आइतबार १२ मंसिर २०७८

अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो ।

न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ ।

गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो ।

चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पूरा गरी आज ती मूर्ति नेपाललाई प्रदान गरिएको हो ।

हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

त्यस अवसरमा अमेरिकी अधिकारीलाई खादा ओढाएर सम्मान पनि गरिएको महावाणिज्य दूतावासले जनाएको छ । हस्तान्तरण गरिएका ती मूर्ति यथाशक्य चाँडो नेपाल पठाइने जनाइएको छ ।

चोरी भएको ३७ वर्षपछि लक्ष्मी-नारायणको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

पाटनबाट चोरी भएको झन्डै चार दशकपछि लक्ष्मी-नारायणको मूर्ति नेपाल फिर्ता हुने भएको छ। अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले लक्ष्मी-नारायणकाे मूर्तिलाई वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासमा बुझाएकाे छ।

फाल्गुन २१ गते  शुक्रबार नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा एफबीआईका डेप्युटी एसिस्टेन्ट डाइरेक्टर टिमाेथी एन. दुहमले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई मूर्ति हस्तान्तरण गरेका छन्।  सन् १९८४ मा पाटनबाट चोरी गरी अमेरिका पुर्‍याइएको मूर्तिलाई अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) र कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालयको लामो अनुसन्धानपछि नेपाल फर्काउन लागिएको हो।

वासुदेव-कमलाजा भनिने लक्ष्मी-नारायणको उक्त काँस्य मूर्ति १२औँ र १५औँ शताब्दीबीचको पुरातात्त्विक सम्पदा हो। सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मूर्तिको पूजा हुने गरेको थियो। नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले लक्ष्मी-नारायणको मूर्ति नेपालीको हात फिर्ता भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन्। एक विज्ञप्ति जारी गर्दै राजदूत बेरीले भने, “नेपाली संस्कृति, धर्म र इतिहासमा अत्यन्त ठूलो महत्त्व राख्ने अन्य वस्तुहरूलाई पनि नेपाल फर्काउन अमेरिकाले नेपालसँग सहकार्य गर्नेछ। अन्य सरकार, संग्रहालय र संकलकहरूले पनि त्यसै गर्नेछन् भन्ने मलाई आशा छ।”

अमेरिकी सरकारले नेपाललाई सांस्कृतिक सम्पदाको संरक्षणका लागि विभिन्न सहयोग गर्दै आएको छ।

सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) नामक अमेरिकी सरकारको कार्यक्रमले सांस्कृतिक सम्पदाको संरक्षणार्थ प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउँछ। यसै कार्यक्रमअन्तर्गत, काठमाडौँको गद्दी बैठक जीर्णोद्धार लगायत २५ वटा परियोजना सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख छ।

swadeshnepal

१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया