
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउने बताएका छन् । शनिबार कांग्रेस नुवाकोटले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै पौडेलले ओलीलाई सरकारमा बस्न दिए लोकतन्त्र खतरामा पर्ने भन्दै यस्तो बताएका हुन् ।
‘ओलीलाई सत्तामा बस्न दिइरहे लोकतन्त्र र अहिलेसम्मका उपलब्धि नै संकटमा पर्छन्’, नेता पौडेलले भने, ‘यदि उनले राजीनामा दिँदैनन् भने संसदमा अविश्वास प्रस्ताव राखेर बिदा गर्छौ ।’ वरिष्ठ नेता पौडेलले पार्टीले प्रधानमन्त्रीको राजीनामा मागिसकेको दाबी गर्दै अविश्वासको प्रस्ताव राखेर हटाउने बताएका हुन् ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ओलीलाई हटाएर सरकार गठनको अग्रसरता लिने निर्णय गरेको थियो । पौडेलले कांग्रेसले सत्तालाई महत्व नदिएको तर ७० वर्ष लामो संघर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्ने बताए ।
news18nepal