शुक्रबार ०७ माघ २०७८

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता भेला आधिकारिक भएको दाबी गरेका छन् । आज आइतबार काठमाडौंमा आयोजित काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी नेकपा एमालेको अगुवा कार्यकर्ता भेला गरिरहेका छौं । यो पार्टीको आधिकारिक भेला हो । बागमती प्रदेशका इन्चार्जदेखि लिएर पार्टीका सबै महत्त्वपूर्ण नेताहरु यहीँ सहभागी हुनुभएको छ । पार्टीको निर्माण गर्ने नेताहरू नै हामी हौं । कोअर्डिनेसन कमिटी गठन गर्दादेखिका नेताहरू सबै हामी नै हौं । अहिले यो नै मूलधार हो ।’

मदन भण्डारीको विचार बोकेर हिँड्नेहरु सबै एकै ठाउँमा रहेको उनले बताए । पार्टी अध्यक्ष केपी ओलीलाई इंगित गर्दै नेपालले भने, ‘अरु कुनै आधिकारिक होइनन् । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला । कसैले पार्टी कब्जा नगरे हुन्छ । कसैको डर धम्की त्रासबाट हामी डराउँदैनौं । हामी शत्तिसाल झैं उभिएका छौं । हामी केपी ओलीले फालेर फालिने होइनौं । उनले हामीलाई बनाएका होइनन् । नवौं महाधिवेशनमा जालझेल गरेर जितेका मानिसले फुर्ती नलगाए हुन्छ ।’

पोलिट्ब्युरो, केन्द्रीय कमिटी, स्थायी कमिटी सबैमा आफूहरु बहुमतमा रहेको दाबी गर्दै नेपालले त्यही भएर अध्यक्षले बैठक राख्ने हिम्मत नगरेको बताए । एमालेको माधव–झलनाथ समूहले पार्टीमा समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ । देशव्यापी रुपमा समानान्तर संरचना बनाइरहेको उक्त समूहले आज आइतबार काठमाडौं जिल्ला कमिटी घोषणा गर्दैछ ।

माधव–झलनाथ समूहले यसका लागि जिल्ला कमिटीको भेला आयोजना गरेको हो । उक्त समूहले प्रदेश सांसद वसन्त मानन्धरको अध्यक्षतामा काठमाडौं जिल्ला कमिटी गठन गर्न लागेको बताइएको छ । भेलामा नेपालले सुरुदेखि नै काठमाडौंमा केपी ओलीले गुटबन्दी गर्दै आएको बताए ।

‘मूल ठाउँमा उनले जालझेल गर्दै जित्दै आए । जता पनि उनले हैरानी गर्दै आए । काठमाडौंमा पनि उनले जालझेल गरेका हुन् । उबेला ओलीले ठाउँ नदिएका केहीलाई मैले नै संरक्षण गरेको हुँ । अहिले ती मानिसहरु ओलीतिर नै छैन् । नेतृत्व लिएको मानिसले काखापाखा गर्ने होइन, अभिभावकको जिम्मेवारी लिन सक्नुपर्छ । कार्यकर्ताको मनको भावना र कामको मूल्याकंन गर्न सक्नुपर्छ । तर यहाँ त गुटबन्दी गरेर सक्ने काम भएको छ,’ नेपालले भने ।

news18nepal

८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया