शुक्रबार ३१ बैशाख २०७८

अभिनेता आमिर खान अभिनित सन् २००९ मा रिलिज सुपरहिट बलिउड फिल्म ‘थ्री इडियट्स’ मा उलेख गरिएका र्यान्चो यानी फुङसुक वाङ्डू नामका ती वैज्ञानिकको चरित्र वास्तविक जीवनमा आधारित छ।

उक्त चलचित्रमा भनिएका फुङसुक वाङ्डूको वास्तविक नाम वैज्ञानिक सोनाम वाङचुक हो । चलचित्रमा भनिए झैँ डाक्टर सोनाम वाङचुकले अनेकौं आविस्कार गरेका छन् ।

दैनिक व्यवहारमा विज्ञानको प्रयोगलाई बढावा दिने र त्यसबारे ज्ञान बाँड्ने वाङचुक शैलीबाटै ‘थ्री इडियट्स’ का फुङसुक वाङ्डू चरित्र विकास भएको हो।

वाङचुक आफैंले भने उक्त पात्र आफ्नो जीवनमा आधारित भएको अस्वीकार गर्दै आएका छन्।

सन् २०१८ मा म्यागासेसे पुरस्कार जितेका उनै सोनाम वाङचुक चैत्र १६ गते सोमबार नेपालका म्यागासेसे विजेता महावीर पुनसँग देखिए।उनी कीर्तिपुरस्थित महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र भ्रमणमा आएका थिए।

पुनले आफ्नो ट्वीटरमा वाङचुकले बोल्दै गरेको भिडिओ हाल्दै लेखे, ‘आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख, भारतबाट प्रख्यात वैज्ञानिक सोनाम वाङचुक आउनुभयो। उहाँले नेपालीमा बोलेको भिडियो हेर्नुस्। थ्री इडियट्स भन्ने आमिर खान हिरो भएको फिल्म धेरैले हेर्नुभयो होला। सो फिल्म उहाँको जीवनमा आधारित थियो। अब उहाँसँग सहकार्य गरिन्छ।’

पुनले सार्वजनिक गरेको २१ सेकेन्डको भिडिओमा वाङचुकले भनेका छन्, ‘हाम्रो लागि आविष्कार न्यूयोर्कबाट आउँदैन, न्यूदिल्लीबाट आउँदैन, हामीले नै गर्नुपर्छ, पहाडहरूको सन्दर्भ हेरेर।’

यसै सन्दर्भमा सेतोपाटीले महावीर पुनसँग गरेको कुराकानी यहाँ क्लिक गर्नुस दुई म्यागासेसे विजेताको सरप्राइज भेट

वाङचुकसँग उनको पहिलेदेखि चिनजान थिएन। उनी पुनको निम्तोमा नेपाल आएका पनि होइन रहेछ। अर्कै कार्यक्रमका लागि नेपाल आएको मौका पारेर वाङचुकले आफूजस्तै म्यागासेसे विजेता पुनसँग सम्पर्क गरेका रहेछन्।

‘उहाँले मेरो मोबाइलमा फोन गर्नुभयो र हाम्रो राष्ट्रिय आविष्कार केन्द्र आउँछु भन्नुभयो,’ पुनले सेतोपाटीसँग भने, ‘हामीले उहाँलाई आविष्कार केन्द्र भ्रमण गरायौं।’

झन्डै एक घन्टा केन्द्रमा बिताएका वाङचुकले आफू मिलेर काम गर्न तयार रहेको बताएका छन्।

फोटो/भिडियो महावीर पुनको फेसबुकबाट

साभार -सेतोपाटी

१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया