Tuesday, January 19

चिकित्सकलाई बधाई !!! कुनै अस्पतालले उपचार गर्न नमानेका कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा भयो सफल शल्यक्रिया

August 22, 2020 253

कोहलपुर । गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना संक्रमित गर्भवतीको शनिबार शल्यक्रिया गरिएको छ। शनिबार (आज) स्त्री रोग विशेषज्ञसहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। संक्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेसनबाट अस्पताल लगिएको थियो।

बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीमा कोरोना देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि कोहलपुर लगिएको थियो। मेडिकल कलेजका चिकित्सकले उनको तत्काल शल्यक्रिया गर्न आवश्यक नरहेको भनी आइसोलेसनमा राखेर निगरानी गरिरहेका थिए।

बिहान करिब ९ः३० बजे शल्यक्रियाबाट छोरी निकालीएको हो। शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए। ‘अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठीक छ। भोलि कोरोना परीक्षण गर्छौँ त्यसपछि मात्रै बच्चामा कोरोना भइरस भए नभएको थाहा हुन्छ’, उनले भने। उनकाअनुसार योसँगै मेडिकल कलेजमा संक्रमित गर्भवतीको चौथो पटक शल्यक्रिया गरिएको हो।

गत आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगेकी उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा नेपालगञ्ज जान सुझाएका थिए। पहिलो सन्तान जन्माउन नसकेर शल्यक्रिया गरिएका कारण दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने भन्दै प्रदेशिक अस्पतालले छिटो विधिबाट पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। गर्भवतीका श्रीमान् पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेसनमै छिन्।

संक्रमित गर्भवतीलाई कोहलपुरसम्म लैजान एम्बुलेन्सले समेत नमानेपछि आफन्तले नीजि साधनमा नेपालगञ्ज पु¥याएका थिए। नियमित जाँच गर्दै आएका डाक्टर प्रायश्चित श्रेष्ठले समेत श्रीमानलाई कोरोना लागेको थाहा पाएपछि अब यहाँ नआउनु भन्ने जवाफ दिएपछि गर्भवती तथा उनका आफन्त तनावमा परेका थिए।

कोरोना फैलिएको करीब ५ महिनासम्म पनि पोजेटिभ बिरामीको शल्यक्रियाका लागि यस क्षेत्रमा व्यवस्थापन भएको छैन। लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले कोरोना भाइरस संक्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरे जनाएको छ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ संक्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको जनाए पनि अहिलेसम्म शल्यक्रिया नभएको अस्पतालले स्पष्ट पारेको छ।

नेपालको संविधानको धारा ३८ को (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ भनि ब्यवस्था गरिएको छ। उपधारा ३ मा महिलालाई शिक्षा, स्वाथ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ भनि उल्लेख गरिएको छ। साथै महामारीको बेला यौ न तथा प्रजनन् स्वास्थ्य अति आवश्यक सेवाको रुपमा रहेकोले योसँग सम्बन्धित सम्पूर्ण सेवामा केही पनि अवरोध नआउने नेपाल सरकारले प्रतिबद्धता व्यवहारमा कार्यान्वय भएको छैन।

 

प्रतिकृया दिनुहोस्