
काठमाडौं। एमाले नेता घनश्याम भुसालले पार्टीमा ट्रक चलाउने मान्छे आवश्यक भएको बताएका छन्। उनले पार्टीमा ट्रक चलाउने मान्छे चाहिएको भएपनि ट्याम्पो चलाउने मान्छे हुँदा पार्टीमा समस्या भएको बताए।
शनिबार खनाल–नेपाल समूहको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेस्टु) को तेस्रो महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोही व्यक्ति, सांसद् वा प्रतिनिधि कारबाहीमा पर्नु ठूलो कुरा नभएको भन्दै पार्टी दलाल पुँजीवादको चंगुलमा फस्नु ठूलो कुरा भएको बताए।
भुसालले भने,‘नवौं महाधिवेशनले समाजवादको कार्यदिशा पारित गरेपनि त्यसको विपरीत विचार राख्ने केपी ओलीलाई नेतृत्वमा चुन्यो। अघि एकजना साथीले यहाँ भनेजस्तै चलाउनुपर्ने ट्रक थियो,टेम्पो हाँक्नेले जित्यो।’
उनले ओली पार्टी विभाजनका लागि उद्धत रहेको आरोप बताए। ओलीकै कारण दलाल पुँजीपतिहरूको चंगुलमा पार्टी फस्न लागेकाले कम्युनिष्ट आन्दोलन रक्षा गर्नका लागि देशव्यापी अभियान थालिएको उनले बताए।
राजतन्त्र समाप्तिपछि कम्युनिष्ट पार्टीको एउटा कार्यभार पूरा भएर नयाँ नीति पारित गर्नुपर्ने पैरवी पार्टीमा भइरहँदा ओली परिवर्तनको विरोधीका रुपमा खडा भएको उनले बताए।
nepalisurya