बिहिबार १६ मंसिर २०७८

धनगढी । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षले सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका माधवकुमार नेपाल पक्षमा रहेका जिल्ला कमिटीका अध्यक्षलाई हटाएको छ ।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षमा ६ वटा जिल्ला अध्यक्ष रहेका थिए । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशका ९ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको जिम्मेवारी ओली निकटलाई दिएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जिल्ला अध्यक्षलाई ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भन्दै ९ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम उल्लेख गरेर जिम्मेवारी दिएको पत्र दिएको हो । जसमा एमाले र माओवादी केन्द्र एकीकरण अघिको कमिटको जिम्मेवारीमा रहेका भन्दा केही नयाँ अनुहारका नेता पनि रहेका छन् ।

यसरी जिम्मेवारी खोसिएकामा नेपाल निकट कैलालीका अध्यक्ष दीर्घ सोडारी, डडेल्धुराका डा. तारा जोशी, डोटीका चक्र मल्ल रहेका छन् । उनीहरुको ठाउँमा क्रमशः रतन थापा, प्रकाश साउद, रामबहादुर ऐरलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्यस्तै अछाममा शेरबहादुर कुँवरलाई हटाएर चन्द्र बोहरा, बझाङमा दीलबहादुर सिंहलाई हटाएर अफिलाल ओखेडा र कञ्चनपुरमा तारालामा तामाङलाई हटाएर बीरबहादुर थापा लाई अध्यक्षको जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाउनेमा कञ्चनपुरको अध्यक्ष थापा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थिए भने अन्य जिल्लाका अध्यक्ष साविक एमालेकै रहेका छन् ।

ओली निकट बैतडीका अध्यक्ष सुरेन्द्र पाल, दार्चुलाका अध्यक्ष रामदत्त जोशी र बाजुराका अध्यक्ष लालबहादुर शाहीलाई भने अध्यक्षमा निरन्तरता दिइएको छ । अधिकांश सचिव पनि ओली निकट रहेको छन्।

प्रदेश कमिटीमा पनि उस्तै

एमालेको प्रदेश कमिटी पनि ओली निकट नेताको बाहुल्यता रहेको छ । एमाले सुदूरपश्चिमका तत्कालीन इन्चार्ज भीम रावललाई हटाएर ओलीले पूर्व–माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई इन्चार्ज बनाएका थिए ।

यस्तै सह–इन्चार्जको जिम्मेवारी दार्चुलाबाट विजयी प्रतिनिधि सभा सांसद तथा बहालवाला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र कैलालीबाट निर्वाचित नारदमुनी रानालाई दिइएको छ । प्रदेश सचिवको जिम्मेवारी ओली निकट कञ्चनपुरका नेता राजेन्द्र रावलले पाएका छन् ।

यता, प्रदेश कमिटीले एकलौटी रुपमा गरेको कमिटी विस्तारलाई आफूहरुले नमान्ने सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा कैलालीका अध्यक्ष दीर्घ सोडारी बताएका छन् ।

‘हामीलाई जिम्मेवारी हेरफेरको बारे कुनै जानकारी छैन’ उनले भने, ‘निर्वाचित अध्यक्षलाई कसैले हटाउन सक्दैन ।’
एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापा भने विगतकै जिम्मेवारीलाई निरन्तरता दिएको बताए । जिल्ला अध्यक्षहरुलाई कारबाही नगरिएको स्पष्ट पार्दै उनले प्रदेश कमिटी विस्तार गर्न बाँकी रहेकाले एमालेमै रहने सम्पूर्णलाई समेटेर जाने बताए ।

pathivarapost

 

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया