर्नुपर्नेमा यहाँनेर उल्टो भएको छ । यो पुरातात्विक अध्ययनको सही तरिका होइन।

नेपाल र भारतमा धर्म, संस्कृति तथा परम्पराका सम्बन्धमा चर्चा हुँदा प्रायः नछुटाइने विषय हो, इतिहास । तर, पुराना कुरा जति सबैलाई इतिहास अनि किंवदन्ती, कहावत, मिथक, आस्था, विश्वासलाई प्रमाण मान्नु नै सबैभन्दा ठूलो दोष हो । इतिहास अध्ययन विज्ञान हो, जसले ठोस प्रमाणको माग गर्छ । प्रमाण विनाको कुनै पनि कुरा इतिहास मान्न सकिंदैन।

प्रष्ट अवधारणा विना नै इतिहासको दुहाई दिएर विचार निर्माण गर्ने प्रवृत्ति नेपाल र भारतको सबैभन्दा ठूलो समस्या हो । पूर्वीय मान्यता अनुसार महाभारत, रामायण तथा पुराण नै इतिहास हुन् भनिए पनि तथ्यगत प्रमाण नभएकाले ती ग्रन्थहरुलाई विज्ञानले इतिहासको मान्यता दिएको छैन।

याे पनि पढ्नुहाेस्– के प्रधानमन्त्री भारतलाई चिढ्याउन चाहन्छन् ?

भानु जयन्तीका अवसरमा पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओली । यही कार्यक्रममा उनले राम जन्मभूमि नेपालमै पर्ने ठोकुवा गरेका थिए ।
रामायणकाल भनेर त्रेतायुगलाई चिनाउने गरिन्छ तर कृत (सत्य), त्रेता, द्वापर, र कलि भनिने चार वटै युगलाई इतिहासले भने चिन्दैन । वेदको मूल्य–मान्यतामा आधारित सामाजिक तथा धार्मिक जनजीवनको वैदिक काललाई प्राचीन मानिए यसले सिन्धुघाटीको सभ्यतालाई नष्ट गरेर आफूलाई स्थापित गरेको मान्यता पनि छ।

रेडियो कार्बन डेटिङ पद्धतिबाट अध्ययन गर्दा यो सभ्यताको समय इ.पू. ३००० देखि इ.पू. १७५० मानिएको छ । वैदिककालपछि सामान्यतः ब्राह्मण, आरण्यक तथा उपनिषद् कालको गणना गरिन्छ । यसपछि इ.पू. छैठौं शताब्दी तिर महावीर जैन तथा गौतम बुद्धको प्रादुर्भाव हुन्छ।

जैन तथा बौद्ध वाङ्मयमा वेदलगायतका वैदिक साहित्यहरुको उल्लेख भएपनि रामायण तथा महाभारतको कुनै प्रसंग पाइँदैन । बरु रामायणमा वेददेखि बुद्ध र बौद्धका सम्बन्धमा उल्लेख पाइनु उदेकलाग्दो कुरा हो।

वर्तमान भारतीय भूमिमा आर्यजातिको प्रवेशअघि नै वेदको निर्माण भइसके पनि अन्य साहित्यको रचना भारतीय भूमिमा नै भएको देखिन्छ।

रामायण र महाभारतसँग सम्बन्धित कुनै पनि ठाउँ वा विषयवस्तु ऐतिहासिक तथा पुरातात्विक रुपमा पुष्टि भएको छैन। बरु यी ग्रन्थ र पुराणहरु वेद, उपनिषद्जस्ता गहन साहित्यको अर्थ र अभिप्रायः जनसाधारणलाई काल्पनिक कथा मार्फत बुझाउन सामाजिकीकरण हुनसक्ने आकलन छ।

रामायण र महाभारतका सन्दर्भमा बढी चर्चा हुने ठाउँ भारत हो । रामायण तथा महाभारत महाकाव्यमा वर्णित स्थलहरुको खोजीमा भारतले धेरै खर्च गरिसकेको छ । तर, पुरातात्विक उत्खननमा अहिलेसम्म कुनै पनि दाबीको पुष्टि हुनसकेको छैन।

तत्कालीन बाबरी मस्जिद नै राम जन्मभूमि अयोध्या भनी भारतीय हिन्दू समाजले मस्जिद भत्काई राम मन्दिर बनाउन लाग्दा भारतीय पुरातत्व सर्भे (एएसआई) ले उक्त स्थल बौद्धस्थल भएको प्रकाशमा आएको छ।

