सोमबार ०६ बैशाख २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएको छ ।

संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले तीन जना मन्त्रीलाई २४ घण्टामा राजीनामा दिन निर्देशन दिएको हो । बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसद पनि सहभागि रहेका थिए । २४ गते दिउँसो एक बजे संसदीय दलको अर्को बैठक बस्ने सहमति गर्दै तीन मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन निर्देशन दिएको हो ।

बैठकको निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । गत चैत ५ गतेदेखि नै लागु हुने गरी एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । संसदमा २० सिट रहेको एमालेले समर्थन झिक्दा सरकार अल्पमतमा परिसकेको छ । तर, यही सरकारमा एमालेको तीन मन्त्री छन् र उनीहरुले अहिलेसम्म राजीनामा दिएका छैनन् ।

संसदमा १२ सदस्य रहेको माओवादी केन्द्रका संसदीय दल नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूसँग बहुमत सांसद रहेको भन्दै सदनबाट विश्वासको मत लिन आवश्यक नभएको बताएका थिए। हजो बसेको माओवादी संसदीय दल वैठकले पनि विश्वासको मत तत्काल लिन आवश्यक नरहेको निश्कर्ष निकालेको थियो ।

sanjalkhabar

३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया