Monday, January 25

मुख्यमन्त्रीको जिम्मेवारी फेर्ने विषयमा बहस अष्टलक्ष्मीलाई मुख्यमन्त्रीका लागि तयार रहन शीर्ष नेताको फोन

August 20, 2020 375

काठमाडौं : सत्तारुढ नेकपाभित्रको विवाद केही साम्य भएपछि केन्द्रदेखि प्रदेशसम्म मन्त्री तथा मुख्यमन्त्रीको जिम्मेवारी फेर्ने विषयमा बहस सुरु भएको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको ६ सदस्यीय कार्यदलको चारवटा बैठकपछि प्रारम्भिक प्रतिवेदन तयार पारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाइएको छ ।

कार्यदलले सहमतिको मस्यौदा तयार पारेपछि बुधबार कार्यदलका सदस्यहरू पौडेल र जनार्दन शर्मासहित अध्यक्षद्वयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

एकता महाधिवेशनबाट सहमतिमा अध्यक्ष हुने भएपछि सरकारको बाँकी कार्यकाल प्रधानमन्त्री ओलीले नै चलाउने प्रस्ताव पनि प्रतिवेदनमा छ । तर केन्द्र र प्रदेशमा मन्त्रिपरिषद् भने पुनर्गठन हुनेछ ।

शक्ति बाँडफाँटको कुरा नमिलेकै कारण नेकपाभित्र विवाद उत्पन्न भएको नेकपा नेताहरू नै बताउँदै आएका छन्। कार्यदलले तयार पारेको प्रतिवेदनमा संघदेखि प्रदेशसम्मका मन्त्री हेरफेरको तयारी छ।

केही नेतालाई त कार्यदल र शीर्ष तहबाट फोनसमेत गरेर मन्त्री बन्न तयार रहन अनुरोध पनि गरिएको जानकारी आएको छ।

संघसँगै प्रदेश सरकारका मन्त्री हेरफेरका क्रममा सबैभन्दा बढी बागमती प्रदेशका मुख्यमन्त्री फेरिने चर्चा छ।

मुख्यमन्त्री डोरमणि पौडेलको पद धरापमा परेको बुझिएको छ । पछिल्लो समय हाल विवादमा आएका मन्त्रीहरू फेरिने चर्चासँगै नयाँ आउन सक्ने सम्भावित उम्मेदवारका चर्चा पनि चलेको छ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेकी नेकपा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ ।

शाक्यलाई यतिबेला शीर्ष तहबाटै फोन आएर मुख्यमन्त्रीका लागि तयार रहन अनुरोध गरिएको बुझिएको छ।

शाक्य आफैंले पनि फोनमार्फत मुख्यमन्त्री बन्ने अफर आउनसक्ने भएकाले तयारी रहन अनुरोध गरेको बताएकी छिन्।

पछिल्लो अवस्था हेर्दा विवाद समाधानका लागि बागमती प्रदेशको मुख्यमन्त्री नै बनाउने तयारी रहेको नेकपा स्रोतले बताएको छ।

‘मलाई नेताहरूले फोनमार्फत जिम्मेवारीका लागि तयार हुनुहोस् भन्नुभएको छ । तर के जिम्मेवारी दिने कहाँ दिने भन्नेबारे केही भन्नुभएको छैन,’ शाक्यले भनिन् ।

उनले विवाद समाधानका लागि मन्त्री हेरफेर गरिनुले पार्टी एकता मजबुत हुन्छ भने त्यो सकारात्मकसमेत भएको बताइन्।

सरकारलाई प्रभावकारी बनाउन अध्यक्षद्वयमार्फत गठित कार्यदलले गरेको निर्णय स्वीकार भएको बताइन्।

यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुरको शाहीको ठाउँमा पनि नयाँ अनुहार आउनसक्ने चर्चा चलेको छ।

पूर्वमन्त्रीसमेत रहेका यमलाल कँडेल प्रधानमन्त्री केपी शर्माओली नजिकका नेता हुन्। तत्कालीन समयमा पनि मुख्यमन्त्री पद पाउने आशमा नै उनले प्रतिनिधिसभा लत्याउँदै प्रदेशमा उम्मेदवारी घोषणा गरेका हुन्।

पछि नेकपा एकतापछि शक्ति बाँडफाँटमा कर्णाली तत्कालीन माओवादीका भागमा परेपछि उनको मुख्यमन्त्री बन्ने सपना पूरा भएन।

अहिले मन्त्री फेरिने हल्लासँगै उनले पनि मुख्यमन्त्रीका लागि लबिङ गरिरहेको बुझिएको छ।

संसदभित्रै आफ्नै सरकारको आलोचना गर्दै आएका कँडेलले सार्वजनिक कार्यक्रममा नै साथीहरूले निकासका लागि बाटो खुलाउने बताउँदै आएका छन्। यस्तै प्रदेश १ र प्रदेश ५ का मुख्यमन्त्री पनि फेरिने सम्भावना बलियो छ ।

the nepal top

 

प्रतिकृया दिनुहोस्