गौतम बुद्धको समयमा यो क्षेत्र साकेत नामबाट चिनिन्थ्यो र मौर्यकालसम्म पनि यो नाम कायमै थियो । अहिले भारतीय बौद्ध समाजले यो स्थलमा बौद्ध स्मारक बन्नुपर्ने माग गरिरहेका छन्।

प्रधानमन्त्रीको घोषणापछि अब पुरातत्व विभागलाई अध्ययन र पुष्टि गर्ने दायित्व आइपरेको छ । पुरातात्विक उत्खननमा लामो अनुभव र प्रविधि जुटाइसकेका भारतीय पुरातत्वविद्हरु नै हायलकायल भइसकेको विषयमा होमिनु नेपाली पुरातत्वविद्हरुका लागि ठूलो चुनौती हो।

रामायणमा वर्णित अयोध्या नेपालको माडीमा पर्दछ भन्ने प्रम ओलीको घोषणासँगै यसको पुष्टिका लागि अगाडि सारिएको प्रमुख तर्क हो, जनकपुरस्थित जानकी मन्दिर र भारतमा भनिएको अयोध्याबीचको दूरी।

माडी नजिकै वाल्मीकि आश्रम हुनुलाई पनि अर्को प्रमाणका रुपमा अघि सारिएको छ । तर, जनकपुरस्थित जानकी मन्दिर तथा वाल्मीकि आश्रम पनि अकाट्य प्रमाण नभएर अन्यजस्तै आस्था र विश्वासको सिर्जना मात्रै हो ।

माडी नै अयोध्या हो भनेर स्थानीयले जे जति कुरा अगाडि सारिरहेका छन् त्यसलाई पुरातात्विक हिसाबले पुष्टि गर्दैन । वास्तविकता के छ भने अहिलेसम्म रामायण तथा महाभारतसँग सम्बन्धित कुनै भौतिक अवशेष प्राप्त भएको छैन ।

नेपाली पक्षले जानकी मन्दिर देखाएर अयोध्यामाथि प्रश्न उठाएजस्तै भारतीय पक्षले पनि अयोध्यालाई आधार मानेर दूरीका हिसाबले जानकी मन्दिर अन्यत्र घोषणा गर्नसक्छन् । यसै पनि सीताको माइती नेपालको धनुषाधाम नभई सीतामढी भएको भारतीय दाबी पनि नभएको होइन।

प्रधानमन्त्रीको घोषणापछि अब पुरातत्व विभागलाई अध्ययन र पुष्टि गर्ने दायित्व आइपरेको छ । पुरातात्विक उत्खननमा लामो अनुभव र प्रविधि जुटाइसकेका भारतीय पुरातत्वविद्हरु नै हायलकायल भइसकेको विषयमा होमिनु नेपाली पुरातत्वविद्हरुका लागि ठूलो चुनौती हो।

भन्ने नै हो भने, यस्तो ‘काल्पनिकी’ बनाएर उत्खनन गरेको अनुभव हामीसँग छैन । लुम्बिनीजस्ता महत्वपूर्ण पुरातात्विक स्थलहरुको उत्खननमा पनि हाम्रो सहभागिता दृष्टिसाक्षी वा सहायक हुनु मात्रै सीमित रहेको इतिहास छ । यस्तो अवस्थामा माडी उत्खनन् औपचारिकता निर्वाहमा मात्र सीमित हुनेछ भन्नु अत्युक्ति हुँदैन ।

पुरातात्विक उत्खननपछि भारतमा रामजन्मभूमि भनिएको भूभागमा बौद्ध अवशेष पाइए पनि हिन्दूहरु त्यसलाई मान्न तयार छैनन्। तर, यता प्रम ओलीको घोषणापछि माडीलाई रामजन्मभूमि मान्ने एउटा जमात तयार भइसकेको छ, जसको अनेक स्वार्थ देखिन्छ।

अबको केही समय दुवै देशका कट्टर हिन्दूवादीमा ऐतिहासिक दृष्टिले अप्रमाणित रामको जन्मभूमिबारे राष्ट्रवादप्रेरित दाबी विरोध भइरहने देखिन्छ।

Source Himalkhabar

प्रतिकृया दिनुहोस्