Monday, January 25

एमाले दर्ता गरेका हौं अहिले त हाम्रो पार्टीमा २३ जना छौं। बिस्तारै बढाउँदै जान्छौं। माहोल सहज भएपछि हाम्रो पार्टीको सदस्य पनि बढ्नेछन् : सन्ध्या तिवारी

August 22, 2020 162

सत्तारुढ दलभित्र विवाद चर्किरहेकै बेला नेपाल कम्युनिस्ट पार्टी एमालेका नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। यो पार्टीको अध्यक्ष सन्ध्या तिवारी हुन्।

तत्कालीन नेकपा एमालेमा आबद्ध तिवारीको नेतृत्वमा पुनः नेकपा एमाले नाममा पार्टी दर्ता हुनुले सतहमा अनेक प्रश्न उठेका छन्। नेकपा एमाले र माओवादी एकतापछि पुरानै नेकपा एमाले नाममा फेरि पार्टी दर्ता हुँदा एकाएक राजनीतिक वृत्तमा हल्लीखल्ली हुन पुगेको छ।

केहीले त तत्कालीन एमालेभित्रका केही नेताहरूको उक्साहटमा नयाँ दल दर्ता गराउन लाएको आशंका गरेका छन्। नयाँ दल दर्ता गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नाम मुछिएपछि सत्तारुढ नेकपाभित्र यसले राम्रै विवाद सिर्जना गरेको छ।

आखिर, नेकपाभित्र असन्तुष्ट भई नेकपा एमाले नाममा नयाँ दल दर्ता गर्नुका कारण के हुन्, यसमा क-कसको संलग्नता छ भन्नेलगायत विषयमा राजेन्द्र गौतमले नेकपा एमाले अध्यक्ष सन्ध्या तिवारीसँग गरेको कुराकानी:

तपाईंको जन्म कहाँ कति सालमा भएको हो?
मेरो जन्म विराटनगरमा २०३० साल मंसिर २६ गते भएको हो।

तपाईंको शैक्षिक योग्यता कति हो?
जनरलतिर डिप्लोमासम्म अध्ययन गरेको छु। त्यसपछि मैले विराटनगरमै नर्सिङ कोर्स पनि गरेको छु। नर्सिङका लागि बुबाले नै सल्लाह दिनुभएको हो।

एक्कासि राजनीतिमा आउनुभो, केबाट प्रेरित हुनुभयो?

मेरो बिहे चाँडै नै भयो। चाँडै भनेको १६ वर्षको उमेरमा। मेरो ससुरा बुबा हरि भेटवाल त्यहाँको गन्यमान्य मान्छे नै हुनुहुन्छ। उहाँलाई कसले चिन्दैन र? उहाँले नै आफू कुनै राजनीतिक तथा सामाजिक काममा जाँदा मलाई पनि सँगै लैजानुहुन्थ्यो।

जनताका समस्या कसरी बुझ्ने, कसरी उनीहरूसँग कुराकानी गर्ने र एक नेतृत्वले जनताप्रति गर्ने व्य वहार कस्तो हुनुपर्छ भन्ने उहाँको प्रस्तुतिबाट नै मैले सिक्ने मौका पाएँ। उहाँको त्यो प्रस्तुतिले मलाई निकै प्रेरित गरेको थियो। उहाँका गतिविधि नियाल्दै गएँ। म यति प्रभावित भएँ कि मेरो दिमागमा पनि समाज बुझ्दै राजनीतिमा हात हाल्नुपर्छ भन्ने प्रभाव बस्यो।

राजनीति नै समाज बदल्ने उपयुक्त माध्यम हो भन्ने मलाई त्यतिबेलै लागेको हो। त्यही प्रेरणाका कारण अहिले म पनि राजनीतिमा सक्रिय रूपले अगाडि आउन सकेको हुँ।

तपाईंको माइतीतिरका सदस्य कुन दलतिर आस्थावान हुनुहुन्थ्यो?
मेरा माइतीहरू हुन त डेमोक्र्याट नै हुन्। तर, पछिचाहिँ देश र जनताको अवस्था परिवर्तनका लागि एमालेमार्फत नै सम्भव छ भन्ने मानेर भोट एमालेलाई नै हाल्न थाल्नुभयो। म पनि पहिले एमालेकै भोटर हो। तर, पार्टी सदस्यता भने थिएन।

पछिल्लोपटक राजनीतिमा पार्टी नै खोलेर अगाडि आउनुको कारण के हो?
अहिले पार्टी नै खोलेर अगाडि आउनुको कारण एक भएका दुईवटा पार्टी नै हुन्। नेकपा एमाले पनि एकता नहुँदासम्म ठिकै थियो। जब एमाले र माओवादीले विगतका आफ्ना आदर्श, सिद्धान्त, मूल्य मान्यता सबै भुलेर एकता गरे यो कुरा हामीलाई चित्त बुझेको थिएन।

हाम्रो एमाले त स्वर्गीय मदन भण्डारीको सिद्धान्त अँगालेर हिँडेको पार्टी हो। हिजो सबै नेताहरू त्यही अभियान नै सफल पार्न लाग्नुभो। यसमा उहाँहरूप्रति सम्मान छ। तर, बीचमा उहाँहरू पार्टी एकताका नाममा भड्किनुभो। आफ्नो सिद्धान्त छाडेर अरू नै सिद्धान्ततिर लाग्नुभो। अनि हामीलाई अब यसरी त एमाले चल्दैन भन्ने लाग्यो। एकतापछि एमाले पार्टी नै सकियो। अनि हामी केही साथीभाइ मिलेर मदन भण्डारीको सिद्धान्त रक्षा र एमाले पार्टीको रक्षाका लागि दल दर्ता गर्नुपरेको हो।

तपाईंको पार्टीमा कतिजना हुनुहुन्छ?
अहिले त हाम्रो पार्टीमा २३ जना छौं। बिस्तारै बढाउँदै जान्छौं। माहोल सहज भएपछि हाम्रो पार्टीको सदस्य पनि बढ्नेछन्।

तपाईंहरूले त दुई महिनादेखि नै पार्टी दर्ताका लागि निवदेन दिनुभएको थियो, बीचमा नेकपातिर बार्गेनिङ भएर ढिला दर्ता भएको हो?

हामी सधैं आफ्नो सिद्धान्तमै अडिग छौं। हाम्रो सिद्धान्त भनेकै मदन भण्डारीले देखाउनुभएको बाटो हो। पार्टी दर्ताको प्रक्रिया त त्यतिबेलै थालेका हौं। तर, कोरोनाका कारण हुनसकेन। अहिले सबै प्रक्रिया मिलाएर दर्ता भयो।

तपाईंको पार्टीको उद्देश्य के हो ?
हाम्रो पार्टीको उद्देश्य नै मदन भण्डारीको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) हो। हामी यही विचारधारालाई स्थापित गराउनकै लागि नयाँ पार्टी खोलेर अगाडि आउनुपरेको हो।

तत्कालीन एमालेका नेताहरूले भण्डारीको विचारधारा लत्याउनुभो। उहाँहरूले बाटो बिराउनुभो। हामीले त्यही विचारधारलाई जनतामाझ स्थापित गर्न युवाहरूको सक्रियतामा पार्टी खोल्न बाध्य भयौं।

प्रतिकृया दिनुहोस्